नेपाली काठबाट फर्निचरका उत्पादन भए २५% ले भाउ घट्छः मनिष अग्रवाल

0
Shares

नेपाल फर्निचर तथा फर्निसिङ संघका वरिष्ठ उपाध्यक्ष मनिष अग्रवालले विसं २०६८ सालदेखि काठमाण्डौंको बालाजुमा आफ्नै फम उद्योग सञ्चालन गर्दै आएका छन् । अग्रवालको बुझाईमा बजार सहज भएपनि नीतिगत असहजताले अपेक्षित रुपमा बजार विस्तार हुन सकिरहेको छैन । सुनसरीको धरानमा जन्मिएर राजधानी पसेपछि व्यवसाय सुरु गरेका उनी विगत २२ वर्षदेखि संघमा विभिन्न भूमिकामा आबद्ध छन् ।

संघले बुधबारदेखि राजधानीको भृकुटीमण्डपमा नवौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो सञ्चालन गरिरहेको छ । फर्निचरजन्य उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउने अभियान सहित सञ्चालन भईरहेको एक्स्पोले आर्थिक कृयाकलापलाई पनि चलायमान बनाउने अपेक्षा राख्ने संघका वरिष्ठ उपाध्यक्ष अग्रवालसँग  समग्र बजारको अवस्था र फर्नेक्स २०२३ का सम्बन्धमा गरिएको कुराकानीः–

तपाईको संघले आयोजना गर्दै आएको फर्नेक्सको नवौं संस्करणसम्म आइपुग्दा यसको हाइप कसरी बढिरहेको छ ?

फर्नेक्स एक्स्पो सुरु गर्दा हामीहरुले मानिसहरुको, व्यवसायीहरुको उत्साह १५ प्रतिशत मात्रै होला भन्ने सोचेका थियौं । तर अहिलको वर्तमान अवस्थामा यसको हाइप १०० प्रतिशत भन्दा धेरैले बढेको छ । १०० प्रतिशत किन भने, हामीले स्टलका लागि बुकिङ खुल्ला गर्दा एकै दिनमा नै सबै स्टलहरु भरिए । पहिलेको अवस्थामा हामीले अनुरोध गरेर मात्रै कम्पनीहरुले स्टल लगाउँथे भने अहिले कम्पनीहरु आफैँ उत्साही भएर आएका छन् । जुन कम्पनीहरुले आफूलाई अपग्रेड गरेर नयाँ–नयाँ प्रोडक्टहरु बजारमा ल्याएका छन्, उनीहरुको उत्साह देखेर नै मैले फर्नेक्सको नवौं संस्करणको हाइप शतप्रतिशतले बढेको महसुस गरेको छु ।

संघको वरिष्ठ उपाध्यक्ष भइरहँदा एक्सपोको नवौं संस्करणमा के कस्ता नवीनता पस्किनुभएको छ ?

यस अघिको एक्सपोमा हामीहरुले कोभिडको सामना गरेका थियौं । साथसाथै आर्थिक मन्दीको समस्या भोगेका थियौँ । जसका कारण हामीले मेला गरेता पनि खुशी थियौं तर सन्तोषजनक नतिजा पाएका थिएनाैं । यो एक्स्पो गरिरहँदा बजारको अवस्थामा केही सुधार आएको छ । हामीले गत वर्षको एक्स्पो र यस वर्षको एक्स्पोको अवधिमा नयाँ लन्च भएका प्रोडक्टहरुको डिस्प्ले राम्रोसँग गर्ने, इन्टेरियर डिजाइनरहरुसँग छलफल गरी इन्टेरियरको सुविधा समेत ल्याएका छौँ । यसका साथै नोपालमा फर्निचर तथा फर्निसीङ क्षेत्रमा जे जस्तो माग छ, त्यो अनुरुपका वस्तुहरु हामीले उपलब्ध गराउन सक्छौँ भन्ने विश्वास उपभोक्तालाई दिलाउन चाहेका छौँ ।

साथै यस प्रर्दशनीले आफ्नो घर तथा कार्यालयमा फर्निचर तथा फर्निसीङको काम गराउन इच्छुकहरुका लागि एकै ठाउँमा सम्पूर्ण आवश्यक जानकारी तथा सामाग्री उपलब्ध गराउने उद्देश्य राखेका छौं ।

एक्सपोमा किन आउने ? अवलोकनकर्तालाई कसरी निमन्त्रणा गर्न चाहनुहुन्छ ?

