पछिल्ला दिनहरूमा केटाकेटीदेखि यूवायुवतीसम्म जंकफूडकाे रूपमा चिनिने कुरकुरे, कुरमुरे, लेज, चिजबल जस्ता वस्तुहरूकाे मोह बढ्दै गएको छ । घुमफिरमा बाहिर जाँदा होस् या यात्रा गर्दा होस् यस्ता वस्तुको बढी उपभाग अधिक हुने गरेको छ । यसले गर्दा यस्ता वस्तुको आयातमा आम मानिसहरुले तिरेको कर वापतको करोडौं रकम खर्च हुने गरेको छ ।
भन्सार विभागका अनुसार आर्थिक वर्ष २०८०\८१ को पहिलो महिनामा नै ७ करोड ६६ लाख १४ हजार रुपैयाँ बराबरको कुरकुरे, कुरमुरे, लेज आयात भएको छ । जुन गत आर्थिक वर्षको तुलनामा १२९.२९ प्रतिशतले बढी हो । गत आर्थिक वर्षकाे साउनमा ५८ लाख ८ हजार रुपैयाँ बराबरको १ हजार २३४ किलाे आयात भएको थियो । सरकारले विदेशी सञ्चिति सकिँदै जान थालेपछि २०७९ बैशाखदेखि दशैं अगाडिसम्म सरकारले जंकफूड, गाडी, मदिराजन्य सामाग्रीहरुको आयातमा प्रतिबन्ध लगाएको थियो ।
तर चालु आर्थिक वर्षमा आयातमा प्रतिबन्ध नहुँदा पहिलो महिना साउनमा मात्रै १ लाख ३७ हजार ३८६ किलो जंक फूड आयात भएको छ । यस्ता वस्तु आयातबाट सरकारले ४ करोड ७६ लाख ३३ हजार रुपैयाँ राजश्व प्राप्त गरेकाे छ । सरकारले जंकफूडहरु अत्यावश्यक भन्दा बाहेकका वस्तुहरुमा पर्ने हुँदा यस्ता वस्तुहरुको आयात गर्दा सरकारले भन्सारका अतिरिक्त अन्तशूल्कको दर पनि उच्च रुपमा लगाउने गरेको भन्सार विभागका सूचना अधिकारी पुण्य बिक्रम खड्काले बताए । सोही अनुसार यस्ता वस्तु आयातबाट राजश्वमा पनि उच्च योगदान पुगेको देखिन्छ ।
यो तथ्यांकलाई आधार मान्दा चालु आर्थिक वर्षमा ९२ करोड रुपैयाँको यस्ता वस्तु आयात हुने देखिन्छ । जुन गत आर्थिक वर्षको तुलनामा ३७.३० प्रतिशत बढी हो । गत आर्थिक वर्ष २०८९\८० को एक वर्ष अवधिमा ६६ करोड ९५ लाख ७५ हजार रुपैयाँ बराबरको १३ लाख ५०१ किलो कुरकुरे आयात भएको थियो ।
नेपालमा बाहिरी कुरमुरेले स्थान पाउँदा नेपाली कुरमुरे पनि अन्य देशमा निर्यात भइरहेका देखिएकाे छ । साउनमा ९४ लाख ९७ हजार रुपैयाँ बराबरको कुरमुरे निर्यात भएको छ । १४ हजार ८५४ किलो कुरमुरे विदेश निर्यात भएको हो । नेपालमा भारत, कोरिया, मलेसिया लगायतका देशहरुबाट कुरमुरे आयात भएको छ भने नेपालबाट अस्टेलिया, बेल्जियम, भुटान सिंगापुर लगायत देशमा निर्यात हुने गरेको छ ।
व्यापारिक प्रयोजनका लागि अखाद्य वस्तु समेत हालेर स्वादिष्ट बनाईएका, नपकाईकन पनि खान मिल्ने गरि तयार गरिएका यस्ता वस्तुले स्वास्थ्यलाई असर गर्ने जनस्वास्थ्य विद्हरु बताउँछन् । क्षणlक मनोरञ्जनले स्वाथ्यलाई नोक्सान गरिरहेको उनीहरु बताउँछन् । जंकफूडले तौल बढ्ने, मुटु रोग, मधुमेह, क्यान्सर, कलेजोमा बोसो जम्ने, मिर्गौलालाई क्षति गर्ने, उच्च रक्तचाप, श्वास–प्रश्वासमा समस्या ल्याउने गर्दछ । जंकफुडलाई स्वादमा अत्यन्तै स्वादिलो बनाईएको हुँदा र सजिलै एवं सस्तो मूल्यमा पाईने भएकाले यसको धेरैले यसलाई मन पराउँछन् ।
नेपालमा उत्पादित कुरमुरे भन्दा बाहिरबाट आउने कुरमुरे बजारमा धेरै खपत हुन्छ । बाहिरबाट आउने कुरमुरे झनै स्वादिलो हुने हुँदा यसको खपत बढेको हो । जिब्रोको लागि स्वादिलो लाग्ने जंकफूडले स्वास्थ्यलाई झनै हानी गरिरहेको जनस्वास्थ्यविद्हरु बताउँछन् ।
विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारीको रूपमा फैलिईरहेको मोटोपनको मुख्यकारणको रूपमा जंकफूडलाई लिएको छ । कम पौष्टिक मूल्य, असन्तुलित पोषक तत्व, उच्च क्यालोरी, बार–बार प्रशोधन गरी प्राकृतिक गुणधर्म नष्ट गरिएको, रेशा र चोकर झिकिएको र अखाद्य वस्तुको समेत मिसावट गरिएको हुँदा यी खानेकुराको सेवानले तौल बढ्ने, भूडीलाग्ने र मोटाउने समस्या जन्मिन्छ ।
भन्सार विभागका अनुसार साउन महिनामा एक खर्ब ४२ अर्ब ७६ करोड बराबरको वैदेशिक व्यापार भएको छ । जसमा १ खर्ब २९ अर्ब २३ करोड रुपैयाँ बराबरको आयात भएको छ भने १३ अर्ब ५२ करोड रुपैयाँ बराबरको निर्यात भएको छ । निर्यात भन्दा आयात बढी हुँदा उक्त महिनामा १ खर्ब १५ अर्ब ७१ करोड रुपैयाँ व्यापार घाटा भएको छ । नेपालमा उत्पादन हुने वस्तु नै ७ करोडको आउँदा व्यापार घाटा बढ्न झन सहयोग गरेको देखिन्छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया