एक मेगावाट भन्दा कम क्षमताको कुथेली बुखरीको सेयर मूल्य जलविद्युत क्षेत्रकै महङ्गो

0
Shares

कुनैबेला चिलिमे जलविद्युत कम्पनीको सेयरलाई सेयर बजारमा जलविद्युत क्षेत्रकै ब्लूचिप कम्पनीको रुपमा हेरिन्थ्यो । कम्पनीले वितरण गर्दै आएको बोनसका कारण कम्पनीको पुँजी वृद्दि हुँदै गयाे भने साे अनुसार आम्दानी बढ्न नसक्दा लगातार प्रतिफल घट्दै गएपछि हाल सो कम्पनीको सेयरमूल्य प्रतिकित्ता ४८० रुपैयाँभन्दा तल झरिसकेको छ ।

तर यहि बेला भर्खरै सर्वसाधारणमा आईपीओ निष्कासन गरेको एक मेगावाट भन्दा कम क्षमताको कुथेली बुखरी स्मल हाइड्रोपावर कम्पनीको सेयर मूल्य जलविद्युत क्षेत्रकै महङ्गो बनेको छ । मंगलबार सहित ७ कारोबार दिन लगातार सकारात्मक सर्किट लागेर कम्पनीको सेयर मूल्य जलविद्युत क्षेत्रमा नै महङ्गो बनेको हो । घट्दो बजारका कारण राम्रा कम्पनीहरुको सेयरमूल्य घटिरहेको बेला थोरै आईपीओ निष्कासन गरेको कम्पनीको सेयरमूल्यमा कारोबारीले चलखेल गरेर सेयर थुपार्दा कुथेली बुखरी जलविद्युत क्षेत्रको सर्वाधिक महङ्गो कम्पनी बनेको हो ।

भदौ ४ गतेबाट नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार खुलेको कम्पनीको सेयर मूल्य मंगलबबारसम्म बढेर प्रतिकित्ता ९३३ रुपैयाँ १० पैसासम्म पुगेको हो । सात दिनअघि नेप्सेले दिएको अधिकतम कारोबार रेञ्जमा ४७९ रुपैयाँमा कम्पनीकाे पहिलो कारोबार खुला भएको थियो । कम्पनीको सेयर मूल्यमा लगातार सातौँ कारोबार दिन सकारात्मक सर्किट लागेको हो । सर्किट मूल्यमा कम्पनीको सेयर खरिदका लागि १४ हजार १६३ कित्ताको माग हुँदा बेच्ने बिक्रीकर्ता भने शुन्य रहेका छन् ।

कुथेली बुखरी स्मल हाइड्रोपावरपछि धेरै सेयर मूल्य हुनेमा माउन्टेन इनर्जी लिमिटेड र रुरु जलविद्युत कम्पनी रहेका छन् माउन्टेन इनर्जीको सेयर प्रतिकित्ता ८६८ रुपैयाँ र रुरु जलविद्युत कम्पनी प्रतिकित्ता ७६० रुपैयाँ हाराहारीमा मंगलबार धितोपत्रको दोस्रो बजारमा खरिद बिक्री भैरहेको छ ।

न्यून आपूर्ति र चलखेलका कारण सेयरमूल्य उच्च

कुनैपनि कम्पनीको सेयर मूल्य साे कम्पनीकाे बजारमा हुने माग र आपूर्तिमा निर्भर रहन्छ । सोही अनुसार कुथेली बुखरीमा उच्च माग र न्यून आपूर्तिका कारण सेयर मूल्य निरन्तर उकालो लागिरहेको हाे । सेयर बजारमा सूचीकृत अधिकांश कम्पनीहरुको सेयरमूल्य तल्लो बिन्दुमा रहेको बेला कुथेली बुखरीको सेयरमूल्य सबैभन्दा उच्च छ ।

पछिल्ला ६ करोबार दिनमा कम्पनीको जम्मा १० हजार कित्ताभन्दा कम सेयर कारोबार भएको छ । यसबीचमा कम्पनीको ९ हजार ७९० कित्ता सेयर कारोबार भएको छ । पहिलो दिन भदौ ४ गते ११०२ कित्ता सेयर कारोबार भएको कम्पनीमा दोस्रो दिन ९७०, तेस्रो दिन ६४०, चौथो दिन २५७८ कित्ता, पाँचौं दिन २५०९ र छैटौं दिन १९९१ कित्ता सेयर कारोबार भएको छ । सातौं दिन आज साढे एक घण्टामा १५ हजार १५७ कित्ता सेयर १ करोड ३८ लाख ५५ हजार रुपैयाँमा खरिद बिक्री भएको छ ।

