युवा विदेश पलायन हुँदा कृषि पेसा वृद्ध र महिलाको काँधमा

0
Shares

देशका युवा अध्ययन तथा रोजगारका लागि विदेशीएपछि कृषि क्षेत्र महिला र बृद्धको काधमा सर्ने क्रममा देखिएको हो । राष्ट्रिय तथ्याङक कार्यालयका अनुसार पछिल्लो एक दशकमा मूख्य कृषकमा महिला र वृद्धको सहभागिता बढेको हो ।

कृषि उत्पादनको समेत आयात बढ्नुको मूख्य कारण भनेको युवा जनशक्ती विदेश पलायन हुनु हो । आन्तरिक उत्पादन नभएपछि आयात उच्च हुनु स्वभाविक हो । त्यसका साथै विदेशीने नेपालीको संख्या उच्च दरमा बढेपछि आर्थिक गतिविधि विस्तार नहुँदा समग्र बजारको मागमा संकुचन आएको छ ।

कार्यालयको कृषि गणना प्रतिवेदन अनुसार पछिल्लो एक दशकमा मुख्य कृषकको रुपमा रहेका युवा जमातको संख्या घट्दै गएको छ । तर, महिला र वृद्धको सहभागिता भने बढ्न थालेको छ ।

कार्यालयले कृषक परिवारको कृषि कार्य सञ्चालनमा व्यवस्थापकीय कार्यको रेखदेख र नियन्त्रण गर्ने प्रमूख व्यक्तिलाई मूख्य कृषक भनेको छ । कृषि गणना २०७८ बाट प्राप्त नतिजाअनुसार ९० प्रतिशत कृषक परिवारमा मूख्य कृषक नै परिवारमूली रहेको अध्ययनले देखाएको छ । बाँकी १० प्रतिशत परिवारमा मुख्य कृषक बाहेक अर्को सदस्यलाई परिवार मुली मानिएको छ ।

कृषि गणना २०७८ अनुसार मुख्य कृषकहरु संख्या ४३ लाख १३ हजार ५ सय जना रहेका छन । सो मध्ये १३ लाख ३८ हजार ३२ प्रतिशत महिला छन् । १० वर्ष अघि मुख्य कृषकको रुपमा महिलाको हिस्सा १९ प्रतिशत थियो ।

महिला मुख्य कृषक भएका परिवारको जग्गाको आकार अक्सर साना रहेका छन । कृषि गणना २०७८ मा महिला मुख्य कृषक भएका परिवारका जग्गाको सरदर आकार ०.३७ हेक्टर छ भने पुरुष भएका परिवारको जग्गाको सरदर आकार ०.६२ हेक्टर छ ।

कृषि गणना २०६८ अनुसार महिना मूख्य कृषक भएका परिवारको जग्गाको सरदर आकार ०.४४ हेक्टर थियो भिने पुरुष मूख्य कृषक भएका परिवारको सरदर आकार ०.७१ हेक्टर थियो ।

छैठौं कृषि गणना २०६८ मा २५ वर्ष मुनिका कृषकको हिस्सा ३.१ प्रतिशत थियो भने सातौं कृषिगणना २०७८ मा यो उमेरका मुख्य कृषकको हिस्सा २.६ प्रतिशतमा झरेको छ । यी दुई गणनाको तुलना गर्दा एक दशकको अवधिमा २५ देखि ३४ उमेर समुहका मुख्य कृषक १६.१ प्रतिशतबाट घटेर १४.९ प्रतिशतमा सिमित भएका छन । त्यसैगरी ३५ देखि ३४ उमेर समुहका मुख्य कृषक २६.७ प्रतिशतबाट घटेर २५.७ प्रतिशत र ४५ देखि ५४ उमेर समुहका पनि २५.१ प्रतिशतबाट केही घटेर २४.८ प्रतिशतमा सिमित भएका छन ।

राष्ट्रिय तथ्याङक कार्यालयका अनुसार ५५ देखि ६४ उमेर समुहका मूख्य कृषक भने १७.६ प्रतिशतबाट बढेर १८.३ प्रतिशत भएको देखिन्छ । तर, ६५ वर्ष माथि उमेरका मूख्य कृषक भने ११.७ प्रतिशतबाट बढेर १३.७ प्रतिशत पुगेको कार्यालयले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।