आम जनताले यो बुझ्नु आवश्यक छ कि हामीलाई आवश्यक पर्ने फर्निचर तथा फर्निसिङको सामाग्री नेपालमा नै उपलब्ध छ । हाम्रो दिनचर्याका लागि आवश्यक पर्ने सम्पूर्ण फर्निचर तथा फर्निसिङका सामाग्री नेपालमा नै उत्पादन हुन थालिसकेका छन् । यस्तो अवस्थामा स्वदेशी उत्पादनको प्रवद्र्धन गर्नका लागि पनि तपाईहरु एक्स्पोमा आउनुहुन्छ भन्ने हाम्रो अपेक्षा छ । स्वदेशी उत्पादनको उपभोक्ता बढाउनुका साथै जानकारी दिनका लागि हामीहरुले एक्स्पोलाई उचित माध्यमका रुपमा लिएका छौं ।

साथै यो एक्स्पोले ग्राहकलाई भविष्यमा आवश्यक पर्ने फर्निचर तथा फर्निसिङको बारेमा जानकारी दिनेछ भने प्रदर्शकहरुले ल्याउनु भएका नयाँ उत्पादन तथा नियमित उत्पादनमा विभिन्न किसिमका अफरहरु चलिरहेका छन् । यसले तपाई उपभोक्तालाई सहज हुन्छ भन्ने विश्वासका साथ एक्स्पोमा आमन्त्रण गर्दछु ।

फर्निचर फर्निसिङ्ग क्षेत्रमा नेपाल कहाँ छ ? नेपालको स्थान कहाँ छ ?

विगतका वर्षहरुलाई केलाउँदा अहिले हामीले केही क्षेत्रका लागि कच्चा पदार्थको आयात गरेता पनि सामाग्री निर्माण गरेपछि, उक्त सामाग्री बजारमा नै खपत हुने गरेको छ । त्यो हिसाबमा हामी आत्मनिर्भरताको बाटोमा छौँ । कच्चा पदार्थ आयात गर्नु परे पनि आज हामी कार्पेट, गलैँचा, म्याट्रेस, प्लास्टिकको कुर्सी, फलामको दराज जस्ता उत्पादनमा आत्मनिर्भर भइसकेका छौँ । फर्निसिङ्गको क्षेत्रमा स्वदेशी कच्चा पदार्थ १५ प्रतिशत मात्रै प्रयोग हुँदै आएको छ । तथापि त्यहि १५ प्रतिशत पनि हामीले प्रयोग गर्न सक्ने वातावरण छैन ।

जस्तै कार्पेट, गलैंचा निर्माणमा आवश्यक पर्ने धागो नेपालमा बनाउन सक्छौँ तर नेपालमा खरिद गर्नुभन्दा आयात गर्दा सस्तो पर्छ । अर्को कच्चा पदार्थ भनेको लेटेक्स हो, त्यसलाई हामीले नेपालमै बनाउन सक्छौँ तर उत्पादन भइरहेको छैन जसकारण विदेशबाट नै खरिद गर्नुपर्ने बाध्यता छ । फर्निचरमा कुरा गर्दा ६० प्रतिशत सामान स्वदेशमा नै उत्पादन भईरहेको छ । बाँकी ४० प्रतिशत हाराहारी विदेशबाट आयात भईरहेको छ । अनुकुल वातावरण बनाइदिने हो भने यो क्षेत्रमा पनि हामी ९० प्रतिशतभन्दा धेरै आत्मनिर्भर हुन सक्छौं ।

कच्चा पदार्थ आयात गर्नु रहर हो कि बाध्यता हो ?

