सामाजिक सुरक्षा कोषमा ४० अर्ब संकलन, साढे ५ अर्ब दाबी भुक्तानी


पछिल्लो समय सामाजिक सुरक्षा कोषमा आवद्ध हुनेको संख्या बढ्दै गएको छ । स्थापना भएको ४ वर्षमा नै कोषले ४० अर्ब २ करोड रुपैयाँ संकलन गरेको छ ।

कोषमा सूचीकृत हुने योगदानकर्ताको संख्यामा वृद्धि भएसँगै योगदान रकममा पनि वृद्धि भएको हो । अहिलेसम्म कोषमा सात लाख ३१ हजार १०४ जना योगदानकर्ता सूचीकृत भएका छन् । पछिल्लो समय सरकारले स्वदेशका साथै वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकलाई कोषमा आबद्ध गरेपछि सूचीकृत योगदानकर्ता र योगदान रकममा वृद्धि हुन पुगेको छ । कोषले चैत दोस्रो सातादेखि वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई कोषमा आबद्ध गरेको थियो ।

कोषमा औपचारिक माध्यमबाट ४ लाख ३५ हजार ७६६ योगदानकर्ता सूचीकृत भएका छन् । यस्तै वैदेशिक रोजगारीमा रहेका २ लाख ९५ हजार ३२० योगदानकर्ता सूचीकृत भएका छन् भने अनौपचारिकबाट १ जना योगदानकर्ता सूचीकृत भएका छन् । यता स्वरोजगारतर्फ भने १७ योगदानकर्ता सूचीकृत भएका छन् ।

यो अवधिमा कोषले पाँच अर्ब ५१ करोड रुपैयाँ बराबरको दाबी भुक्तानी पनि गरेको छ ।  कोषले अवधिमा औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजनाअन्तर्गत ६३ करोड ३१ लाख रुपैया दाबी भुक्तानी गरेको छ । यस्तै दुर्घटना तथा अशक्तता सुरक्षा योजनाअन्तर्गत सात करोड ५२ लाख रुपैयाँ, आश्रित परिवार सुरक्षा योजनाअन्तर्गत आठ अर्ब ९४ करोड रुपैयाँ दाबी भुत्तानी गरेको कोषले जनाएको छ ।

यस्तै कोषले वृद्ध अवस्था सुरक्षा कोषतर्फ ४ अर्ब ७१ करोड रुपैयाँ दाबी भुक्तानी गरेको छ । योगदानमा आधारित सामाजिक सुरक्षा योजनाअनुसार मासिक पारिश्रमिक भुक्तानी गर्दा आधारभूत पारिश्रमिकको ३१ प्रतिशत रकममध्ये रोजगारदाताको तर्फबाट २० प्रतिशत र श्रमिकको तर्फबाट ११ प्रतिशत योगदान गर्नुपर्ने व्यवस्था छ ।

कुन प्रदेशबाट कति ?

सामाजिक सुरक्षा कोषमा सबैभन्दा धेरै बागमती प्रदेशबाट ३ लाख ३३ हजार २४१ श्रमिक सूचीकृत भएका छन् । बागमती प्रदेशबाट १२ हजार ५८८ रोजगारदाता मार्फत ३ लाख ३३ हजार ९४७ श्रमिक सूचीकृत भएका हुन् ।

यस्तै कोशी प्रदेशबाट १ हजार ८९३ रोजगारदाता मार्फत ४३ हजार ७८६ श्रमिक सूचीकृत भएको हुन् । यस्तै मधेस प्रदेशबाट ८४७ रोजगारदाता मार्फत २२ हजार ८९१ जना, गण्डकी प्रदेशबाट ८५२ रोजगारदाता मार्फत १६ हजार ७९५, लुम्बिनी प्रदेशबाट १ हजार ५०१ रोजगारदाता मार्फत १५ हजार १५६, सुदूरपश्चिम प्रदेशबाट २६६ रोजगारदाता मार्फत १ हजार ७८२ जना श्रमिक सूचीकृत भएका छन् ।

सबैभन्दा कम कर्णाली प्रदेशबाट २५२ रोजगारदाता मात्र सूचीकृत छन् । साे प्रदेशबाट १ हजार ४०९ श्रमिक सामाजिक सुरक्षा कोषमा सूचीकृत छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।