कम्पनको पुँजी नै कम भएकाले धितोपत्र बोर्डले आईपीओ बिक्री गर्न अनुमित दिन्छ कि दिँदैन भन्ने अन्यौलताका बीच कम्पनीले आईपीओ बेच्न सफल भएकाे थियो । सानो आयोजना भएकाले पुँजी नै कम र त्यसमा पनि सर्वसाधारणमा जारी सेयर पौने २ लाखभन्दा कम हुँदा कम्पनीको यस कम्पनीको दोस्रो बजारमा सेयरको आपूर्ति ज्यादै न्यून छ । सेयर बजारमा न्यून आपूर्ति हुने सेयरमा कारोबारीहरुले सबै सेयर उठाएर कर्नरिङ्ग अभ्यास भएको हो । कम्पनीको उच्च मूल्यलाई सो कम्पनीको कमाइले औचित्य पुष्टि गर्ने आधार देखिँदैन ।

कम्पनीले जारी पुँजी १२ करोड १८ लाख ६७ हजार ५०० रुपैयाँ छ । कम्पनीले जारी पुँजीको २० प्रतिशतले हुन आउने २ लाख ४३ हजार ७३५ कित्ता सेयर सार्वजनिक निष्कासन गरेको छ । त्यसमध्ये स्थानीयमा १ लाख २१ हजार ८६८ कित्ता र सर्वसाधारणमा १ लाख २१ हजार ८६७ कित्ता सेयर छ । आरक्षित सेयर भएका कारणले स्थानीयमा जारी १ लाख २१ हजार ८६८ कित्ता सेयर बाँडफाँड भएको मितिले तीन वर्षसम्म खरिद बिक्री गर्न पाइन्न । सर्वसाधारण तर्फको सेयर मात्र दोस्रो बजारमा खरिद बिक्री गर्न सकिने हुन्छ । यस आधारमा हाल कम्पनीको १ लाख २१ हजार ८६७ कित्ता सेयर मात्र कारोबार योग्य छ ।
कुथेली बुखरी आयोजनाको कुल लागत जलविद्युत आयोजनहरुको औसतभन्दा उच्च छ । तरपनि न्यून आपूर्ति हुँदा कम्पनीको सेयरमूल्य भने उच्च पु¥याइएको हो । आयोजनाको प्रतिमेगावाट लागत २४ करोड ८० लाख ५३ हजार ४३७ रुपैयाँ छ । अहिले २० देखि २२ करोड लागतमा आयोजना निर्माण हुँदै आइरहेका छन् ।

कस्तो छ हाइड्रोपावर ?

कुथेली हाइड्रोपावरले दोलखा जिल्लामा ९९८ किलोवाट क्षमताको सुष्पा बुखरी खोला साना जलविद्यतु आयोजना सञ्चालन गर्दै आएको छ । कम्पनीको आयोजना स्थल तथा जलविद्युत उत्पादन केन्द्र र अन्य भौतिक पूर्वाधारहरु दोलखा जिल्लाको भिमेश्वर नगरपालिकामा रहेको छ ।
कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेड कम्पनी ऐन २०६३ बमोजिम मिति २०६८ साउन २६ मा प्राइभेट लिमिटेडको रुपमा दर्ता भई मिति २०७१ माघ १४ मा प्राइभेट लिमिटेडबाट पब्लिक लिमिटेडमा परिणत भई दर्ता भएको हो ।

एक मेगावाटभन्दा कम क्षमताको यस आयोजनाको कुल लागत भने जलविद्युत आयोजनहरुको औसतभन्दा उच्च छ । आयोजनाको प्रतिमेगावाट लागत २४ करोड ८० लाख ५३ हजार ४३७ रुपैयाँ छ । आयोजनको कुल लागत २४ करोड ७५ लाख ५७ हजार ३३१ रुपैयाँ छ ।

