भगवती हाइड्रोपावरको आईपीओ सोमबार बाँडफाँड हुने

0
Shares

भगवती हाइड्रोपावरले प्रिमियम मूल्यमा जारी गरेको साधारण सेयर (आईपीओ) भदौ १८ गते सोमबार बाँडफाँड हुने भएको छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार बिहान साढे ९ बजे क्यापिटलको कार्यालय नक्साल काठमाण्डौंमा आईपीओ बाँडफाँड हुने भएको हो ।

उच्च आवेदनका कारण कम्पनीको आईपीओ गोलाप्रथाबाट बाँडफाँड हुनेछ । धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम कम्पनीको आईपीओ ७१ हजार २२२ जनाले मात्र सेयर पाउनेछन् । अन्तिम दिनको तथ्याङ्कलाई आधार मान्दा बाँकी ९५ प्रतिशत (१३ लाख १६ हजार ८९५ आवेदक) आवेदकको हात खाली हुनेछ । यद्यपी रितपुर्वक नपरेका आवेदन रद्द गर्दा सेयर नपाउनेको केही संख्या घट्नेछ ।

कम्पनीले निष्कासन गरेको आईपीओमध्ये ७ लाख १२ हजार २२० कित्ता प्राथमिक सेयर खरिदका लागि सर्वसाधारणबाट आवेदन माग गरिएको थियो । निर्देशिका बमोजिम न्यूनतम १० कित्ताका दरले सेयर बाँडफाँड गर्नुपर्ने भएकाले कुल आवेदकको ५ प्रतिशतले मात्र सेयर हात पार्ने देखिएको हो ।

केन्द्रिय निक्षेप प्रणाली (सिडीएससी) का अनुसार अन्तिम दिन भदौ ८ गते शुक्रारसम्ममा कम्पनीको सेयर खरिदका लागि १३ लाख ८८ हजार ११५ वटा आवेदन मार्फत १ करोड ५३ लाख ३ हजार ६५० कित्ता सेयर माग भएको छ । यो सर्वसाधारणमा जारी सेयरको २१.४९ गुणा हो ।

कम्पनीले जारी पूँजीको १५ प्रतिशतले हुन आउने ८ करोड ५८ लाख ९ हजार ७ सय रुपैयाँ बराबरको १०० अंकित दरमा प्रिमियम रकम १६ रुपैयाँ थप गरी जम्मा रकम ११६ रुपैयाँ दरको ८ लाख ५८ हजार ९७ कित्ता साधारण सेयरको १० प्रतिशत अर्थात ८५ हजार ८१० कित्ता साधारण सेयर विदेशमा बसी रोजगार गरिरहेका नेपाली नागरिकहरुको लागि बाँडफाँड गरेको छ । यस्तै ४२ हजार ९०५ कित्ता सामुहिक लगानी कोषलाई बाँडफाँड गरि १७ हजार १६२ कित्ता साधारण सेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरेको थियो । बाँकी ७ लाख १२ हजार २२० कित्ता साधारण सेयर भदौ ५ गतेदेखि ८ गतेसम्म सर्वसाधारणमा निष्काशन गरेको थियो ।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयर एनपी ट्रीपल बी माइनस रेटिङ्ग’ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

भगवती हाइड्रोपावर कम्पनीले कास्की जिल्लाको विजयापुर खोलामा ४.५ मेगावाटको विजयपुर १ साना जलविद्युत आयोजना निर्माण गरिरहेको छ । जसको कुल अनुमानित लागत ७९ करोड ६८ लाख रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत १७ करोड ७० लाख रुपैयाँ रहेको छ । आयोजनाको विद्युत उत्पादन अनुमति बहाल अवधि २२ वर्ष ५ महिना बाँकी रहेको छ । आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ४.१५ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि ५.७१ वर्ष रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।