कच्चा पदार्थ आयात गर्नु हाम्रो बाध्यता हो । मानिसहरुलाई थाहा छ, धागो, ल्याटेक्स लगायतका अन्य कच्चा पदार्थको नेपालमा बजार छ भनेर, तर उनीहरुले उत्पादन गदैनन् । हामी फम उत्पादन गरिरहेका छौं, कार्पेट तथा गलैंचा उद्योगले विभिन्न किसिमका कच्चा पदार्थ आफैं उत्पादन गर्न सक्दैनन् । जसकारण हामी बाध्य भएर कच्चा पदार्थको आयात गर्नु परिरहेको छ । एउटा उद्योग चलाउन त्यसको उत्पादनलाई समर्थन गर्ने अन्य उद्योगको जरुरी हुन्छ, यस्तो नभएका कारण धेरै कुरामा हामी परनिर्भर हुनु परेको हो ।

फर्निचर क्षेत्रमा नेपाली उत्पादनको स्थान कहाँ छ ?

फर्निचरको क्षेत्रमा हामी ६० प्रतिशतभन्दा धेरै मात्रामा आत्मनिर्भर भइसकेका छौँ । मेटलको फर्निचरका लागि हामी आत्मनिर्भर छौँ । तर काठबाट निर्माण गरिने फर्निचरका लागि भने हामी आत्मनिर्भर भइसकेका छैनौँ । वनमा प्रशस्त काठ हुँदाहुँदै पनि बाध्यतावशः हामीले बाहिरबाट नै काठको आयात गरी फर्निचर निर्माण गरिरहेका छौँ । काठ वनजङ्गलमा कुहिएर गइरहेको छ । तर हामीले उपभोग गर्न पाएका छैनौँ । अझ पछिल्लो पटक सरकारले गरेको नयाँ व्यवस्थाले हामीलाई काठको लिलामी प्रकृयामा सहभागि हुनबाट नै बञ्चित गरिरहेको छ । उत्पादन तयार पार्नका लागि चाहिने कच्चा पदार्थको पहुँच नै बन्द गरेर तेस्रो बाटो समात्नुपर्ने अवस्था एउटा उद्योगका लागि कदापी राम्रो हुन सक्दैन । यस्तो अवस्थामा फर्निचरमा आयातको हिस्सा घटाउँदै पूर्ण आत्मनिर्भरतामा जाने कुरा झनै चुनौतिपूर्ण छ ।

काठको उपलब्धताको विषयमा कृषि तथा वन मन्त्रालयलाई के भन्न चाहनुहुन्छ ?

विभिन्न समयमा हामीले काठको सहज उपलब्धताका लागि वन मन्त्रालयको ध्यानाकार्षण गराउँदै आएका छौं । हामीले काठ किन्छौं, उपलब्ध गराउनुहोस् भनी काठ उपलब्धताको कुरा उठाउँदा उहाँहरुले प्रकृयाको कुरा मात्र गर्नुहुन्छ । हाम्रो संघ, महासंघ लगायतले यस सम्बन्धमा पटक पटक मन्त्रालयको ध्यानाकर्षण गराईरहेका छौं । तर अहिलेसम्म नतिजा आएको छैन । उद्योगीले सहज रुपमा स्वदेशी काठ पाउने हो भने धेरै सहज अवस्था बन्थ्यो ।

फर्निचर व्यवसायीहरुले नेपालकै काठ उपभोग गर्न पाएमा, फर्निचरजन्य उत्पादनको बजार मूल्यमा कस्तो असर पर्छ ?

यदि हामीहरुलाई बनमा कुहिएर गइरहेको काठ सहज रुपमा उपलब्ध गराईदिने हो भने पहिलो कुरा आयातमा धेरै कमी आउँछ । अर्कातिर त्यो काठले रोजगारी बढाउँछ भने आयात गर्दा लाग्ने लागतभन्दा सस्तोमा काठ पाइन्छ । यस्तो हुँदा अहिलेको तुलनामा बजारमा २५ प्रतिशतसम्म मूल्य तल झर्न सक्छ । यस्तो हुने हो भने आयातमा खर्च बन्द हुँदा विदेशी मुद्राको सञ्चितीमा सकरात्मक असर पर्छ भने अन्य चक्रले उपभोक्तासम्म नगद प्रवाहमा सजिलो पनि बनाउँछ । त्यसैले मूल्य घट्ने मात्र होइन कि आर्थिक कृयाकलापलाई पनि चलायमान बनाउँदा पुग्ने योगदानको महत्व झनै ठूलो हुन्छ भन्ने मेरो बुझाई हो ।

तपाईको मात्र नभई अन्य उद्योगीको कारखानाको स्केलअपसँगैको बजारलाई कसरी विश्लेषण गर्नुहुन्छ ?

