कामको खोजीमा विदेशिने महिलाहरु पनि बढ्दै, पाँच वर्षमा साढे तीन गुणा बढ्यो

0
Shares

पछिल्लो समय विदेशिने महिला कामदारको संख्या पनि उच्च रुपमा बढ्दै गएको देखिएको छ । केही वर्ष पहिलेसम्म कामको खोजीमा विदेशीनेमा अधिकांश पुरुषहरु रहने गरेकोमा पछिल्लो समय भने महिलाहरुको पनि कामको खोजीमा नै बाहिरिने क्रम बढेको हो ।

कामको खोजीमा बाहिरिने कुल नेपालीहरुमध्ये पछिल्लो पाँच वर्षको सरकारी तथ्यांक हेर्दा विदेशिने महिलाहरुको संख्या ३.५ गुणाले बढेका हुन् । पहिले पहिले घाँस दाउरा र चुलो चौकामा अल्झिने महिला अहिले भने आफैँ आत्मनिर्भर बन्ने उदेश्यका साथ स्वदेशमा मात्र होइन विदेश समेत जान थालेका हुन् ।

वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७५/७६ मा कूल २ लाख ३६ हजार २११ जना वैदेशिक रोजगारीका लागि विदेशिएका थिए । सोमध्ये नवीकरण र नयाँश्रम स्वीकृति मार्फत २० हजार ५७८ जना महिलाले वैदेशिक रोजगारीका लागि अनुमति लिएको विभागको तथ्याङ्क छ । उक्त वर्षमा २ लाख १५ हजार ६३३ जना पुरुषले श्रम स्वीकृती लिएका थिए । आर्थिक वर्ष २०७५/७६ मा श्रम स्वीकृती लिने महिलाको तुलनामा पुरुषको संख्या १० गुणाभन्दा बढी छ ।

यसैगरी आर्थिक वर्ष २०७६/७७ मा २८ हजार ४३३ जना, ०७७/७८ मा ११ हजार ४५६ जना, ०७६/७७ मा ३ लाख ६८ हजार ४३३ जना, आर्थिक वर्ष २०७७/७८ मा १ लाख ६६ हजार ६९८ जना महिलाले श्रम स्वीकृती लिएका हुन् । श्रम स्वीकृती लिने महिलाको संख्या आर्थिक वर्ष २०७८/७९ मा ४९ हजार १२८ जना रहेकोमा आर्थिक वर्ष २०७९/८० मा आइपुग्दा ४६.८३ प्रतिशतले बढेर ७२ हजार १३४ जना पुगेको हो । आर्थिक वर्ष २०७५/७६ र त्यसको पाँच वर्षपछि २०७९/८० को संख्या हिसाब गर्ने भने ५१ हजार ५५६ जना धेरै महिला एकै आर्थिक वर्षमा बाहिरिएका हुन् ।

विभागको तथ्याङ्क अनुसार आव २०७७/७८ मा ३ लाख ६८ हजार ४३३ जना, आव २०७८/७९ मा कुल १ लाख ६६ हजार ६९८ जना, आव २०७८/७९ मा ६ लाख ३० हजार ९० जना र आव २०८०/८१ मा ७ लाख ७१ हजार ३२७ जनाले विदेशमा काम गर्न जानका लागि वैदेशिक रोजगार विभागबाट वैद्यानिक रुपमा श्रम स्वीकृति लिएका हुन् । औपचारिक माध्यमबाट भन्दा बाहिर पनि कामको खोजीमा बाहिरिएका छन् । त्यसबाहेक कामको खोजीमा छिमेकी मुलुक भारत जाने कामदारको यकिन तथ्याङ्क मुलुकसँग छैन । कामको खोजीमा भारत जानेहरुमा अधिकांश पुरुषहरु हुने गरेको देखिएपनि कति महिला कामदार भारत पस्छन् भन्ने थाहा पाउन कठिन छ ।

