डिम्याट खाता नवीकरण नगर्ने लगानीकर्ताले आईपीओ भर्न नपाउने


लामो समयदेखि हितग्राही खाता (डिम्याट) नवीकरण नगर्ने लगानीकर्ताहरु साधारण सेयर (आईपीओ) भर्नबाट बन्चित भएका छन् ।

शुक्रबारदेखि खुला भएको सिटिजन लाइफ इन्स्योरेन्सको आईपीओ भर्न आइतबार बिहान मेरो सेयर लगइन गर्न खोजेका लगानीकर्ताले ‘Your Demat account has been expired! Renew your Demat account via online payment or visit your DP.’ भन्ने सन्देश देखे । शुक्रबारसम्म निर्वाध रुपमा आईपीओ भरिरहेका लगानीकर्ताहरु आइतबार नवीकरण नभएका सबै डिम्याट खाता राेक्का (बन्द) भएपछि आश्चर्यमा परेका हुन् ।

सिडीएस एण्ड क्लियरिङ्ग हाउस (सिडीएससी) ले डिम्याट नवीकरण नगरेका लगानीकर्ताहरुलाई पनि डिम्याट खाता नवीकरण नगरेसम्म सेयर भर्नबाट बञ्चित गरेसँगै मेरो सेयरमा यस्तो सन्देश देखिएको हो । यसअघि मेरो सेयर नवीकरण नगर्दा मात्र लगानीकर्ताहरुले मात्रै सेयर भर्न पाउँदैन थिए । सिडीएससीले भाद्र १५ गते भन्दापछि डिम्याट खाता नवीकरण नगर्ने लगानीकर्तालाई पनि नवीकरण नगरेसम्म आईपीओ भर्न रोक लगाएको हो । सीडीएससीले डिम्याट खाता नवीकरण गर्न भदौ १५ गतेसम्मको म्याद दिएको थियो । सिडीएससीले यसअघि नै डिम्याट नवीकरण नगरेका लगानीकर्ताको मेरो सेयर समेत २०८० भाद्र १५ गतेपश्चात रोक्का राख्ने बताएको थियो । सोहि निर्णय शुक्रबारदेखि कार्यान्वयनमा गएको हो ।

अब लगानीकर्ताहरुले डिम्याट अकाउन्ट र मेरो सेयर दुबै खाता नवीकरण नभएसम्म आईपीओ भर्न पाउने छैनन् । यसअघि दोस्रो बजारमा कारोबार नगर्ने लगानीकर्ताले भने मेरो सेयर मात्र नवीकरण गर्दा मात्र पनि आईपीओ वा हकप्रद जस्ता सार्वजनिक निष्कासनहरुमा आवेदन दिनबाट बञ्चित गरिँदैनथ्यो । दोस्रो बजारमा सेयर खरिद बिक्री गर्दै आएका लगानीकर्ताले भने डिम्याट खाता नवीकरण नहुँदा सेयर बिक्रीको विद्युतीय हस्तान्तरण (इडिआईएस) गर्न असम्भव हुने हुँदा हितग्राही खाता र मेरो सेयर दुबै नवीकरण गर्ने गरेका थिए ।

अब भने सार्वजनिक निष्कासनमा मात्र आवेदन दिने लगानीकताृहरुले पनि डिम्याट र मेरो सेयर दुबै खाता नवीकरण नभएसम्म आवेदन दिन पाउने छैनन् । यो व्यवस्था लागू भएसँगै विगत वर्षहरुमा डिम्याट खाता सञ्चालन शुल्क भुक्तानी नगरेका लगानीकर्ताहरुले समेत एकमुष्ट रुपमा डिम्याट खाता सञ्चालन वापतको शुल्क भुक्तानी गर्नुपर्ने हुन्छ ।

सिडीएससीका अनुसार लगानीकर्ताले एक आर्थिक वर्षमा डिम्याट खाता सञ्चालन गरेवापत निक्षेप सदस्यलाई १०० रुपैयाँ र मेरो सेयर वापत एक वर्ष अवधिको लागि ५० रुपैयाँ भुक्तानी गर्नुपर्ने हुन्छ । यसअनुसार डिम्याट र मेरो सेयरको सञ्चालन वापत वार्षिक १५० रुपैयाँ हरेक वर्ष भुक्तानी गर्नुपर्ने हुन्छ । डिम्याट खाता आर्थिक वर्षका (साउनदेखि असारसम्म) आधारमा भुक्तानी गर्नुपर्ने हुन्छ भने मेरो सेयर खाता जुन दिन नवीकरण सकिन्छ त्यसको एक वर्षसम्म नवीकरण हुने गर्दछ । उदाहरणका लागि कुनै लगानीकर्ताले २०८० बैशाखमा डिम्याट खाता खोल्यो भने उसले सो आर्थिक वर्ष २०७९।८० को डिम्याट खाता सञ्चालन वापत (बैशाखदेखि असारसम्मका लागि अर्थात सम्बन्धीत आर्थिक वर्षको जति अवधि बाँकी छ त्यति अवधिका लागि मात्र) १०० रुपैयाँ गर्नुपर्छ भने २०८० साउनदेखि २०८१ असारसम्मका लागि थप १०० रुपैयाँ भुक्तानी गर्नुपर्ने हुन्छ । मेरो सेयर वापत २०८० बैशाखमा ५० रुपैयाँ भुक्तानी गरेपछि २०८१ बैशाखसम्मका लागि थप रकम तिर्नुपर्दैन ।

लगानीकर्ताले आफ्नो डिम्याट खाता सञ्चालनको वार्षिक शुल्क प्रत्येक आर्थिक वर्ष समाप्त हुनु अगावै आफ्नो निक्षेप सदस्य (डिपी) लाई बुझाउनुपर्ने व्यवस्था छ । शुल्क नबुझाउने लगानीकर्ताको हितग्राही खाता निक्षेप सदस्यले रोक्का राख्नेछन् । यो व्यवस्था लागू भएसँगै अब डिम्याट खाता सञ्चालन शुल्क नबुझाएका लगानीकर्ताले बक्यौता सबै शुल्क भुक्तानी गर्नुपर्ने हुनछ । यसबाट खाता खोल्ने तर वार्षिक शुल्क भुक्तानी नहुने समस्याबाट निक्षेप सदस्यहरुले मुक्ति पाउनेछन् भने बक्यौता रकम एकमुष्ट रुपमा संकलन हुँदा निक्षेप सदस्य र सिडिएससीको आम्दानी समेत एकैपटक बढ्नेछ ।

सिडीएसको तथ्याङ्क अनुसार हाल डिम्याट खाताको संख्या ५८ लाख ८४ हजार ६२८ वटा रहेको छ । शुक्रबारसम्म कुल खातामध्ये १४ लाख हाराहारीकाे संख्याकाे डिम्याट खाता नवीकरण नभएकाे तथ्याङ्क थियाे । सबै डिम्याट नवीकरण भएको खण्डमा डिम्याट नवीकरण वापत यो आर्थिक वर्षमा ५८ करोड ८४ लाख र मेरो सेयर वापत २९ करोड ४२ लाख गरी कुल सवा ८८ करोड रुपैयाँ संकलन हुने देखिन्छ । यद्यपी धेरै डिम्याट खाताहरू लामो समयदेखि निष्कृय हुँदा सबै खाता नवीकरण हुने सम्भावन पनि हुन्न ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।