देशमा चरम लोडसेडिङको अन्त्य गर्न सरकारले विद्युत संकटकाल घोषणा गरेका बेला गाउँकै खोलाको पानी प्रयोग गरेर विद्युत उत्पादन गर्ने गरी कुथेली आयोजनाको निर्माण सुरु भएको थियो । सुस्पाक्षमावतीको कुथेली खोलामा डाइभर्सन निर्माण गरी कुलो र पेनस्टक पाइप मार्फत पानी फर्काएर भीमेश्वर नगरपालिका–१ क्षमावतीको कुथेली बेशीमा सर्जट्याङ्क निर्माण गरी दोल्ती खोला दोभानमा पावर हाउस निर्माण गरिएको छ । आयोजनाले विद्युत उत्पादन सुरु गरेको ८ वर्ष भैसकेको छ ।

पहिलो आयोजना कुथलीलाई जननी मानेर त्यसबाटै अनुभवबाट सिकेर अहिलेसम्म २०० मेगावाटका जलविद्युत आयोजनामा लगानी विस्तार गरेको छ । ८ वर्षमा लगानी विस्तार गरी निर्माणाधीन र निर्माणामा जाने चरणमा रहेका जलविद्युत आयोजना सहितको जडित क्षमता २०० मेगावाट छ । सो समूहले दैलेखमा द्वारी खोला, इलाममा सुपर माई,सुपर माई ‘ए’ र सपर माई क्यासकेड लगायतका आयोजना निर्माण सम्पन्न गरी प्रसारण प्रणालीमा जोडिसकेको छ । अरु आयोजना निर्माणाधीन र लगानी जुटाएर निर्माणमा जाने चरणमा छन् ।

यस्ताे छ कमाई र प्रक्षेपण

कम्पनीले आईपीओ जारी गर्नका लागि सार्वजनिक गरेको वित्तीय विवरण अनुसार कम्पनीले २०७९ चैतसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार ६ करोड ३४ लाख १३ हजार रुपैयाँ नाफा गरेर वार्षिक प्रति सेयर आम्दानी १३ रुपैयाँ ८८ पैसा कायम गरेको छ । गत आवको अन्त्यसम्म ७ करोड ६३ लाख ५९ हजार रुपैयाँ नाफा गरेर वार्षिक १५ रुपैयाँ २३ पैसा कायम गर्ने प्रक्षेपण कम्पनीको थियो । यद्यपी हालसम्म कम्पनीले चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छैन ।

आव २०७८÷७९ मा कम्पनीले ५ करोड ८१ लाख ७१ हजार रुपैयाँ नाफा गरेर वार्षिक १९ रुपैयाँ ७४ पैसा कायम गरेको थियो । सोभन्दा अघिल्लो दुई वर्षमा क्रमशः ३ करोड ९३ लाख १२ हजार र ३ करोड ३३ लाख ६२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । ती वर्षहरुमा कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी क्रमशः १२ रुपेयाँ ८६ पैसा र १६ रुपैयाँ २८ पैसा थियो ।

आगामी दुई आर्थिक वर्षहरुमा कम्पनीले आफ्नो आम्दानी बढाउने लक्ष्य राखेको छ । सोही अनुसार कम्पनीले आव २०८०–८१ मा ९ करोड ५५ लाख ५० हजार रुपैयाँ र आव २०८१–८२ मा ११ करोड ५८ लाख ६० हजार रुपैयाँ खुद नाफा कमाउने प्रक्षेपण गरेको छ । कम्पनीले आव २०८०–८१ मा १६ रुपैयाँ ७ पैसा र आव २०८१–८२ मा १७ रुपैयाँ १ पैसा वार्षिक प्रतिसेयर आम्दानी गर्ने आंकलन गरेको छ ।

आयोजनाबाट साधारण लगानी फिर्ता हुन ९.३७ वर्ष र डिस्काउन्टमा लगानी फिर्ता हुन लाग्ने अवधि २०.१० वर्ष रहेको छ । आयोजनाले २०७२ असोज ३ गतेदेखि व्यापारिक उत्पादन गर्दै आइरहेको छ । आयोजनाबाट उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणको ३३ किलोभोल्ट प्रसारण लाइनबाट विद्युत बिक्री गरिरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।