आर्थिक वर्ष

महिला कामदारको संख्या

पुरुष कामदारको संख्या

जम्मा

आव २०७९/८० ७२,१३४ ६,९९,१९३ ७,७१,३२७
आव २०७८/७९ ४९, १२८ ५,८०,९६२ ६,३०,०९०

आव २०७७/७८

११, ४५६

१,५५,२४२

१,६६,६९८

आव २०७६/७७

२८,४३३

३,४०,०००

३,६८,४३३

आव २०७५/७६

२०,५७८

२,१५,६३३

२,३६,२११

तथ्याङ्क स्रोतः वैदेशिक रोजगार विभाग

कामको लागि विदेशिएका महिलाहरुमाथि घरेलु हिंसामा पर्ने, शारिरिक यातना लगायतका विभिन्न खालका समस्याहरु देखिएपछि सरकारले विसं २०७४ सालयता महिलालाई घरेलु कामका कामको लागि खाडी मुलुकहरू जान प्रतिबन्ध लगाइएको थियो । रोजगार विभागका सूचना अधिकारी कविराज उप्रेती अहिले पनि विभिन्न ७ देशमा घरेलु मुलुकहरुमा महिलालाई कामका लागि जान रोकिएको बताउँछन् । विशेष गरी घरेलु कामको लागि जाने महिलालाई रोक लगाइएको उप्रेतीको भनाई छ । ती देशहरुमा संयुक्त अरब इमिरेट्स (युएई), साउदी अरेविया, बहराइन, कतार, कुवेत तथा ओमन र मलेसिया रहेका छन् ।

वैदेशिक रोजगारीमा घरेलु श्रमिकका रुपमा जाने महिलाको श्रमस्वीकृति रोके पनि संगठित संस्था वा अन्य कामका लागि रोजगारीका जानेको महिलाहरुको संख्या भने हरेक वर्ष बढ्दै गएको देखिन्छ । वैदेशिक रोजगारीमा जाने महिला र पुरुषको कुल संख्या हेर्दा अधिकांश तराई प्रदेशका जिल्ला (धनुषा, सर्लाही, बारा सप्तरी सिराहा) को बाहुल्यता छ । महिलाको हकमा हेर्ने हो भने झापा, मोरङ, काभ्रे, सिन्धुपाल्चोक लगायतका जिल्लाबाट बाहिरिने गरेका छन् ।

आर्थिक वर्ष

झापा

मोरङ

सिन्धुपाल्चोक

काभ्रे

आव २०७९/८० 

५९५१

३८९०

३६०२

२९५७

आव २०७८/७९ 

१६०७६

१२८७६

४३८५

४७६०

आव २०७७/७८ 

१०२२

६३०

८४३

५०६

आव २०७६/७७ 

२६३४

१६३७

२०३०

१२८४

तथ्याङ्क स्रोतः वैदेशिक रोजगार विभाग

सुरुका वर्षहरुमा वैदेशिक रोजगारीमा जाने महिलामध्ये अधिकांश अदक्ष महिलाहरु रहने गरेकोमा पछिल्ला दिनहरुमा भने सीप सिकेर बाहिरिने महिलाहरुको संख्या बढ्दै पनि गएको छ । विदेश पुग्न पाए मात्रै पनि हुन्छ भन्ने सोच राखेर सीप नलिई विदेशीने संख्याबाट अब सीप सिकेर जाँदा श्रमको बढी मूल्य पाउने हुँदा सामान्य मात्र भएपनि सीप सिकेर बाहिरिने महिलाको संख्या अदक्षभन्दा धेरै छ ।

