नेपाल फर्निचर तथा फर्निसिङ संघको आयोजनामा बुधबारदेखि राजधानीमा नवौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो (फर्नेक्स २०२३) सुरु भएको छ । फर्निचरजन्य उत्पादनको बजार विस्तारका साथै आत्मनिर्भरताको लक्ष्य सहित एक्स्पो आयोजना गरिएको हो । असोज १४ गतेसम्म पाँचदिनसम्म चल्ने एक्स्पोले सुस्ताएको आर्थिक कृयाकलापलाई चलायमान बनाउने अपेक्षा गरिएको छ । विगतमा शतप्रतिशत फर्निचर आयात हुने गरेकोमा हाल ६० प्रतिशत आन्तरिक उत्पादनबाट परिपूर्ति हुने अवस्था बनेको छ । पाँच हजारभन्दा बढी उद्योगमा एक लाखभन्दा धेरैले प्रत्यक्ष रोजगारी पाएका छन् । फर्निचर तथा फर्निसिङका उत्पादनमा पूर्ण रुपमा आत्मनिर्भर हुनसक्ने अवस्था रहेपनि राज्यका प्रथामिकतमा यो क्षेत्र नपर्नु र विभिन्न कानुनी व्यवधानका कारण नेपाल सम्भावना हुँदा हुँदै पनि यस क्षेत्रमा आत्मनिर्भर बन्न सकेको छैन । कच्चा पदार्थ, सीपयुक्त जनशक्ति र ठूला उद्योगलाई सर्पोर्ट गर्ने सहायक उद्योग नहुँदा अझैपनि ४० प्रतिशतभन्दा धेरै फर्निचरजन्य उत्पादनमा आयातमा निर्भर हुनुपरेकाे अवस्था छ ।
‘हरियो वन नेपालको धन’ भनिए पनि नीतिगत अंकुशका कारण हरियो वन, नेपालको धन बन्नसकेको छैन । काष्ठजन्य फर्निचरका लागि स्वदेशमै पर्याप्त काठ उपलब्ध रहे पनि नीतिगत समस्याका कारण व्यवसायीले सहज र सर्वसुलभरूपमा उपयोग गर्न नपाएको व्यवसायीहरु बताउँछन् । अर्थतन्त्र कमजोर अवस्थामा रहेका बेला स्वदेशी मुद्रा बाहिरिनबाट रोक्नुपर्नेमा सरकारले वन नियमावलीमा निजी क्षेत्रलाई निषेध गर्दा फर्निचरका साथै काठसमेत आयात हुने गरेको छ । कच्चा पदार्थको सहज उपलब्धता नहुँदा फर्निचरजन्य सामग्रीमा आत्मनिर्भर बन्न नसकेको हो । विगत वर्षको तुलनामा एक्स्पोलाई अझै परिष्कृत रुपमा आयोजना गर्ने योजना रहेको बताएका संघका अध्यक्षा दिनेश कुमार अग्रवालसँग नेपालमा फर्निचर तथा फर्निसिङ क्षेत्रका अवस्था, यस क्षेत्रका सम्भावान तथा चुनौति, राज्यले यस क्षेत्रमा गर्नुपर्ने काम लगायतका समसामयिक विषयवस्तुमाथि गरिएको कुराकानीको संपादित अंश प्रस्तुत गरिएको छ ।
मन्दीका माझ फर्निचर तथा फर्निसिङ मेला आयोजना गर्नुभएको छ, कस्तो अपेक्षा छ ?
