राष्ट्रिय गौरवको आयोजना तामाकोशीलाई हकप्रद बेच्न मुस्किल, कुल निष्कासनको २५% मात्र बिक्यो

0
Shares

राष्ट्रिय गौरवको आयोजनको रुपमा सूचीकृत भई निर्माण सम्पन्न भएको अपर तामाकोशीको हकप्रद २५ प्रतिशत मात्र बिक्री भएको छ । शतप्रतिशत हकप्रद निष्कासन गरेको कम्पनीको बिक्री खुला भएको २९ दिनसम्ममा अझै ७५ प्रतिशत हकप्रद खरिदका लागि आवेदन नपरेको हो ।

सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार असोज १७ गते बुधबार बिहान १० बजेसम्ममा २ लाख ४३ हजार ९५६ वटा आवेदन मार्फत २ अर्ब ६७ करोड ८० लाख ५३ हजार १०० रुपैयाँ बराबरको २ करोड ६७ लाख ८० हजार ५३१ कित्ताका लागि आवेदन परेको हो । यो सेयर संख्या कम्पनीले बिक्रीमा ल्याएको हकप्रद १० करोड ५९ लाख कित्ताको २५.२९ प्रतिशत बराबर हो ।

यस आधारमा अबको एक साताभित्रै हकप्रद बिक्री बन्द हुँदैछ तर अहिले खरिद भएको तुलनामा कम्पनीको ठूलो परिमाणको हकप्रदमा अवितरित हुने सम्भावना देखिएको छ । कम्पनीले भदौ १८ गतेदेखि हकप्रद बिक्री खुला गरेको थियो । चुक्ता पुँजीको १ बराबर एक अनुपातमा १० अर्ब ५९ करोड रुपैयाँको सेयर बिक्री खुला गरिएको हो ।

म्याद थपेको दश दिनसम्मको तथ्याङ्क अनुसार कुल सेयर संख्याको ३७.७२ प्रतिशत (२ लाख ४३ हजार ९५६ जना) सेयरधनीले मात्र हकप्रद भरेका छन् । अझै ६२.२८ प्रतिशतले हकप्रदमा आवेदन नदिनुले कम्पनीको हकप्रद भर्न लगानीकर्ताको अरुची रहेको प्रष्टै देखिन्छ । गत भदौ ६ गते सम्पन्न प्रन्धौं वार्षिक साधारण सभाका तथा हकप्रद निष्सकान प्रयोजनका लागि कम्पनीले भदौ २६ गते बुकक्लोज गरेको थियो ।

कक्लोजसम्म अपर तामाकोशी हाइड्रोपावरमा ६ लाख ४६ हजार ८२४ जना सेयरधनी छन् । जसमध्ये ४ लाख २ हजार ८६८ जना सेयरधनीले मात्र आवेदन दिएका हुन् । कम्पनीको हकप्रदमा बुधबार सहित अबको ६ दिनसम्म अर्थात असोज २२ गतेसम्म आवेदन दिन पाइनेछ । पहिलो चरणमा असोज ७ गतेसम्म (२० दिन) अन्तिम म्याद राखेको हकप्रद बिक्री खुला गरेको कम्पनीले प्रयाप्त आवेदन नपरेपछि १५ दिन समय थपेर ३५ दिन (असोज २२ गते) पुर्याएको थियो ।

लगानीकर्ताले सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले विकास गरेको मेरो सेयरको मोबाइल एप, मेरो सेयर वेवसाइट, नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट पनि आवेदन दिन सकिनेछ ।  यसका साथै माथिल्लो तामाकोशी जलविद्युत केन्द्र, नागरिक लगानी कोष, सनराइज क्यापिटल, लक्ष्मी सनराइज बैंक, प्रभु बैंक, सिटिजन्स बैंक, सिन्धु विकास बैंक, कृषि विकास बैंक, नेपाल बैंक, महालक्ष्मी विकास बैंक, कुमारी बैंक, सिद्धार्थ बैंक, हिमालयन बैंक, प्राइम कमर्सियल बैंक तथा सानिमा बैंकका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

किन भरेनन् हकप्रद ?

