चालु आवमा नेपालले ३.९% को आर्थिक वृद्धि हासिल गर्ने विश्व बैंकको प्रक्षेपण

0
Shares

विश्व बैंकले नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशतले पुग्ने प्रक्षेपण गरेको छ । आयात प्रतिबन्ध फुकुवा गर्नु, पर्यटन क्षेत्रमा देखिएको बढ्दो उत्साह र मौद्रिक नीति खुकुलो बनाउनु लगायतका कारणहरु देखाउँदै विश्व बैंकले आर्थिक वर्ष २०८०/८१ मा नेपालको वृद्धिदर ३.९ प्रतिशत पुग्ने प्रक्षेपण गरेको हो ।

आज सार्वजनिक भएको ‘नेपाल विकास अपडेट’ निर्यातको प्रतिस्पर्धात्मकता पुनस्र्थापना’ प्रतिवेदनमा विश्व बैंकले आगामी आवमा नेपालको वृद्धिदर ५ प्रतिशतले बढ्ने प्रक्षेपण गरेको छ । तथापि अनियमित वर्षाका कारण कृषि उत्पादनमा हुनुसक्ने क्षति, भारतले चामल निर्यातमा लगाएको प्रतिबन्ध र पछिल्ला दिनमा आकाशिएको मूल्यवृद्धि र उच्च मुद्रास्फिति नियन्त्रण गर्न केन्द्रीय बैंकले बढाउने नीतिगत दर, आन्तरिक ऋण व्यवस्थापनमा हुनसक्ने ढिलासुस्ती लगायतका जोखिमहरू पनि विद्यमान रहेको प्रतिवेदनमा उल्लेख छ ।

गत आवमा नेपालको कूल निर्यात कुल गार्हस्थ्य उत्पादनको ६.९ प्रतिशत थियो जुन दक्षिण एसियाका मध्यम आय भएका देशहरूको औसतको एक तिहाइ मात्रै हो । प्रतिवेदनमा नेपालको निर्यात न्यून हुनु पछाडि कमजोर आन्तरिक उत्पादकत्व, डलर विरुद्ध नेपाली रुपैयाँको कमजोर प्रद्र्धशन र कृषि, उद्योग तथा सेवा क्षेत्रमा दक्ष जनशक्तिको अभाव कारक तत्व रहेको उल्लेख गरेको छ ।

यसै बीच नेपाल, श्रीलंका तथा माल्दिभ्सका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद–जर्भोस भन्छन्, “चुनौतिहरूका बावजुद नेपालले आफ्नो दीर्घकालीन आर्थिक पुनरूत्थानलाई आकार दिन हरित, उत्थानशील तथा समावेशी विकास नीतिको कार्यान्वयनतर्फको कदम जारी राखेको छ ।”

मूल्य र गुणस्तर दुवैका हिसाबले नेपालको निर्यात थप प्रतिस्पर्धात्मक बनाउनका लागि मुख्य शक्ति नै बाह्य प्रतिस्पर्धात्मकतामा सुधार रहेको र त्यसका लागि घरेलु उत्पादनमा वृद्धि र नेपालका व्यापार साझेदारसँगको मुद्रास्फिति अन्तर घटाउने प्रयासमा विशेष जोड दिनुपर्ने फारिस हदाद–जर्भोसले बताए ।

नेपाल विकास प्रतिवेदन आजै सार्वजनिक भएको ‘दक्षिण एसिया विकास अपडेट’  टुवार्ड फास्टर, क्लिनर ग्रोथ’ को एक हिस्सा हो । दक्षिण एशिया क्षेत्रको वृद्धिदर ५.८ प्रतिशत हुने अनुमान गरेको छ । यो वृद्धिदर विश्वका अन्य कुनै पनि विकासशील क्षेत्रको तुलनामा उच्च हो । तथापि यो वृद्धिदर कोभिड–१९ महामारी अगाडिको रफ्तार र विकास लक्ष्यहरू हासिल गर्न आवश्यकभन्दा भने कम हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।