नेपालको फर्निचर तथा फर्निसिङ क्षेत्रको उत्थान गर्दै नेपालमा उत्पादित वस्तु तथा सेवालाई एउटै छानामुनि प्रदर्शनीमा ल्याउन हरेक वर्ष जस्तो यो वर्ष पनि मेला आयोजना गरिएको छ । असोज १० देखि १४ गतेसम्म राजधानीको भृकुटीमण्डपमा नवौं संस्करणको फर्नेक्स मेला आयोजना गरिएकाे हो ।
यस अवसरमा मेलामा नेपालमा उत्पादित र आयातित दुवै प्रकारका फर्निचरजन्य वस्तु प्रदर्शनीमा राखिनेछ । मेलामार्फत् फर्निचर क्षेत्र चलायमान हुने अपेक्षा छ । सुस्ताएको व्यवसायलाई जीवन प्रदान गर्न टेवा पुग्छ भन्ने आशा छ । सर्वसाधारणको माझ नयाँ उत्पादन प्रस्तुत गर्दा खरिद गर्ने रहर जागृत गराउन सकिएला भन्ने कोसिसमा छौं ।
नवौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो आजदेखि सुरु हुँदैछ, एक्स्पो र यसको उदेश्य के–के छन् ?
नवौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो पाँचदिनसम्म सञ्चालन हुनेछ । हामीले मंगलबार नै सम्पूण तयारी पूरा गरिसकेका छौं । विगतको तुलनामा यस पटक हामीले प्रदर्शनीस्थल केही फरक तरिकाले तयार पारेको छौं । नेपालको फर्निचर तथा फर्निसिङ क्षेत्रको उत्थान गर्दै नेपालमा उत्पादित वस्तु तथा सेवालाई एउटै छानामुनि प्रदर्शनीमा ल्याउने हाम्रो उद्देश्य छ । फर्निसिङ ब्रान्डहरुलाई साझा प्लेटफर्म प्रदान हुनेछ भने उपभोक्ताले पनि एउटै छानामुनी सबै किसिमका उत्पादनको बारेमा जानकारी पाउने छन् ।
फर्निचर तथा फर्निसिङ सामग्रीका उत्पादक, आयातकर्ता, वितरक, मेसिनरी तथा प्रविधि हस्तान्तरण, डिलर र व्यवसायी सहभागी रहने एक्स्पोमा १०० भन्दा बढी स्टलहरु रहेका छन् । व्यवसायीहरुले आफ्नो ब्रान्ड, उत्पादन तथा सेवाको प्रचारप्रसार गर्ने अवसर पाउने छन् । यस्तै सम्भावित ग्राहकसँगको साक्षात्कार र भविष्यमा सहकार्य तथा व्यापार विस्तारका लागि आवश्यक पर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीहरुसँग भेटवार्ता गर्ने अवसर पनि उपलब्ध हुनेछ ।
एक्स्पोमा कुल ३ वटा प्रदर्शनीस्थल रहनेछन् । मेलामा बी–टु–बी को सुविधा तथा खुद्रा उत्पादन बिक्री कक्ष पनि उपलब्ध हुनेछ ।
फर्नेक्स भ्रमणबाट आम व्यक्तिले के अपेक्षा गर्ने ?
एक्स्पोको एउटै छतमुनि घर तथा कार्यालयको सरसजावट गर्ने फर्निचर र फर्निसिङजन्य सबै उत्पादन अवलोकन गर्ने स्थान मात्र होइन । एक्स्पो अवलोकलनपछि प्रि–बुकिङका साथै खरिद गर्न सकिन्छ । साथै आफूले चाहेअनुसार कस्टुमाइज गर्ने विकल्प पनि रहन्छ । हामी हरेकपल्ट केही नयाँ लिएर आउने गरेका छौं, यसपटक पनि धेरै नयाँ प्रोडक्टहरु प्रदर्शनीमा राखिएका छन् ।
धेरै प्रदर्शकहरुबाट एक्स्पोको अवसरमा आफ्नो नयाँ—नयाँ उत्पादन लञ्च गर्ने कार्यक्रम तय भईसकेको छ । यस अर्थमा एक पटक एक्स्पो अवलोकन गरी संघले गरेको पहलमा हातेमालो गरिदिनका संघको अध्यक्षको हैसियतमा समग्र उपभोक्ता, उद्योगी व्यवसायी र सम्बद्ध पक्षहरुलाई आग्रह गर्दछु ।
मुलुकको फर्निचर तथा फर्निसिङ उद्योगको अवस्था कस्तो छ ?