दिनप्रति दिन प्रतिस्पर्धा बढ्दै गएको छ । साथसाथै आयातित वस्तुहरुमा भन्सार बढ्दै गएको छ । हाम्रो कारखाना लेबर–इन्टेन्सीभ कारखाना हो । अहिले दक्ष जनशक्तिको अभाव र पाएकाहरुलाई पनि धेरै लगानी गर्नुपर्ने अवस्थाले उद्योगहरु समस्यामा छन् । खोजेको बेला कामदार नपाउने समस्यासँगै मेरो उद्योगकै कुरा गर्नुहुन्छ भने फम उत्पादनका लागि आवश्यक पर्ने कच्चा पदार्थ नेपालमा पाइँदैन । यसको कच्चा पदार्थ पूर्ण रुपमा आयात नै गर्ने हो । पछिल्लो समय स्वदेशी उत्पादनको बजार हिस्सा धेरै भईरहेका बेला उपझोक्ताको चाप पनि बढेको छ । केही वर्ष यताको अर्थिक मन्दी, यसको सुधारका लागि चालिएका कदम र नीतिगत व्यवस्थाले भने समग्र बजार र उद्योग व्यवसाय प्रभावित भएका छन् । यो दीर्घकालसम्म लम्बिँदैन होला भनेर आशावादी छौं । अवस्था सहज भएको खण्डमा बजार बिस्तार तिब्र हुन्छ जस्तो लाग्छ ।

तपाईको फम उद्योगको उत्पादन क्षमता र अहिले भईरहेको उत्पादनमा कति अन्तर छ ?

दिनमा ४ हजार केजी उत्पादन हुँदै आएको छ । उद्योगको क्षमता पनि प्रतिदिन ४ केजी नै हो । चिसोको बेलामा फमको माग बढ्छ । अरुबेलामा पनि सामान्य अवस्थामा नै बिक्री भइरहेको हुन्छ । अत्यावश्यक सामान जस्तै भयो नि सोफा अहिले, उद्योगहरु पनि बढिरहेका छन्, यसले मेरो उद्योगलाई धेरै असर पारेको छैन । तर कारोबार समयमा राफसाफ नहुँदा झन् ठूलो समस्या मेरो उद्योगले भोगिरहेको छ । उधारोमा सामान दिनै पर्यो, पैसा उठ्ने कहिले हो थाहा छैन । यस्तो हुँदा खल्तीको पैसा उत्पादित फमको रुपमा बजारमा छरिएको छ, यो पक्कै यो सुखद कुरा होइन ।

उद्योग स्थापनाको १२ वर्षेको अवधिलाई कसरी स्मरण गर्नुहुन्छ ?

कम्पनी सुरु गर्दा प्रतिदिन २ हजार किलो उत्पादन क्षमता थियो । तर समयसँगै फमको मागमा पनि वृद्धि हुँदै गयो, र हामीले क्षमता बढा्रएर प्रतिदिन ४ हजार किलो उत्पादन गर्न सक्ने भयौं र उत्पादन गरिरहेका छौं । बजारमा सबै उत्पादन गइरहेको छ । अनुभवका आधारमा भन्नु पर्दा पछिल्लो ३ वर्षयता कुनै–कुनै बेला उद्योग नै बन्द गर्नु जस्तो हुन्छ । सामानको माग छ, उधारोमा मात्र माग आउँछ । सामान नदिउँ, उद्योग बन्द हुन्छ । दियो, महिनौसम्म भुक्तानी आउँदैन । यसले मनोबाल कमजोर भएको छ ।

यो समस्याभन्दा अघिका दिनमा जब उद्योगको उत्पादन क्षमता बढाइयो, लाग्थ्यो अब कुनै समस्या हुँदैन । आफूले सोचे जसरी बजारमा उत्पादन पठाउन पाइन्छ भन्ने उत्साह थियो । जुन, अहिले छैन ।

फम उत्पादन गर्ने उद्योगीहरुको अवस्था कस्तो छ, प्रतिष्पर्धीहरु कति छन् ?

