भटमास, पाम र सूर्यमुखी तेलको निर्यातमा उच्च गिरावट, अलैंची र अदुवाको बढ्यो

0
Shares

चालु आर्थिक वर्षको दुई महिनामा भटमास, पाम र सूर्यमुखी तेलको निर्यातमा उच्च गिरावट आएको छ । यसअवधिमा अलैंची र अदुवा लगायतको निर्यात भने उल्लेखीय रुपमा बढेको छ ।

विगत केही वर्षहरुमा नेपालको कुल निर्यातमा खाद्य तेलहरु ( भटमास, पाम र सूर्यमुखी तेल )को हिस्सा उल्लेख्य रहेकोमा चालु आर्थिक वर्षमा भने यी वस्तुहरुको निर्यातमा भारी ह्रास आएको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले जनाएको छ ।

आर्थिक वर्ष २०७९/८० को प्रथम दुई महिनामा नेपालको कुल निर्यातमा यी तीनवटा वस्तुहरुको हिस्सा २७.१ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षको प्रथम दुई महिनामा यो हिस्सा ३.१ प्रतिशतमा खुम्चिई ८३ करोडमा सीमित भएको छ ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार दुई महीनाको अवधिमा पामतेलको निर्यातमा ८६.७८ प्रतिशतले घटेको छ । यस्तै, सूर्यमुखी तेलको निकासी पनि ३७.१३ प्रतिशतले घटेको छ। त्यस्तै भटमासको निकासीमा पनि उच्च गिरावट आएको छ ।

नेपालबाट धेरै मात्रामा विदेश निर्यात हुने वस्तुमा वनस्पतिजन्य तेलमा आधारित उत्पादनको हिस्सा धेरै रहेको छ । भटमास, पाम र सूर्यमुखी तेलको आयात घटेपछि निर्यात समेत घटेको हो । यी तेलका कच्चापदार्थ आयत गरेर नेपालमा प्रशोधन गरेमा निर्यात गरिदैँ आएको छ । जसले गर्दा आयात घटेकाले पनि निर्यात घटेको हो।

विभागको तथ्यांकलाई केलाउँदा नेपाली मौलिक उत्पादनको निर्यातभन्दा प्रशोधन गरेर हुने निर्यात धेरै हुने गरेको छ । ठूलो मात्रामा कच्चा पाम आयल आयात हुने र प्रशोधन भई विभिन्न चरणमा निर्यात हुने भएकाले यसको निर्यात नेपालको निर्यात हुने वस्तुको अग्रसूचीमा पर्ने गरेको छ ।

कृषिजन्य वस्तुको निर्यातमा सुधार, चीया जुट तथा गलौचाको घट्यो

कृषिजन्य वस्तुको निर्यातमा अग्रणी स्थान हासिल गरिरहेको उत्पादन अलैंचीको निर्यातमा समीक्षा १२०.३७ प्रतिशतले वृद्धि भई १ अर्ब ५० करोड पुगेको छ । यसै गरी अदुवाको निर्यातमा १७७.८८ प्रतिशतले वृद्धि भई ३३ करोड पुगेको छ ।

समीक्षा अवधिमा यार्नको निर्यातमा ६.९८ प्रतिशतले वृद्धि भई २ अर्ब १० करोड पुगेको छ । तयारी पोशाकको निर्यातमा समीक्षा अवधिमा ८.३३ प्रतिशतले वृद्धि भई १ अर्ब ८४ करोड पुगेको छ । समीक्षा अवधिमा जुसको निकासीमा २४.८२ प्रतिशतले वृद्धि भई १ अर्ब ३० करोड पुगेको छ । समीक्षा अवधिमा फलाम तथा तिनका उत्पादनको निर्यातमा ८१.६६ प्रतिशतले वृद्धि भई २ अर्ब ७६ करोड पुग्न गएको छ ।

यस्तै ऊनी गलैंचाको निर्यातमा समीक्षा अवधिमा ११.२० प्रतिशतले ह्रास आई १ अर्ब ९० करोडमा झरको छ । समीक्षा अवधिमा जुट तथा जुटका उत्पादनको निर्यातमा समीक्षा अवधिमा १९.५६ प्रतिशतले ह्रास आई १ अर्ब २५ करोडमा सीमित भएको छ । यसैगरी अर्को प्रमुख निर्यातजन्य ऊनी फेल्टको निकासीमा समीक्षा अवधिमा १३.१५ प्रतिशतले ह्रास आई १ अर्ब ७ करोडमा सीमित भएको छ ।

यसै गरी कृषिजन्य वस्तुको निर्यातमा अग्रणी स्थान हासिल गरिरहेको अर्को उत्पादन चियाको निर्यातमा पनि समीक्षा अवधिमा १५.६८ प्रतिशतले ह्रास आई भई ८० करोडमा सीमित भएको छ ।

