माइक्रोफाइनान्सका ‘ओभर ड्यू बरोअर’ २ लाख थपिँदा जोखिम व्यवस्था एक अर्बले बढ्यो

0
Shares

लघुवित्त क्षेत्रमा कर्जा ‘डिफल्ट’ बढ्ने क्रमले चालु आर्थिक वर्षमा पनि निरन्तरता पाएको छ । आर्थिक गतिविधिमा आएको सुस्तता र सर्वसाधारणको आम्दानी सुधार आउन नसक्दा लघुवित्त क्षेत्रको समस्या कायमै रहेको हो ।

कोरोना महामारी लगत्तैको आर्थिक मन्दीका कारण सर्वसाधारणको आम्दानीमा गिरावट आएपछि ग्रामीण भेगमा वित्तीय सेवा प्रदान गर्ने लघुवित्त वित्तीय संस्थाहरुमा समेत समस्या बढ्न थाल्यो । अर्थतन्त्रमा देखिएको समस्याले ग्रामीणस्तरसम्म असर गर्दा लघुवित्त पनि प्रभावित भएको हो ।

साथै बैंक तथा वित्तीय संस्था र लघुवित्तका ऋणी एउटै भएकाले पनि लघुवित्तले प्रवाह गरेको कर्जा डिफल्ट हुने दर बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ । एउटै व्यक्तिले बैंक, विकास बैंक, फाइनान्स, लघुवित्त र सहकारीबाट कर्जा लिने अभ्यासले लघुवित्त र सहकारीलाई धेरै असर गरेको एक माइक्रोफाइनान्सका उच्च अधिकारीले बताए ।

गत आर्थिक वर्षको अन्त्यतिर लघुवित्तका कर्जाको डिफल्ट रेटमा कमी आएको भएपनि नयाँ आर्थिक वर्ष सुरु भएसँगै पुरानौ अवस्थामा फर्कने संकेत गरेको देखिन्छ । गत आर्थिक वर्षमा लघुवित्तको समस्या जटिल मोडमा पुगेको थियो । ऋणीले पनि कर्जा नतिर्ने भन्दै खुलेआम विरोधका कार्यक्रम समेत गरेको अवस्था थियो । त्यसले गर्दा पनि कर्जाको डिफल्ट उच्च दरमा रहेको थियो भने कर्जा जोखिम व्यवस्था समेत करिब ७ अर्ब बढेर साढे १८ अर्ब पुगेको केन्द्रीय बैंकले जनाएको छ । तर, गत आर्थिक वर्षको अन्तिम त्रैमासमा लघुवित्तहरुले जोखिम मोलेर नै असुलीलाई तीब्रता दिएपछि डिफल्ट रेटमा केही आएको आएको थियो । गत आर्थिक वर्षको असारमा देखिएको सुधारले चालु आवको पहिलो महीनामा निरन्तरता पाउन नसकेको देखिन्छ ।

चालु आर्थिक वर्षको साउनमा मात्र कर्जाको साँवाँ ब्याज नर्तिने ऋणीको संख्या १ लाख ९५ हजार १०२ जनाले बढेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो संख्या ४९.७८ प्रतिशतले धेरै हो । आर्थिक वर्ष २०७९/८० को साउन महिनामा समयमा कर्जाको साँवा ब्याज नतिर्नेको संख्या १ लाख ३० हजार २६६ रहेको थियो ।  गत आर्थिक वर्षको अन्त्यसम्ममा समयमा कर्जा नतिर्ने ऋणीको संख्या ५ लाख ८७ हजार १६३ रहेको थियो । चालु आवको साउनमा त्यस्तो संख्या ७ लाख ८२ हजार २६५ जना रहेका छन् । माइक्रोफाइनान्सका डिफल्ट ऋणीको संख्या कोरोना अवधिमा सबैभन्दा धेरै १० लाख भन्दा माथि थियो ।

त्यसैगरी चालु आर्थिक वर्षको साउनमा माइक्रोफाइनान्सको कर्जा जोखिम व्यवस्था समेत बढेको छ । सो अवधिमा ५७ माइक्रोफाइनान्सको कुल कर्जा जोखिम व्यवस्था १ अर्ब १५ करोड ७० लाख रुपैयाँ रहेको छ । यो रकम गत आवको सोही अवधिको तुलनामा १४४.४७ प्रतिशतले धेरै हो । गत आवको साउन महिनामा ६५ वटा माइक्रोफाइनान्सको कर्जा जोखिम व्यवस्था बापतको कुल रकम ५३ करोड ९० लाख रुपैयाँ मात्र रहेको थियो ।

चालु आवको साउन महीनासम्ममा कुल ८ अर्ब ३९ करोड २० लाख रुपैयाँ बराबरको ‘इन्ट्रेष्ट सस्पेन्स’ रहेको केन्द्रीय बैंकले जनाएको छ । साउन महिनामा मात्रै १ अर्ब ४७ करोड १० लाख रुपैयाँ बराबरको इन्ट्रेष्ट सस्पेन्स थप भएको छ । यो रकम गत आवको सोही अवधिको तुलनामा ७१.६५ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको साउन महिनामा ८५ करोड ७० लाख रुपैयाँ बराबरको इन्ट्रेन्स सस्पेन्स रहेको थियो ।

चालु आर्थिक वर्षको साउनमा माइक्रोफाइनान्सको खुद नाफा नकारात्मक छ । सो अवधिमा ५७ माइक्रोफाइनान्सको कुल नोक्सानी एक करोड ८० लाख रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा सञ्चालनमा रहेको ६५ लघुवित्तको खुद नाफा ४५ करोड ५० लाख रुपैयाँ रहेको थियो । गत आर्थिक वर्षमा ५७ माइक्रोफाइनान्सको खुद नाफा ४ अर्ब ७८ करोड ३० लाख रुपैयाँ थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।