भगवती हाइड्रोको प्रिमियमको आईपीओ खुल्यो, अधिकांश रकम ऋण तिर्न खर्चिने


भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले बैंकहरुबाट लिएको ऋण तिर्न आजबाट प्रिमियममा आइपीओ निष्काशन गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेकाहरुका लागि आइपीओ निष्काशन गरेको थियो ।

उक्त आइपीओ बाँडफाँड गरेपश्चात् सर्वसाधारणका लागि आइपीओ निष्काशन गरेको हो । कम्पनीले जारी पूँजीको १५ प्रतिशतले हुन आउने ८ करोड ५८ लाख ९ हजार ७ सय रुपैयाँ बराबरको १०० अंकित दरमा प्रिमियम रकम १६ रुपैयाँ थप गरी जम्मा रकम ११६ रुपैयाँ दरको ८ लाख ५८ हजार ९७ कित्ता साधारण सेयरको १० प्रतिशत अर्थात ८५ हजार ८१० कित्ता साधारण सेयर विदेशमा बसी रोजगार गरिरहेका नेपाली नागरिकहरुको लागि बाँडफाँड गरेको छ ।

यस्तै ४२ हजार ९०५ कित्ता सामुहिक लगानी कोषलाई बाँडफाँड गरि १७ हजार १६२ कित्ता साधारण सेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरी बाँकी ७ लाख १२ हजार २२० कित्ता साधारण सेयर सर्वसाधारणमा निष्काशन गरेको हो । लगानीकर्ताले आज भदौ ५ गतेदेखि भदौ ८ गतेसम्म गतेसम्म आवेदन दिनुपर्ने छ । सो अवधिमा सम्पूर्ण कित्ता बिक्री नभएमा भने निष्काशन अवधि भदौ १९ गतेसम्म लम्बिने छ ।

आइपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ५ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । इच्छुक आवेदकले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले निर्माण गरेको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपि त्रीपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीको बारेमा

भगवती हाइड्रोपावर कम्पनीले कास्की जिल्लाको विजयापुर खोलामा ४.५ मेगावाटको विजयपुर १ साना जलविद्युत आयोजना निर्माण गरिरहेको छ । जसको कुल अनुमानित लागत ७९ करोड ६८ लाख रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत १७ करोड ७० लाख रुपैयाँ रहेको छ । आयोजनाको विद्युत उत्पादन अनुमति बहाल अवधि २२ वर्ष ५ महिना बाँकी रहेको छ । आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ४.१५ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि ५.७१ वर्ष रहेको छ ।

आइपीओ जारी गर्नुको उद्देश्य

आइपीओ निष्काशनबाट प्राप्त हुने रकम कर्जा भुक्तानीका लागि प्रयोग गरिने कम्पनीले जनाएको छ । हाइड्रोपावरले राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक र नेपाल बैंकबाट लिएको कर्जामध्ये ६ करोड ८८ लाख २ हजार ३२० रुपैयाँ चुक्ता गर्न बाँकी छ । जसमध्ये राष्ट्रिय वाणिज्य बैंकबाट हाइड्रोपावरले २ करोड २० लाख २ हजार ९६० रुपैयाँ कर्जा तिर्न बाँकी छ । यस्तै नबिल बैंकबाट २ करोड ६८ लाख ६३ हजार ६८० रुपैयाँ कर्जा तिर्न बाँकी छ भने नेपाल बैंकबाट १ करोड ९९ लाख ३५ हजार ६८० रुपैयाँ कर्जा तिर्न बाँकी छ । हाइड्रोपावरले निष्काशन गरेको आइपीओबाट प्राप्त रकमले बैंकहरुको ऋण चुत्ता गर्ने छ ।

यस्तै हाइड्रोपावरले आइपीओ निष्काशनबाट प्राप्त रकम कम्पनीको वित्तिय एवम् आर्थिक गतिविधिलाई विस्तार गर्न आवश्यक पूँजीको व्यवस्था गर्न आइपीओ निष्काशन गरेको हो । आइपीओ निष्काशन पछि कम्पनीको चुक्ता पुँजी ५७ करोड २० लाख ६४ हजार ७०० सय रुपैयाँ पुग्ने छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।