उक्त अवधिमा नेपालबाट निकासी भएका प्रमुख वस्तुहरुमा फलाम तथा फलामका उत्पादनहरु, यार्न, ऊनी गलैंचा, तयारी पोशाक, अलैंची, जुस, जुट तथा जुटका सामानहरु, प्लाइउड, उनी फेल्टका उत्पादन, चिया, पामतेल, जडीबुटी, कुकुर विरालाका आहारा, पश्मिना शल, पिना, कपडा, अदुवा, तामा तथा तामाका उत्पादन, चाऊचाऊ प्रमुख रुपमा रहेका छन्।

नेपालको निर्यात व्यापारमा महत्वपूर्ण रहेका अन्य मुलुकहरुमा संयुक्त राज्य अमेरिका, जर्मनी, युके, चीन, फ्रान्स, युएई,, जापान, अष्ट्रेलिया, क्यानडा, इटाली टर्की, हङकङ (चीन) र डेनमार्क प्रमुख रुपमा रहेका छन्।

पेट्रोलियम, विद्युतिय सामाग्रीको आयात बढ्यो, सुन र औषधिको घट्यो

आ.व. २०८०/८१ को प्रथम दुई महीनामा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा पेट्रोलियम पदार्थमा १९.७९ प्रतिशतले वृद्धि भई ३९ अर्ब १२ करोड पुगेको छ ।

समीक्षा अवधिमा फलाम तथा स्टील र तिनका उत्पादनहरुको आयातमा १.७४ प्रतिशतले ह्रास आई २७ अर्ब करोडमा झरेको छ । मशिनरी तथा पार्ट्समा ६.९ प्रतिशतले ह्रास आई १६ अर्ब १७ करोड, कच्चा भटमास तेलको आयातमा ६७.४ प्रतिशतले ह्रास आई २ अर्ब ९६ करोडमा झरेको छ ।

समीक्षा अवधिमा औषधीको आयातमा ३३.९७ प्रतिशतले ह्रास आई ६ अर्ब ७१ करोडमा झरेको छ भने इलेक्ट्रिक र इलेक्ट्रोनिक सामाग्रीहरुमा १८.६० प्रतिशतले वृद्धि भई ११६.६८ अर्ब पुगेको छ । यातायातका साधन र तिनका पार्टपुर्जामा ०.२६ प्रतिशतले ह्रास आई १० अर्ब ८२ करोडमा झरेको छ ।

कच्चा पाम तेलको आयातमा ६५.०१ प्रतिशतले ह्रास आई २ अर्ब ३१ करोडमा सीमित भएको छ । अन्नको आयातमा २२.८१ प्रतिशतले वृद्धि भई ९ अर्ब ३१ करोड पुगेको छ । समीक्षा अवधिमा तयारी पोशाकको आयातमा ४३.८८ प्रतिशतले वृद्धि भई ७ अर्ब १८ करोड पुगेको ।

दुरसञ्चारका सामाग्रीको आयातमा २०.२८ प्रतिशतले ह्रास आई ६ अर्ब ६९ करोडमा झरेको छ । सूनको आयातमा १६.१२ प्रतिशतले ह्रास आई ४ अर्ब ५६ करोडमा झरेको छ ।

नेपालको पैठारी व्यापारमा प्रमुख मुलुकहरुमा भारत, चीन, युएई, युक्रेन, मलेशिया, अष्टे«लिया, इण्डोनेशिया, मोरोक्को , जर्मनी, संयुक्त राज्य अमेरिका, ओमान, थाइलेण्ड, अर्जेण्टिना र फ्रान्स प्रमुख रुपमा रहेका छन्।

खाद्य तेलले घटायो भारतर्फको निकासी

नेपालको निकासी व्यापारमा प्रमुख स्थान आगट्ने भारततर्फको निर्यातमा समीक्षा अवधिमा १५.६ प्रतिशतले ह्रास आई १६ अर्ब ७४ करोडमा झरेको छ । भारततर्फको निकासीमा ह्रास आउनुमा भारततर्फ हुने खाद्य तेलहरु (भटमास, पाम र सूर्यमुखी तेल) को ६ अर्ब ९६ करोड बराबरको ह्रास आउनु नै प्रमुख कारणका रुपमा रहेको छ । नेपालको कुल निकासीमा अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भारततर्फको हिस्सा ६९.१६ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षका सो हिस्सा ६३.२८ प्रतिशत झरेको छ ।

चालु आर्थिक वर्ष २०८०/८१ प्रथम दुई महिनामा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा समग्र पैठारीमा ह्रास आउँदा व्यापारघाटामा सुधार भएको छ । यस अवधिमा व्यापारघाटामा ४.७ प्रतिशतले ह्रास आई कुल व्यापारघाटा २३ खर्ब ३३ अर्वमा झरेको छ । नेपालको कुल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५.३ प्रतिशतले ह्रास आई २८ खर्ब ६२ अर्वमा झरेकोछ । कुल व्यापारमा निकासी तथा पैठारीको योगदान क्रमशः ९.२ प्रतिशत र ९०.८ प्रतिशत रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।