लोभस्फीति (ग्रिडफ्लेसन): कर्पोरेट हाउसहरुले नाफा कमाउने हतियार

0
Shares

नेपालीमा एउटा उखान छ –’बगेको खोला फर्किँदैन, मौका आउँछ पर्खिदैन’ । यसै कथनलाई सार्थकता दिँदै बेलायत, अमेरिका लगायतका केही कर्पोरेट हाउसहरुले विषम् आर्थिक परिस्थितिका बावजुद राम्रो नाफाआर्जन गरिरहेका छन् ।

वर्तमान परिपेक्षमा विश्व अर्थतन्त्र संकट उन्मुख अवस्थामा छ । सन् २०२२ को फेब्रुअरी महिनामा रुसले युक्रेनमा आक्रमण गरेपछि विश्व अर्थतन्त्रअझै अन्यौलतातर्फ लम्कियो । रुसले युक्रेनमा आक्रमण गरेसँगै युद्धग्रस्त युक्रेनले खाद्य पदार्थको निर्यात बढाउन सकेको छैन भने रुससँग पेट्रोलियम पदार्थ खरिद गरिरहेका देशहरुले व्यापारमा नै प्रतिबन्ध समेत लगाएका छन् । यसरी पेट्रोलियम पदार्थ र खाद्यान्नको अभाव भएको समयमा पनि कुनै कम्पनीहरुले राम्रो मुनाफा आर्जन गरिरहेका छन् ।

बेलायतको केन्द्रीय बैंक–बैंक अफ इङ्गल्यान्डले गरेको एक अध्ययनका अनुसार बजारमा माग र आपूर्ति श्रृङ्खलाको चाल र बजारको मोमेन्टमलाई शोषण गरी केही कम्पनीहरुले नाफा आर्जन गरेको पाइएको छ । समग्र अर्थतन्त्रमा मन्दी छाएको समयमा उर्जा तथा खुद्रा व्यवसायीहरुले बढी नाफा कमाएको तथ्य बाहिरिएको छ।

सन् २०१९ को डिसेम्बर महिनाबाट विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ संक्रमण थप फैलिन नदिन विश्वका अधिकांश देशहरुले लकडाउन गरेका थिए । जसकारण विश्वव्यापी रुपमा आपूर्ति श्रृङ्खला अवरोध हुन पुगेको थियो । बढ्दै गएको माग र घट्दै गएको आपूर्ति बीच सन्तुलन नमिल्दा विश्वव्यापी रुपमा मुद्रास्फीति आकाशिएको थियो । कच्चापदार्थको आपूर्ति पर्याप्तमात्रामा नहुँदा वस्तु तथा सेवाको उत्पादन लागत बढेको थियो । सोही समयमा केही कम्पनीहरुले मुद्रास्फीतिको खोल ओढी नाफाकमाएका हुन् ।

कोभिड–१९ को समयमा विश्वका अधिकांश देशहरुले अर्थतन्त्र धरासायी हुन नदिन मनी सप्लाई बढाएका थिए । व्यवसायी तथा आममानिसलाई सहज बनाउन राहत समेत वितरण गरेका थिए । जसकारण मानिसहरुको क्रयशक्ति बढेको थियो । केही कम्पनीहरुले कोभिडकै समयमा राम्रो मुनाफा समेत कमाएका थिए । तर परिस्थिति सहज बन्दै गएपछि केन्द्रीय बैंकहरुले आक्रामक शैलीमाब्याजदर बढाउदै गए । सोही समयमा रुसले युक्रेनमा आक्रमण सुरु गरेको थियो । रुस–युक्रेन युद्धबाट विश्वलाई ठूलो क्षति पुगेता पनि, कर्पोरेट क्षेत्रमा ठूलो प्रभाव परेको छैन ।

रुस र युक्रेनले आक्रमण सुरु गरेको दिनदेखि नै पेट्रोलियम पदार्थ तथा खाद्यान्नको मूल्य आकाशिएको थियो । यसो हुनु पछाडि कम्पनीहरु मिलेर बजारमा मूल्य हेरफेर गरी लागत खर्च बढेको कारण देखाउँदै मूल्य बढाएको तथ्य बाहिरिएको छ । हाल बेलायतमा कस्ट अफलिभिङ अहिलेसम्म कै उच्च विन्दुमा पुगेको छ । यसो हुनु पछाडि समेत कम्पनीहरुले एक अर्कोसँग मिली कच्चापदार्थको आपूर्ति अभाव भएको देखाउँदै खाद्य वस्तुको मूल्य बढाइरहेका छन् । यस्तै स्टकमा पेट्रोलियम पदार्थ उपलब्ध हुँदा पनि आपूर्ति नगरी कृतिम रुपमा मूल्यवृद्धि गरी चर्को नाफा कमाएका छन् ।

बेलायतमा मात्रै नभई अमेरिकाको एस एन्ड पी ५०० सेयर सूचांक अन्तर्गत सूचीकृत भएका कम्पनीहरुले समेत रुस–युक्रेन युद्धको समयमा माग र आपूर्तिमा असन्तुलन ल्याई कृतिम रुपमा वस्तुको मूल्य बढाएर नाफा आर्जन गरेको स्वीकार गरेका छन् । जब कुनै कम्पनीले जनताको हितमा भन्दा बढी कम्पनीको नाफामा केन्द्रीत हुन्छ, तब ती कम्पनीहरुले मुद्रास्फीतिलाई औजार बनाई जनतामा भ्रम पैदा गरी मनग्य आम्दानी गरिरहेका हुन्छन् । यो प्रक्रियालाई कर्पोेरेट हाउसहरुको लोभका कारण सिर्जित मुद्रास्फीति वा लोभस्फीति भन्ने गरिन्छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।