नेपालभर फम उत्पादन गर्ने उद्योगको संख्या २५ हाराहारी छ । सबै उद्योग पूर्ण रुपमा सञ्चालनमा छन् । यी उद्योगले उत्पादन गर्नेभन्दा बढी फम बजारले मागिरहेको अवस्थामा बजारको चिन्ता आजका दिनसम्म छैन । फमको कच्चा पदार्थ आयात गर्नुपर्ने बाध्यता सबैलाई छ । अघि भनेजस्तै समस्या उधारो कारोबारको हो । यो समस्या मेरो मात्र होइन सबै उद्योगको साझा समस्या हो ।

संघमा लामो समयसम्म आबद्ध रहँदा सम्पूर्ण व्यवसायीहरुले गर्ने दुखेसो वा समस्या के-के देख्नु भयो ?

सबैभन्दा ठूलो र सबैले भनदै आएको एउटा समस्या चाहिँ कामदार र घरभाडा हो । घरभाडा भन्नाले कसैले महिनाको १ लाख तिरेर पसल गर्दै आएको छ भने अर्को पसले आएर मैले १ लाख ५० हजार तिर्छु भन्यो भने घरधनीले हामीलाई अहिले बाहिर निकाल्ने चलन बढिरहेको छ । यो व्यवसायीहरुले भोग्दै आएको ठूलो समस्या हो । घरभाडालाई लिएर जुन अनुशासन हुन जरुरी थियो, त्यो हुन नसक्दा यस्तो समस्या आइरहेको छ । घरधनी र पसलेबीच सम्झौता हुँदा एक साझा विन्दुमा पुग्न नसक्दा पनि यो समस्या देखिने गरेको छ ।

हाम्रो अर्को ठूलो समस्या हो–दक्ष कामदारको कमी हो । फर्निचर तथा फर्नीसिङको क्षेत्रमा काम गर्नका लागि आवश्यक पर्ने दक्ष कामदारको सङ्ख्या एकदम थोरै छ । जसका कारण कामदारका लागि समेत बार्गेनिङ चलिरहेको छ । कुनै एक कामदारले २५ हजारमा काम गरिरहेको छ भने अर्को कामदारले ३० हजार दिन्छु भन्यो भने अर्को ठाउँमा कामदार जान्छन्, यसले दक्षता नभई मोलमोलाई मात्र बढिरहेको छ ।

राज्य संयन्त्रका नीति नियमका विषयमा हामीभन्दा तपाईलाई धेरै जानकारी हुने अवस्था बनिसक्यो । बैंक व्याजदर होस्, कच्चा पदार्थमा लाग्ने उच्च भन्सार, छिनछिनमा हुने नीगित परिवर्तन लगायतले पारेका असरलाई राज्यले नै हेरविचार गरेर उद्योग व्यवसायको संरक्षण र प्रवद्र्धन गर्नुपर्ने हो, त्यसो हुन सकिरहेको छैन ।

नेपालमा दक्ष कामदार नहुँदा बाहिरी देशबाट कति कामदार आउने गरेका छन् ?

नेपाल बाहिर भारतबाट कामदारहरु आउने गरेका छन् । तर उनीहरुको माग नै धेरै हुँदा हाम्रो स्केलको उद्योगले उनीहरुलाई हायर गर्न सक्दैन । आजको दिनमा फर्निसिङ नेपालमा ५ प्रतिशतको सङ्ख्यामा बाहिरबाट आएका दक्ष कामदारहरु पनि हुनुहुन्छ । मेरो बुझाईमा विदेशी कामदारका माध्यमबाट पनि ठूलो रकम बाहिर गइरहेको छ । यो विषय धेरै महत्वपुर्ण हो जस्तो लाग्छ । के—के मात्र आयात गर्ने ? सम्भव भएका विषयलाई देशमा नै तयार गर्न सके देशको पैसा बाहिर जाने थिएन ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।