फर्निचर र फर्निसिङ उद्योग उपभोक्तालाई अत्यावश्यक वस्तुसँग प्रत्यक्ष जोडिएको वस्तु उत्पादन तथा आपूर्ति गर्ने उद्योग हो । हरेक व्यक्ति बिहान उठेदेखि बुलुका सुत्ने बेलासम्म र राति सुत्दा पनि फर्निचर तथा फर्निसिङका उत्पादनमा आश्रित छ । यसले पनि उद्योगको महत्वलाई स्पष्ट पार्छ ।
उपभोक्ताको जीवनशैलीमा आएको परिवर्तनसँगै नेपालमा यस्ता उद्योग हरेक वर्ष बढ्दो क्रममा रहेका छन् । बजार पनि सोही अनुसार विस्तार भईरहेको छ । तर, पछिल्लो समय देशमा व्याप्त आर्थिक मन्दीका कारण अरु व्यवसाय झैं फर्निचर र फर्निसिङ व्यवसायमा अप्ठेरो स्थिति भने छ । आर्थिक मन्दीको अवस्था टर्यो भन्ने बिचारहरु धेरै आईरहेका छन्, तर बजार सुधार हुनुको साटो झनै सुस्ताउँदै गइरहेको छ । यसले उद्योगी व्यवसायी अन्यौलतामा पर्ने मात्र नभई झनै हतोत्साहित बन्ने अवस्था छ ।
यस्तो भन्दै गर्दा फर्निचर उद्योगको मुख्य साझेदार सरकार नै हो । सरकारी संयन्त्रमा हुने यस्ता उत्पादनको खपत नै अहिले ज्यादै न्यून बनिसकेको छ । यो नतिजालाई हेरेर हामी उद्योगी व्यवसायी भोलि के हुने हो भने त्रसित हुनु स्वभाविक हो । किनभने आजको दिनमा सबैजसो उद्योगहरु नोक्सानमा सञ्चालन भईरहेका छन् । बन्द गरौं, अरु के गर्ने ? बन्द नगर्दा उत्पादनलाई निरन्तरता दिनै पर्यो, बजारमा सामानको माग बन्द अवस्थामा छ । भएका कारोबारको पनि भुक्तानीमा समस्या, अनि आनन्द मानेर त बस्न सक्ने अवस्थै छैन । तत्काल व्यवसाय नै छाड्नुपर्ने अवस्था आइसके पनि भविष्यमा सुधार हुनेमा आशावादी छौं ।
आर्थिक मन्दीले फर्निचर क्षेत्रमा कस्तो प्रभाव परेको छ ?
अरु उद्योगी व्यवसायीले मन्दी महसुस गरेका छन्, हामीले पनि उस्तै असहज महसुस गरेका छौं । उपभोक्तामा मन्दी छाउनु भनेको उत्पादनको खपत घट्नु हो । उपभोक्ताले हाम्रा उत्पादन किन्न नसके हामीले आम्दानी गर्न सक्ने कुरै भएन ।
घरजग्गा, पर्यटन, लगानी तथा व्यवसाय विस्तार जस्ता क्षेत्र ठप्प हुनुको अर्थ नयाँ कार्यालय स्थापना नहुनु हो, नयाँ घर निर्माण नहुनु हो । नयाँ घर बनेनन्, नयाँ कार्यालय खुलेनन् भने फर्निचरजन्य सामाग्रीको खपत कसरी बढ्छ ? त्यसमाथि सरकार आफैँले नयाँ फर्निचर नकिन्ने निर्णयमा पुगेको छ । हामी त अरु व्यवसायीक गतिविधिको चालमा निर्भर छौं । आजको दिनमा आर्थिक मन्दीले हामीलाई झन् बढी ‘हिट’ गरिरहेको छ । अर्थतन्त्रको चक्रमा कुनै पनि एउटा क्षेत्र प्रभावित भयो भने त्यसको असर अन्य क्षेत्रमा पनि पर्छ ।
फर्निचर तथा फर्निसिङ उद्योगको बजारको विस्तार चाँही कुन अवस्थामा छ ?