दोलखाको विगु गाउँपालिकामा राष्ट्रिय गौरवको आयोजनाको रुपमा सञ्चालित ४५६ मेगावाट क्षमताको उक्त आयोजनाको निर्माण लागत उच्च हुँदा नै हकप्रदमा आवेदन दिन सेयरधनीले अरुचि देखाएका हुन् ।

यस्तै अर्कोतर्फ कम्पनीको दोस्रो बजारमा सेयमूल्य प्रतिकित्ता २०० रुपैयाँमा झरिसकेको छ। कम्पनीले बिक्रीमा ल्याएको १० करोड कित्ता सेयर सूचीकृत हुँदा अधिक आपूर्ति र न्यून मागका कारण कम्पनीको सेयरको भाउ अझै तल झर्ने हुँदा लगानीकर्ताले हकप्रदमा मोटो रकम खर्चनुभन्दा दोस्रो बजारमा खरिद गर्दा सहज हुने आंकदनका कारण समेत कम्पनीको हकप्रदमा न्यून आवेदन परेको हो ।

कम्पनीको सेयरमूल्य २०७८ साउन २७ गते प्रतिकित्ता ९६२ रुपैयाँ ५० पैसासम्म खरिद बिक्री भएको थियो । सोही कम्पनीको सेयर बुधबार २१३ रुपैयाँमा खरिद बिक्री भैरहेको छ । कम्पनीको सेयर न्यूनतम १९७ रुपैयाँसम्म झरेर कारोबार भैसकेको छ ।

हकप्रद निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा रेटिङ्ग नेपालले कम्पनीलाई ‘इक्रा आईआर डबल बी’ रेटिङ्ग प्रदान गरेको छ । यो रेटिङ्ग प्राप्त संस्था समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ । साख मूल्याङ्कनमा समेत सबल रेटिङ्ग नपाएको कम्पनीको हकप्रदमा लगानीकर्ताले थप लगानी गर्न चाहेको देखिँदैन ।

ब्याज सहित ४९ अर्बमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको राष्ट्रिय गौरवको अपर तामाकोशी जलविद्युत आयोजनाको लागत ९० अर्ब हाराहारीमा पुगेको थियो । सोमध्ये गत चैत मसान्तसम्ममा सरकारको दुई तथा अन्य संस्थाहरुको ५ कित्ता साँवाँ तथा ब्याज भुक्तानी गरेको कम्पनीले जनाएको छ । नेपाल सरकारको दीर्घकालिन ऋण भुक्तानी गर्नका लागि १५ वर्षे योजना अन्तरगत ३० वटा किस्ता वापत भुक्तानी गर्ने तालिका बनाएको छ । कम्पनीले अल्पकालिन ऋण ६ अर्ब रुपैयाँ लिएको छ भने दिर्घकालिन ऋण ७३ अर्ब १५ करोड रुपैयाँ गरी कुल ७९ अर्ब १५ करोड रुपैयाँ ऋण लिएको छ । हाइड्रोपावरले ७९ अर्ब १५ करोड ३८ लाख रुपैयाँ ऋण तिर्न बाँकी छ । हकप्रद बिक्रीबाट प्राप्त हुने साढे दश अर्ब रुपैयाँ नेपाल विद्युत प्राधिकरण, नबिल बैंक, हाइड्रोनेइलेक्टीसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, रिटेन्शन मनी भुक्तानी, रोलवालिक खोला जलविद्युत आयोजना कम्पनीलाई ऋण तिर्ने छ ।

अपर तामाकोशीले गत आवमा ८ अर्ब विद्युत बेचेको देखिन्छ । सो आधारमा सेयरधनीहरुले लाभांश पाउन एक दशक भन्दाबढी समय लाग्ने देखिएको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ३ अर्ब ७५ करोड ८९ लाख रुपैयाँ नोक्सानीमा पुगेको छ । वित्तीय खर्चमा भएको उच्च वृद्धिले कम्पनीको नोक्सानी अघिल्लो आवको तुलनामा १ अर्ब ४४ करोड ४० लाख रुपैयाँले बढेको हो । अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको नोक्सानी २ अर्ब ३१ करोड ४९ लाख रुपैयाँ थियो । गत असार मसान्तसम्म कम्पनीको सञ्चित कोष नोक्सानी ६ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ । कम्पनीको खुद नाफा सो अवधिमा ऋणात्मक छ ।

कम्पनीको अवस्था र तथ्याङ्क आधारमा लगानीकर्ताले प्रतिफल पाउनको लागि एक दशक नै कुर्नुपर्ने देखिएको छ । कम्पनीले सेयर जारी गरेको झण्डै एक दशक भैसकेको छ भने सर्वसाधारणमा जारी गरेको पनि पाँच वर्ष पुगेको छ । कम्पनीले सञ्चय कोषका सञ्चयकर्ता, ऋणदाता कम्पनीका कर्मचारी र विद्युत प्राधिकरणका कर्मचारीका लागि २०७१ फागुनमा आईपीओ जारी गरेको थियो । यस्तै दोलखाका स्थानीय बासिन्दाका लागि २०७५ साउन महीनामा तथा सर्वसाधारणमा २०७५ कार्तिक १५ देखि बिक्रीमा ल्याएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।