साना तथा मझौला उद्यमलाई सहज कर्जा उपलब्ध गराउन चुनौति छ: गर्भनर

0
Shares

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले दक्षिण एसिया क्षेत्रमा साना तथा मझौला उद्यमलाई सहज रूपमा कर्जा उपलब्ध गराउन चुनौतिपूर्ण रहेको बताएका छन् । उनले एलायन्स फर फाइनान्सियल इन्क्लुजन (एएफआइ) को वार्षिक बैठकमा बोल्दै लैङ्गिक असमानता रहेको जिकिर गरेका हुन् ।

दक्षिण एसिया क्षेत्रमा वित्तीय साक्षरताको कमी रहेको समेत गभर्नर अधिकारीले बताए । अधिकारीले वित्तीय समावेशीकरणका सन्दर्भमा दक्षिण एसिया क्षेत्रमा धेरै सुधार गर्नु पर्ने अवाश्यक रहेको उनल औंल्याएका थिए । वित्तीय सेवामा सीमान्तकृत वर्गको पहुँच अभिवृद्धि, प्रविधिको प्रयोग, विद्युतीय वित्तीय सेवा, वित्तीय क्षेत्र र कारोबारको पारदर्शिताको सन्दर्भमा नीगित व्यवस्था हुनुपर्ने आवश्यकता समेत उनले औंल्याए । यस्ता विषयले समग्र अर्थतन्त्रमै प्रभाव पर्ने भएकाले राज्यका विभिन्न निकायले नीतिगत व्यवस्था अवलम्बन गर्नुपर्ने उनको भनाई छ ।

गभर्नर भदौ २६ देखि २९ गतेसम्म फिलिपिन्सको मनिलामा आयोजित वार्षिक बैठक र ग्लोबल पोलिसी फोरममा सहभागी भएका थिए ।

वार्षिक बैठकमा एएफआइको लेखापरीक्षण प्रतिवेदन, वित्तीय क्षेत्रमा लैङ्गिक समावेशिता तथा सूचना प्रविधिको प्रयोग सम्बन्धी प्रतिवेदन पेस गरिएको थियो । सो संस्था अन्तर्गत रहेका इन्क्लुसिभ ग्रिन फाइनान्सिङ, वित्तीय समावेशिता रणनीति, साना तथा मझौला उद्यममा कर्जा प्रवाह, विद्युतीय वित्तीय सेवा जस्ता कार्यदलका प्रतिवेदन पेस भएका थिए ।

बैठकले सन् २०२४–२८ को निम्ति एएफआइको रणनीतिक योजना, मनिला घोषणापत्र, सन् सन् २०२३–२५ को लागि सञ्चालक समितिको गठनसम्बन्धी प्रस्तावलाई अनुमोदन गरेको छ । एएफआई सञ्चालक समितिको सदस्यको रूपमा गभर्नर अधिकारी पनि रहेका छन् । अन्य राष्ट्र र संस्थामा एएफआइको सदस्यस्ता विस्तार गरी वित्तीय साक्षरता र समावेशीकरणको प्रवद्र्धन, सदस्यहरूबीच क्षमता अभिवृद्धि गर्नुपर्ने उनले बताएका थिए । साथै असल अभ्यासको आदानप्रदान गरिएको सम्बन्धमा समेत उनले चर्चा गरेका थिए ।

एएफआई अन्तर्गत साउथ एसिया फाइनान्सियल इन्क्लुजन इनिसियटिभ सहित ६ वटा क्षेत्रीय प्रयासहरू प्रारम्भ भएको र वित्तीय समावेशीकरणमा देखिएका चुनौतीलाई सम्बोधन गर्न सहयोग पुगेको उनको भनाई थियो । भ्रमणको क्रममा गभर्नर अधिकारीले फिलिपिन्सका केन्द्रीय बैंकका गभर्नर यलि एम रिमोलोना जेआरसँग द्विपक्षीय छलफल समेत गरेका छन् । छलफलका क्रममा दुई देशका केन्द्रीय बैंकबीचको सहकार्य र वित्तीय समावेशीकरणमा रहेको चुनौति र एएफआईको भूमिकाका विषयमा छलफल भएको थियो ।

उदीयमान तथा विकासोन्मुख अर्थतन्त्र रहेका ७६ मुलुकका केन्द्रीय बैंक र अन्य ८ वटा नियामक संस्था गरी कुल ८४ संस्थाहरू एएफआइको सञ्जालमा आबद्ध छन् । मलेसियाको क्वालालम्पुरमा मुख्यालय रहेको एएफआईले वित्तीय समावेशिता अभिवृद्धिको लागि नियमनकारी निकायहरूसँग सहकार्य गर्दै आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।