मैले अघि पनि भने, पछिल्ला केही वर्षयता बजार अपेक्षिकृत अवस्थामा छैन । तर, बजार विस्तार नै नभएको भन्न मिल्ने अवस्था पनि छैन । अहिले हरेक व्यक्तिले जीवनशैलीलाई १५ वर्षअघिको जीवनशैलीसँग तुलना गर्ने हो भने आकाश जमिनको फरक आईसकेको छ । यसमा परिवर्तनको पहिलो संकेत भनेको नै उसले त्यो अवधिमा आफ्नो घर वा कार्यालयमा अपग्रेड गरेको फर्निचर तथा फर्निसिङ्का उत्पादन हो भन्ने लाग्छ ।
यसले पनि के बुझाउँछ भने मानिस जति आधुनिक र सम्पन्न बन्दै गएको छ, त्यसै अनुसार उसका बिहानदेखि अर्को बिहानीसम्मका कृयाकलापमा जोडिने वस्तु फर्निचर र फर्निसिङ पनि सोही अनुसार परिवर्तन हुँदै गएका छन् । एउटा घर र कार्यालयको ढलान संरचनाबाहेक सबै फर्निचर र फर्निसिङ हुन् । इँटा, बालुवा, सिमेन्ट र छड बाहेक सबै फर्निचर र फर्निसिङजन्य सामाग्री हुन् । ओछ्यान, टेबल कुर्सी, सोफा, कार्पेट, पार्केट, झ्याल ढोकाको खापा, पर्दा, रंग आदि सबै फर्निचर र फर्निसिङका उत्पादन हुन् । यसको खपत वर्षेनी बढ्दो क्रममा छ ।
अहिले यस्ता वस्तुको वार्षिक कारोबार झण्डै ६० अर्बको हुने गरेको अनुमान छ । हामीले नेपालका हरेक तह र तप्काका वर्गलाई समेट्ने फर्निचरजन्य उत्पादनको उत्पादन तथा बिक्री वितरण गरिरहेका छौं । आफ्नो क्षमता अनुसारको फर्निचर प्रयोग गर्न सकिन्छ । पछिल्लो समय फर्निचरमा आम सर्वसाधारणको चाहना बढ्दो छ । घर तथा कार्यालय र होटलसम्मको सजावटमा मान्छेले ध्यान दिन थालेका छन् । मान्छेको जीवनशैलीमा परिवर्तन हुँदै गएकाले बजार बढ्दो छ, भोलिको दिनमा पनि माग बढ्छ भन्ने छ । आजभन्दा २०० वर्षअघि देखि नै मान्छेहरु फर्निचरजन्य सामाग्रीको प्रयोग गर्थे । सुत्न प्रयोग हुने खाट, बस्ने कुर्सी पनि फर्निचरजन्य उत्पादन हुन् । यीनै उत्पादनको रुप, गुणस्तर र प्रयोग विस्तार हुँदै गयो । विस्तारै यी वस्तुको व्यापार गर्दा लाभ हुने देखिएपछि व्यवसायीकरण भएको हो ।
आजको दिनमा मान्छेहरु सजावटमा विशेष ध्यान दिन थालेका छन् । सामाजिक सञ्जालका कारण पनि आकर्षक र गुणस्तरीय फर्निचरतर्फ ध्यान जान थालेको छ । अपार्टमेन्टको अभ्यासले फर्निचरको प्रयोग बढ्दो छ । कार्यालयहरुमा फर्निचर नै मुख्य सम्पत्तिको रुपमा देखिन थालिसकेको छ । विगत २०–२५ वर्षदेखि फर्निचरको प्रयोगले व्यापकता पाएको हो भन्ने सकिन्छ । कस्टमाइज्ड इन्टेरियरको अभ्यासले प्रयोग झनै बढाएको छ । यसले हिजोदेखि आजसम्म आउँदा बजार एक तहमा विस्तार भईसकेको बुझाउँछ भने भोलिका दिनमा झनै तीब्र रुपमा बजार बढ्ने कुरालाई नकार्न सकिन्न ।
फर्निचरमा आत्मनिर्भर भइसकेको हाैं कि अझै बाँकी छ ?
