डिजिटल कारोबार बढ्दा चलन चल्तिका नोट २२ अर्बले घट्यो, केन्द्रीय बैंकको सञ्चिति १५ अर्ब थपियो

0
Shares

चालु आर्थिक वर्षको दुई महिनामा अर्थात साउन र भदौमा मात्रै २२ अर्ब ३४ करोड २३ लाख रुपैयाँ बराबरका चलन चल्तिमा रहेका नोट घटेका छन् । केन्द्रीय बैंकले मौद्रिक व्यवस्थापन मार्फत बजारका नोट खिच्नुका साथै डिजिटल बैंकिङको प्रयोग बढेसंगै चलन चल्तिमा रहेका नोट घटेका हुन् ।

मोवाइल बैंकिङ इन्टरनेट बैंकिङ, वालेट र क्यूआर पेमेन्ट बढेको छ । गत असार महिनाको तुलनामा साउन महिनामा मात्रै क्यूअर पेमेन्ट १५.२६, मौवाइल बैंकिङ ८.२२, इन्टरनेट बैंकिङ २.७५, वालेट ६.६४ र इकर्मसमा कार्डको प्रयोग गरी अनलाइन भुक्तानी १४.३४ प्रतिशतले बढेको केन्द्रीय बैंकले जनाएको छ ।

चालु आर्थिक वर्षको भदौ महिनामा पनि डिजिटल प्लेटफर्म मार्फतको कारोबार सोही अनुपातमा बढेको हुनाले चलन चल्तिका नोट घटेको राष्ट्र बैंकका अधिकारीको भनाई छ । त्यसका साथै नेपाल राष्ट्र बैंकमा सरकार तथा बैंक तथा वित्तीय संस्थाको निक्षेप बढेको हुनाले पनि चलन चल्तिका नोट घट्नमा मद्दत गरेको हो ।

अर्थतन्त्रको विस्तार, सरकारी खर्चको भुक्तानी तथा चाडवाडको सिजनले पनि चलन चल्तिका नोट बढ्ने घट्ने हुने केन्द्रीय बैंकका सहायक प्रबक्ता डा. डील्लीराम पाखेरेलले बताए । उनले साउन र भदौ महिनामा घटेको भएपनि असोज तथा कात्तिकमा दशैंका कारण बढ्न सक्ने बताए । हरेक वर्ष दशै र तिहारको अवसरमा करिब ३५ देखि ४० अर्ब रुपैयाँ बरावरका नोट बजारमा पठाउने गरेको जानकरी उनले दिए ।

नेपाल राष्ट्र बैंकका अनुसार २०८० असारसम्ममा ६ खर्ब २५ अर्ब ७८ करोड ७८ लाख रुपैयाँ बराबरका नोट चलन चल्तिमा थिए । साउन र भदौ महिना २२ अर्ब भन्दा धेरैले घटेर २०८० भदौ ३१ गतेसम्म ६ खर्ब ३ अर्ब ४४ करोड ५५ लाख रुपैयाँमा झरेको छ । औपचारिक अर्थतन्त्रमा डिजिटल बैंकिङ कारोबार बढेपनि अनौपचारिक कारोबार भने नगदमै हुने गरेको छ । त्यसले गर्दा पनि डिजिटल बैंकिङ प्रयोग अनुसार चलन चल्तिका नोट घट्न सकेका छैनन ।

चालु आर्थिक वर्षको भदौसम्ममा विदेशी मुद्राको सम्पत्ति समेत बढेको छ । गत असार अन्तिममा विदेशी मुद्राको सम्पत्ति १४ खर्ब ४४ अर्ब रहेकोमा पछिल्ला २ महिनामा बढेर १५ खर्ब २ अर्ब पुगेको छ ।

केन्द्रीय बैंकसंग चालु आवको भदौसम्ममा बैंक तथा वित्तीय संस्थाको निक्षेप २ खर्ब ६८ अर्ब रुपैयाँ रहेको छ । सो अवधिमा सरकारी निक्षेप १ खर्ब ६५ अर्ब रहेको केन्द्रीय बैंकले जनाएको छ । अन्य संस्थाहरुको निक्षेप १८ अर्ब रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी चालु आर्थिक वर्षको भदौ महिनासम्ममा सरकारी ऋणपत्रमा लगानी ५४ अर्ब २१ करोड रहेको छ भने बण्ड र टर्म डिपोजीटमा लगानी ६ अर्ब ५३ करोड रुपैयाँ रहेको केन्द्रीय बैंकले जनाएको छ ।

चालु आर्थिक वर्षको २ महिनाको अवधिमा केन्द्रीय बैंकको सञ्चिति करिब १५ अर्बले बढेको छ । गत असार अन्तिमसम्ममा ४ अर्ब ८५ अर्ब रहेको केन्द्रीय बैंकको सञ्चिति ५ खर्ब पुगेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।