लगानी सम्मेलनमा प्रस्तुत भएका १४ परियोजनाको पूर्वयोग्यता मूल्यांकन सम्पन्न


लगानी सम्मेलनमा प्रतिवद्धता गरिएका १४ परियोजनाको पूर्व योग्यता मूल्यांकन सकेर लगानीकर्ताको संक्षिप्त सूची तयार गरिएको छ । लगानी बोर्डले सम्मेलनमा प्रस्तुत गरिएका ५०सार्वजनिक परियोजना मध्ये करिब ११ खर्ब ८८ अर्ब रुपैयाँ बरावरको १४ बटा योजनाहरुको लगानीको सूची तयार गरेको हो ।

ती मध्ये ७ सय ५६ मेगावाटको तमोर जलाशययुक्त जलविद्युत परियोजनाको विस्तृत सम्भाव्यता अध्ययनका लागि कम्पनी समेत छनोट भएको शुक्रबार पत्रकारसम्मलेन गर्दै बोर्डले जानकारी दिएको छ ।

बोर्डका अनुसार १० अर्ब ५४ करोड रूपैयाँको गाडी एसेम्बल्डका लागि लगानी प्रतिवद्धता गरेको मोट्रेक्स कम्पनीसँग परियोजना लगानी सम्झौतामा प्रारम्भिक हस्ताक्षर भएको छ । त्यसैगरी बोर्डले प्रदेश १ को दमकमा करिब ६४ अर्ब ६१ करोड रूपैयाँ लागत रहेको चाइना नेपाल फ्रेन्डसिप पार्क निर्माणमा समेत समझदारी भएको जनाएको छ ।

त्यस्तै विराटनगर, वीरगंज र भैरहवामा निर्माण हुने करिब १३ अर्ब रूपैयाँ कुल लागतको मल्टीमोडल लजिस्टिक पार्कको विस्तृत सम्भाव्यता अध्ययनका लागि दुई छुट्टाछुट्टै कम्पनीसँग समझदारी भएको बोर्डले जनाएको छ । बोर्डका अनुसार प्रस्ताव आह्वान नगरिएका परियोजनामा प्राप्त प्रस्तावहरूमध्ये १० वटा परियोजनाहरू कार्यान्वयनको चरणमा रहेको बोर्डले जनाएको छ ।

त्यसैगरी बोर्डले प्रस्ताव आह्वान नगरेका परियोजनामा प्राप्त १५ आवेदन मध्ये १० वटा परियोजनाहरुको कार्यान्वयनको लागि अध्ययनको चरणमा रहेको बोर्डले जनाएको छ । यी परियोजनाहरु वढेसंगै देशको उजौ, उद्योग, यातयात तथा कृषि लगायतका क्षेत्रका पुर्वाधार विकासमा सहयोग पुग्ने विश्वास बोर्डले लिएको छ । बोर्डले सम्मेलनको क्रममा हस्ताक्षर भएका १६ वटा समझदारीहरु समेत कार्यान्वयन भैरहेको जनाएको छ ।

बोर्डले हाल करिब ५६५ अर्ब रुपैयाँ कुल परियोजना लगात भएका ९ वटा विभिन्न क्षेत्रका परियोजनाहरु कार्यान्वयन तथा सहजीकरण गरीरहेको जनाएको छ । त्यसमध्ये १०४ अर्ब रुपैयाँ लागतको अरुण तेस्रो जलविद्युत परियोजनाको बाँध, विद्युत गृह तथा सुरुङ जसता महत्वपुर्ण संरचना निर्माणमा करिब एक तिहाइ काम पुरा गरिसकेको बोर्डले जनाएको छ ।