हामीले स्वदेशमा उपलब्ध स्रोत र साधनको सदुपयोग गर्न सकिरहेका छैनौं । काठजन्य फर्निचरको कच्चा पदार्थ नेपालमै पर्याप्त रुपमा उपलब्ध भएपनि त्यसको सदुपयोग भने हुन सकिरहेको अवस्था छैन । हामीले यहीँ काठ खेर गएको हेर्दै विदेशबाट काठ आयात गर्नुपरिरहेको अवस्था छ । देशभित्र रहेका काठ कुहिएर गएका छन्, हामीले उपयोग गर्न पाउँदैनौं । लिलामी बढाबढमा सहभागी हुन पाउँदैनौं । कच्चा पदार्थ यहीँ पाउँदा–पाउँदै आयात गर्नुपर्ने बाध्यताले काठमा आत्मनिर्भर छौं भन्न सकिन्न । सम्भाव्यता हुँदा हुँदै पनि नीतिगत व्यवस्था समयानुकुल नहुँदा यस्तो अवस्था देखिएको हो ।
काठ बाहेकका कच्चा पदार्थहरु फलाम, स्टील, प्लास्टिक लगायत नेपालमा उपलब्ध छैन । दक्ष जनशक्तिको पनि अभाव छ । विदेशबाटै ल्याउनुपर्ने स्थिति छ । यद्यपी हामीले उत्पादन गर्ने सामाग्री आयातितलाई टक्कर दिनसक्ने गुणस्तरका छन् । फर्निचरका हस्तकलाको माग नेपालमा मात्र नभएर विदेशमा पनि छ ।
आत्मनिर्भरताको बाटोमा धेरै उद्योगहरु खुलिरहेका छन् । तर, उद्योग खुलेर मात्र हुँदैन । उपभोक्ताको संख्या र मागमा ह्रास आउने डर उत्तिकै छ । देशभित्रै हाम्रो उत्पादन बेच्न सकिएन भने निर्यात गर्ने आधार पनि रहँदैन । यसले कता कता उद्योगी व्यसायीलाई संकुचित बनाईरहन्छ । तयारी उत्पादनतर्फ देशको ६० प्रतिशत माग स्थानीय फर्निसिङ उद्योगले धानिरहेका छन् भने कच्चा पदार्थतर्फ २० प्रतिशतमात्र स्वदेशमा उपलब्ध हुने गरेको छ । नेपालमै उपलब्ध कच्चा पदार्थले काठको फर्निचरमात्र उत्पादन गर्न सक्छौं । प्लास्टिकको दाना र फलाम आयात नै गर्नुपर्छ ।आजभन्दा २० वर्ष अघि शतप्रतिशत फर्निचरजन्य सामाग्री आयात हुन्थ्यो, १० वर्ष अघिसम्म ८० प्रतिशत आयात हुन्थ्यो । आजको दिनमा ४० प्रतिशत मात्र आयात हुने अवस्था बनिसकेको छ । यो अवधिमा उपभोक्ताको संख्या पनि धेरै बढिसकेको छ । यसले धेरै सुधार भईसकेको अवस्थालाई बुझाउँछ ।
काष्ठजन्य फर्निचर भने अझै पनि आयात हुने गरेको छ । कच्चा पदार्थ, दक्ष कामदारको अभावका कारण यस्तो अवस्था आएको हो । फर्निचरका लागि आवश्यक कच्चा पदार्थ काठ जंगलमा त्यत्तिकै कुहिएर गइरहेको छ तर फनिर्चर उद्योगीले सहज र सुलभरूपमा पाउन सकेका छैनन् । नीतिगत समस्या छ, सोही काष्ठजन्य फर्निचरमात्र नभई काठ र काष्ठजन्य कच्चा पदार्थसमेत आयात हुने गरेको छ । खासगरी धेरैजसो अफिसियल र मोडुलर फर्निचर र फर्निचरजन्य वस्तु आयात हुने गरेको हो । त्यस्ता फर्निचर धेरैजसो चीन र भारतबाट