कहाँ हरायो पाल्पाली करुवा ? (फोटो फिचर)


करुवा भन्ने बित्तिकै मुखैमा झुण्डिएको जिल्लाको नाम हो, पाल्पा । पाल्पाको पहिचान बनेको हातैले बनाएका करुवा पछिल्ला दिनमा भने बन्नै छाडेको छ । पाल्पा पुग्ने जो कोही हातले बनाएका पाल्पाली करुवा भनेर चिनोको रुपमा लैजाने योजना बनाउँथे । तर बजारमा अहिले मेशिनले बनेका बाहिरी जिल्लाबाट आयातित करुवा मात्र देखिन्छ ।


कारण हो, नयाँ प्रविधि, नयाँ मेशिनले करुवा अन्यत्र बनिन थाल्नु । हातले बनाएको पाल्पाली करुवा झण्डै लोप हुने अवस्थामा छ । काँश, राङ र तामाको प्रयोग गरेर पगालेर बिभिन्न ढाँचाहरुमा राखेर तयार गर्ने पाल्पाली करुवा अहिले बिरलै देख्न पाइन्छ । काँस, तामाबाट निर्मित पाल्पाली करुवाबाट पानी पिउँदा शरीरलाइ फाइदा हुन्छ भन्ने जनविश्वास समेत छ । तर पछिल्ला दिनमा भने सस्तो मुल्यका करुवा बजारमा देखिन्छन् ।


पहिले हरेक घर तथा होटलमा करुवा सजाएर राख्ने चलन थियो । करुवा घरमा राख्दा आकर्षित देखिन्छ । हातले बनाएको पाल्पाली करुवा तयार गर्न समय लाग्छ । मिहिनेत पर्छ । हातैले दुःखसँग बनाइन्छ । करुवाको चक्र पूरा गर्न २५ देखि ३० दिन लाग्ने गर्छ । गाउँ घरबाट फालिएका, नचाहिने काँसका भाडा, तामाका भाडा ल्याएर, पगालेर विभिन्न ढाँचामा करुवा तयार गरिन्छ । साँचो माटोबाट बनाइन्छ । त्यसैमा राखेर विभिन्न ढाँचाका करुवा तयार हुने करुवा उद्यमी प्रदीप बज्राचार्य बताउँछन् ।


२०४० सालतिर पाल्पामा करीब ३० वटा करुवा उद्योगहरु थिए । अहिलेसम्म आइपुग्दा त्यो संख्या घटेर तीन वटामा सिमित भएको छ । ति मध्ये नियमित र चालु अवस्थामा कुनै पनि छैनन् । पाल्पा जिल्लाको सदरमुकाम तानसेनको टक्सारमा पाल्पाली करुवाको सुरुवात भएको दाबी छ ।


तानसेन टक्सारमा करुवा उद्योगसँगसँगै विभिन्न किसिमका भाँडा उद्योगहरु पनि थिए । अहिले ती पनि दखिन छाडेका छन् । पहिलेदेखि भाँडा र करुवा किन्न आउनेको भीड हुन्थ्यो । त्यो अहिले न्युन मात्र होइन देख्नै मुश्किल परेको करुवा उत्पादकहरु बताउँछन् ।

टक्सारमै करुवा बनाएर सुरुवात गरेका स्व.सुर्यमान बज्रचार्यको उद्योग एक पुस्ताबाट अर्को पुस्ता गर्दै अहिले दुई जना नातीहरुमा हस्तान्तरण भएको छ । तर उद्योग सुचारु अवस्थामा छैन ।
विगत ४० वर्षदेखि निरन्तर करुवा बनाउँदै आएका कान्छा नाति तानसेन टक्सारका प्रदिप बज्राचार्य भन्छन, “पहिले २०० देखि ३०० थान करुवा बनाउन भ्याईनभ्याई हुन्थ्यो, अहिले कालिगढ पनि छैनन्, कच्चा मालको मंहगीले अर्डर अनुसार मात्र बनाउने गरेका छौं ।”

उनका अनुसार हातले बनाइने सबैभन्दा सानो करुवा बनाउन १ हजार ५०० रुपैयाँदेखि २ हजारसम्म खर्च लाग्छ । आधुनिक मेशिनले बनाएको त्यही करुवा १ हजारसम्म बजारमा पाइने भएकाले पनि हातले बनाएको करुवा अहिले बिस्तारै लोप हुदै गएको उनको गुनासो छ ।

प्रदिपका दाजुभाइमा अहिले प्रदिपले मात्र करुवा बनाउँदै आएका छन् । उनीसँग पनि पहिले ४ देखि ५ जना कालिगढहरु हुने गर्दथे । तर अहिले प्रदिप एक्लै करुवा बनाउने काम गर्छन् ।

पाल्पाली करुवा उद्योग सुरुवाती कालदेखि बज्रचार्य परिवारले सञ्चालन गर्दै आएकोमा अब बिस्तारै उद्योग बन्द गर्ने तर्फ लागेका छन । हातले करुवा बनाउन सजिलो नभएकै कारण अहिले युवा पुस्तामा हस्तान्तरण हुन नसकेको हो ।

प्रदीपका अनुसार करुवा बनाउन बल प्रयोग गर्नुपर्ने हुन्छ । तातो रापमा पगाल्नु पर्ने भएकाले काममा त्यति रुचि दिएको नदेखिने उनले बताए । पाल्पाकै पहिचानको रुपमा चिनिने करुवालाई स्थानीय सरकारले खासै चासो नदिएको उनको गुनासो छ । “कतैबाट सहयोग पनि नभएकाले स्थानीयस्तरमा करुवा बनाउने उद्योग विस्थापित हुने अवस्थामा पुगेको हो,” उनी भन्छन्, “हामीलाई करुवा उद्योग बन्द भएकोमा निकै दुःख लागेको छ । स्थानीय सरकारलाई आफ्नै उत्पादन छ भनेर सम्झाउन पर्दा झनै दुखः लाग्छ ।”


बज्राचार्य जस्तै बाँकी रहेका २ वटा करुवा उद्योगको पनि अवस्था उस्तै छ । पाल्पाली करुवाका पौरखीहरु अझै पनि टक्सार उद्योगहरुमा करुवा किन्न आउने गरेको उनी बताउँछन । जनशक्ती न्युन हुनु र बढ्दो महँंगीले माग अनुसारको काम गर्न नसकेकोमा उद्योगीहरु चिन्तित छन् ।

पाल्पाली करुवाबाट पानी पिउँदा घाँटीको समस्या सन्चो हुने जनविश्वास छ । पहिले ढक्कन बिनाको करुवा बन्ने गरेकोमा अहिले बुट्टा सहितको चराको आकारमा ढक्कन समेत गराइन्छ ।

पाल्पाली करुवाको आकार सिको गरेर अरु ठाउँहरुमा करुवा बनाइने गरिन्छ । तर पाल्पाली करुवा बनाउन प्रयोग हुने सामाग्री र डिजाइन अरु ठाउँमा नपाइने उद्योगीहरुको दाबी छ । तानसेन करुवा उद्योग, पाल्पाली करुवा उद्योगले मात्र कहिलेकाँही उक्त गुणस्तरको करुवा उत्पादन गर्दै आएका छन् ।


तानसेनमा मेसिनद्धारा उत्पादित नेपालगञ्ज, भोजपुर र पोखरेली करुवा भेटिन्छ । यी करुवालाई पनि पाल्पाली नै भनेर व्यापारीले बिक्री गर्ने गरेको गुनासो ग्राहकको छ । जसले गर्दा पाल्पाली करुवा कस्तो हो भनेर चिन्न समेत मुश्किल हुने अवस्था भएको करुवा उद्योगीहरु बताउँछन् ।


पाल्पाली करुवा विगतमा जापान, बेलायत, अमेरिका र थाइल्यान्डसम्म निर्यात हुने गरेको थियो । तर माग अनुसार करुवा उत्पादन हुन नसक्दा अहिले निर्यात पनि हुन सकेको छैन ।

“बाहिरबाट धेरै माग आउँछ तर के गर्नु पु¥याउन सकिएको छैन,” उद्योगी बज्राचार्यले भने, “सबै क्षेत्रबाट सहयोग हुने हो भने करुवा उत्पादन गर्न समस्या हुँदैन,” पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराईले पाल्पाली करुवालाई संरक्षणका लागि नयाँ प्रविधि ल्याउने र उत्पादन बढाउन अध्ययन भइरहेको बताए ।

तानसेन नगरपालिकाले पनि उद्योगी, प्रदेश सरकारसँग मिलेर स्थानीय करुवा संरक्षणको कार्यक्रम ल्याउन लागेको नगरप्रमुख सन्तोषलाल श्रेष्ठले बताए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।