गत आव २०७९/८० मा कुल ७२ हजार १३४ जना बाहिरिएकोमा सीप नलिई बाहिरिनेको संख्या २३ हजार ३६९ जना छ । यो कामको खोजीमा बाहिरिने कुल महिलाको एक तिहाई (३२.४० प्रतिशत) हो । यस्तै गत आवमा रोजगारीका लागि चाहिने सामान्य सीप सिकेर ४३ हजार ५४२ जना महिला (६०.३६ प्रतिशत) विदेशिएका छन् । यस्तै गत आवमा ५ हजार ८९ जना अर्धदक्ष (७.०५ प्रतिशत) महिला कामदार बाहिरिएका छन् भने विज्ञता हासिल गरेका १०४ जना (०.१४ प्रतिशत) महिला रोजगारीमा लागि बाहिरिएका छन् । यस्तै उच्च दक्ष महिला कामदार भने ३० जना (०.०४ प्रतिशत) मात्रै रहेको विभागको तथ्याङ्क छ ।

रोजाइमा खाडी मुलुक

नेपाली महिलाका वैदेशिक रोजगारीका मुख्य गन्तव्यहरुमा संयुक्त अरब इमिरेट्स (यूएई), कुवेत, कतार, साउदी अरेबिया र मलेसिया अग्र स्थानमा देखिएका छन् । राम्रो पारिश्रमिक अनि सुरक्षका दृष्टिकोणले पनि अन्य देशमा जस्तो झन्झट नभएका कारण नेपाली महिला श्रमिकको रोजाइमा खाडी मुलुक परेको हो ।

देश

मलेसिया

कतार

साउदी अरेबिया

यूएई

कुवेत

आव २०७९/८० 

१,४६४

६,६९९

९३३

२४,०९१

११८१६

आव २०७८/७९ 

७,२९९

७,१३८

७२६

२१,१३९

६३६५

आव २०७७/७८ 

१६

१,३४३

२०८

५,०७६

१६८

आव २०७६/७७ 

१,१२३

३,५६३

६२४

१२,४४३

२२४७

आव २०७५/७६ 

१,२४९

४,८८७

१,३४१

१३,४७२

२२६७

तथ्याङ्क स्रोतः वैदेशिक रोजगार विभाग

महिला कामदारहरुको प्रमुख गन्तब्यहरुमध्ये विगत ५ वर्षको तथ्याङ्क केलाउने हो भने युएई जाने नेपालीको संख्या धेरै छ । गत वर्ष मात्रै कामको खोजीमा २४ हजार ९१ जना नेपाली महिला युएई गएको वैदेशिक रोजगार विभागको तथ्याङ्कमा उल्लेख छ । यस्तै ११ हजार ८१६ महिला नेपाली रोजगारीको सिलसीलामा कुवेत गएका छन् भने कतार जाने महिलाको संख्या ७ हजार २९९ जना छ ।

यस्तै एक वर्षको अवधिमा कतार जाने नेपालको संख्या पनि अत्याधिक छ । गत आर्थिक वर्षमा ६ हजार ६९९ जना नेपाली महिला विदेशिएका छन् ।

अवैध रुपमा विदेशिँदा जोखिम बढ्यो

सरकारले घरेलु कामकोे लागि श्रम स्वीकृती रोक्दा झनै जोखिम बढेको छ । सरकारले श्रम स्वीकृती रोकेसँगै कामको सिलसिलामा अवैध रुपमा नेपाली महिला कामदारहरु विदेशिने गरेका छन् । जसले गर्दा झनै जोखिम बढेको हो ।

वैदेशिक रोजगार विभाका अनुसार लुकिछिपी जाँदा कानुनी कारबाही हुने, अलपत्र पर्ने, दुर्घटना हुने, सम्झौता बमोजिम काम नपाउने, उद्धार गर्न कठिन हुने र बीमा कम्पनीबाट प्राप्त हुने सेवासुविधा प्राप्त नहुने जस्ता समस्या आउन थालेको छ । धेरै महिला कम शिक्षा आर्जन गरेका, ग्रामीण भेगमा बसोवास गर्ने, गरीबीको मारमा परेकाहरू नै दलालको आश्वासनमा परेर विदेशिने गरेका छन् । विशेषगरी घरेलु काम जस्ता अनौपचारिक क्षेत्रमा रहेका महिला आप्रवासी कामदार शोषणमा समेत पर्ने गरेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।