आयात हुने गरेका छन् । घरायसी प्रयोजनका फर्निचर भने यहीँ उत्पादन हुने गरेको छ । समग्र भन्नुुपर्दा मागको करिब ४० प्रतिशत फर्निचर आयात हुने गरेको छ । कानुनी व्यवधानका कारण हामी सम्भावना हुँदा हुँदै फर्निचर तथा फर्निसिङका उत्पादनमा पूर्ण रुपमा आत्मनिर्भर हुन सकिरहेका छैनौं । फर्निचरमा आत्मनिर्भर बन्न नसक्नुको कारण हो, बजारको माग बमोजिम उत्पादन दिन नसक्नु । पहिलो त, सबै कच्चा सामाग्री यहाँ पाइँदैन । दक्ष कामदार छैनन्, सीप तालीम प्रदान गर्न सकिरहेका छैनौं, न त राज्यले नै तालीम दिन सकेको छ । फर्निचर काठले मात्र बन्दैन । काठ चिरानदेखि किल्ला काँटी, कब्जा, चुकुल सबै आयात गर्नुपर्ने हुन्छ । हामी पूर्ण रुपमा आत्मनिर्भर हुन यस्ता उत्पादन पनि स्वदेशमै गर्न सक्नुपर्छ ।
एउटा उद्योग चलाउन समर्थन गर्ने २० प्रकारका अरु उद्योगको आवश्यकता रहन्छ । ती उद्योग पनि खुल्ने वातावरण हुनुपर्छ । बजारमा सहज प्रवेशको मौका निजी क्षेत्रलाई दिइनुपर्दछ । त्यसपछि मात्र आत्मनिर्भर र निर्यात बारे सोच्न सकिन्छ ।
कति उद्योगी व्यवसायी फर्निसिङ व्यवसायमा आबद्ध छन् र यस क्षेत्रबाट कतिले रोजगारी पाइरहेका छन् ?
विश्व माहामारी कोभिड–१९ को असर अनि पछिल्ला वर्षदेखिको वित्तीय असहजताका वाबजुद पनि अहिले देशभर १२ हजारभन्दा व्यवसायी फर्निसिङ बिजेनसमा संलग्न भएको देखिन्छ । देशभर हजारभन्दा बढी व्यवसायी रहेका छन् । हामो महासंघअन्तर्गत ३२ जिल्ला संघहरू रहेका छन् । हाम्रो संघमा पनि झण्डै आठ सयदेखि नौ सय व्यवसायी आबद्ध रहेका छन् । सोही कारण पनि हामीले यस वर्षको मेलामा स्टल संख्या पनि बढाएका छौँ । मेलामा एक सयभन्दा बढी कम्पनीले सहभागिता जनाएका छन् ।
हजारौंको संख्यामा सञ्चालित व्यवसायले प्रत्यक्ष रुपमा १ लाखभन्दा बढीलाई रोजगारी दिएको छ । साथै अनौपचारिक रुपमा पनि रोजगारी पाउनेहरुको संख्या धेरै छ ।
फर्निसिङ उद्योगको हालको समस्या समानमा के जरुरी देख्नुहुन्छ ?
हामी उद्योगी व्यापारीको मुख्य साझेदार नेपाल सरकार हो । कुनै पनि सामान खरिद बिक्री गर्दा सरकार त्यसमा प्रत्यक्ष रुपमा जोडिएको हुन्छ । करदेखि रोजगारी सिर्जनामा सरकारलाई सघाउने भएकाले सरकारबाट पनि हामीलाई सोहीअनुसार वातावरण निर्माण हुनुपर्ने हो । त्यसो भए मात्र हामी अर्थतन्त्रमा अपेक्षा अनुसार योगदान दिन सक्छौं । समाधानको कुरासँगै समस्या कहाँ छ भन्ने यतिमै स्पष्ट भइसक्यो जस्तो लाग्छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया