भगवती हाइड्रोपावरका अध्यक्ष पाण्डे भन्छन्ः सेयरधनीलाई पहिलो वर्ष नै लाभांश दिन्छौं

0
Shares

भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडका अध्यक्ष हरि प्रसाद पाण्डेले सेयरधनीलाई पहिलो वर्ष नै लाभांश वितरण गर्ने बताएका छन् ।
बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा सोमबार भएको कम्पनीको सेयर बाँडफाँड कार्यक्रम बोल्दै उनले यस्तो बताएका हुन् । कम्पनी स्थापनादेखि नै हरेक वर्ष लाभांश वितरण गर्न सफल भएको बताउँदै उनले आज सेयरधनी बनेका लगानीकर्ताले यहि वर्ष नै लाभांश पाउने बताएका हुन् ।

उनले भने, “कम्पनीले ब्यापारिक उत्पादन गरेदेखि नै हरेक आर्थिक वर्ष हामीले धेरै थोरै लाभांश दिँदै आएका छौं । कुनैपनि वर्ष पनि लगानीकर्ताले लाभांश नपाएको वर्ष छैन । यो वर्ष पनि हामीले लाभांश वितरण गर्नेछौं । तर यतिबेला नै यति दिन्छौं भन्न सकिँदैन, तर सेयर होल्डरहरुलाई हात खाली गर्ने छैनौं ।”

कम्पनी स्थापनादेखि अध्यक्ष रहेका पाण्डेले आईपीओ बाँडफाँड कार्यक्रम मार्फत लगानीकर्ताको लगानीलाई पूर्ण रुपमा सुरक्षित राख्दै हरेक वर्ष लाभांश बाँड्नेगरी काम गर्ने प्रतिबद्धता ब्यक्त गरेका हुन् ।

भगवती हाइड्रोपावरले आर्थिक वर्ष २०७८।७९ मा कम्पनीले ८ करोड २५ लाख ८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । २०७९ चैत मसान्तसम्म कम्पनीको सञ्चित नाफा ११ करोड ५४ लाख ७६ हजार र वार्षिक प्रतिसेयर आम्दानी १३ रुपैयाँ ९७ पैसा कायम गरेको छ । गत आवको अन्त्यसम्ममा १२ करोड ३४ लाख ३७ हजार रुपयाँ सञ्चित नाफा आर्जन गरी १२ रुपैयाँ ६४ पैसा कायम गर्ने कम्पनीको आंकलन थियो । यस आधारमा हेर्दा कम्पनीले प्रिमियम वापत २ करोड २८ लाख ८२ हजार रुपैयाँ सहित कम्पनीले ५७ करोड ४० लाख पुँजीलाई लाभांश वितरण गर्ने कुल क्षमता २५ प्रतिशत बराबरको देखिन्छ ।

सुरुवातमा ४२ जना संस्थापक लगानीकर्ता रहेको कम्पनीमा पछि थप भई ५३ जना बनेका थिए । सोमबार ७१ हजार २२२ जना सर्वसाधारण लगानीकर्ता थप भएसँगै कम्पनीका सेयरधनी ७१ हजार २७५ जना पुगेका छन् ।

भगवती हाइड्रोपावर कम्पनीले कास्की जिल्लाको विजयपुर खोलामा ४.५ मेगावाटको विजयपुर–१ साना जलविद्युत आयोजना निर्माण गरेको छ । । आयोजना प्रतिमेगावाट १७ करोड ७० लाख रुपैयाँका दरले ७९ करोड ६८ लाख रुपैयाँमा निर्माण सम्पन्न भएको हो । २०६९ भदौ ५ गतेदेखि आयोजनाले ब्यापारिक रुपमा विद्युत उत्पादन थालेको थियो । कम्पनीले आईपीओ बिक्रीबट २ करोड २८ लाख ८२ हजार रुपैयाँ प्रिमियम संकलन गरेको छ ।

आयोजनाको विद्युत उत्पादन अनुमति बहाल अवधि २२ वर्ष ५ महिना बाँकी छ । आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ४.१५ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि ५.७१ वर्ष रहेको छ ।

हाल कम्पनीको चुक्ता पुँजी ४२ करोड ९० लाख ४८ हजार ५०० रुपैयाँ रहेको छ । जारी पुँजीको २५ प्रतिशत अर्थात १४ करोड ३० लाख १६ हजार २०० रुपैयाँको आईपीओ बिक्रीपछि कम्पनीको चुक्ता पुँजी ५७ करोड २० लाख ६४ हजार ७०० रुपैयाँ पुगेको छ । आईपीओबाट प्राप्त रकम आयोजनाको कर्जा भुक्तानीका लागि प्रयोग गरिने कम्पनीले जनाएको छ । जस अन्तरगत ६ करोड ८८ लाख कर्जा भुक्तानी र ७ करोड ४२ लाख रुपैयाँ मंर्मत सम्भार तथा स्पेयर पार्टसमा खर्च हुनेछ । आयोजनाले नबिल बैंकको २ करोड ६८ लाख, राष्ट्रिय वाणिज्य बैंकको २ करोड २० लाख र नेपाल बैंकको १ करोड ९९ लाख रुपैयाँ ऋण भुक्तानी गर्ने छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।