साउनमा थपियाे १४ करोड डलर सञ्चिति, दश महीनाबढीको वस्तु तथा सेवा आयात धान्न पुग्ने

0
Shares

साउन महीनामा कुल विदेशी विनिमय सञ्चिति १४ करोड डलरले बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार असारको तुलनामा साउन मसान्तमा विदेशी विनिमय सञ्चिति १.२ प्रतिशतले वृद्धि भई ११ अर्ब ८५ करोड पुगेको हो ।

गत असार मसान्तमा अमेरिकी डलरमा यस्तो सञ्चिति ११ अर्ब ७१ करोड रहेको थियो । यस्तै नेपाली रुपैयाँमा पनि ३३ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ । २०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति साउनमा २.२ प्रतिशतले वृद्धि भई २०८० साउन मसान्तमा १५ खर्ब ७३ अर्ब १२ करोड रुपैयाँ पुगेको हो ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा १३ खर्ब ८५ अर्ब २४ करोड रुपैयाँ रहेको छ । असारमा यस्तो सञ्चिति १३ खर्ब ४५ अर्ब ७८ करोड रहेकोमा साउनमा २.९ प्रतिशतले वृद्धि भएको हो । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८० साउन मसान्तमा २.९ प्रतिशतले कमी आई १८७ अर्ब ८९ करोड कायम भएको छ । २०८० असार मसान्तमा बैंक तथा वित्तीय संस्था १ खर्ब ९३ अर्ब ५९ करोड रुपैयाँ रहेको थियो । २०८० साउन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.९० प्रतिशत छ ।

आर्थिक वर्ष २०८०/८१ को साउन महीनाको आयातलाई आधार मान्दा बैंकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १२.५ महिनाको वस्तु तथा १०.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने नेपाल राष्ट्र बैंकले जनाएको छ ।

विसं २०८० साउन मसान्तमा विदेशी विनिमय सञ्चिति र कुल गार्हस्थ्य उत्पादनको अनुपात २९.२ प्रतिशत, विदेशी विनिमय सञ्चिति र कुल आयातको अनुपात ८५.७ प्रतिशत र विदेशी विनिमय सञ्चिति र विस्तृत मुद्राप्रदायसँगको अनुपात २६.३ प्रतिशत छ । २०८० असार मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः २८.६ प्रतिशत, ८३.० प्रतिशत र २५.१ प्रतिशत रहेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।