विश्व गोल्ड काउन्सीलले सार्वजनिक गरेको तथ्यांक अनुसार सन् २०२३ मा विश्वभरका अधिकांश केन्द्रीय बैंकहरुले सुनको सञ्चिति बढाएका छन् । आखिर किन केन्द्रीय बैंकहरुले विदेशी विनिमय सञ्चिति बढाउँदै छन् जान्नका लागि अन्त्यसम्म पढ्नुहोस्:
सन् २०२३ को तेस्रो त्रैमास (सेप्टेम्बर) सम्ममा मात्रै विश्वका विभिन्न केन्द्रीय बैंकहरुले ८०० टन सुन खरिद गरेका छन् । जुन सन् २०२२ को सोही अवधिको तुलनामा १४ प्रतिशतले धेरै हो । सन् २०२२ को तेस्रो त्रैमासम्ममा विश्वका केन्द्रीय बैंकहरुले ७ सय एक टन सुन खरिद गरेका थिए ।
यसरी सुन खरिद गरिरहेका देशहरुको शीर्षस्थानमा चीन रहेको छ । चीनले मात्रै १८१ टन सुन खरिद गरेको छ । यससँगै हाल चीनको केन्द्रीय बैंकमा सुनको सञ्चिति २ हजार १९२ टन पुगेको हो ।
सामान्यत: अन्तराष्ट्रिय व्यापारमा डलर प्रयोग हुने गरेको छ । विश्वका अधिकांश केन्द्रीय बैंकहरुमा जम्मा भएको विदेशी विनिमय सञ्चितिमा डलर शीर्षस्थानमा छ । केन्द्रीय बैंकहरुले विदेशी सञ्चितिमा डलर, पाउन्ड, येन, युवान, भारु लगायतका मुद्रा र सुन, चाँदी लगायतका बहुमुल्य धातुको सञ्चिति गर्ने गरेका छन् । अन्तराष्ट्रिय व्यापारको मुद्रा डलर भएका कारण बैंकहरुमा डलरको सञ्चिति अरु मुद्राहरुको तुलनामा बढी हुने गरेको हो ।
पछिल्लो समयमा केही देशहरुले अन्तराष्ट्रिय व्यापारमा प्रयोग हुँदै आएको डलरलाई विस्थापित गर्ने तयारी गरिरहेका छन् । डलरले अन्तराष्ट्रिय व्यापारमा एकाधिकार जन्माउँदा गरिब मुलुकहरुको क्रयशक्ति कमजोर हुँदै गएको छ भने निम्न आय भएका मुलुकहरुको आर्थिक अवस्थामा सुधार आउन सकेको छैन ।
सन् २०२२ को फेब्रुअरी महिनामा रुसले युक्रेनमा आक्रमण गरेपछि विश्वव्यापी रुपमा खाद्यान्न र पेट्रोलियम पदार्थको मूल्य आकाशिन पुग्यो । मुद्रास्फीति नियन्त्रणका लागि अमेरिकी केन्द्रीय बैंक–फेडरल रिजर्भ (फेड)ले ब्याजदर बढाउँदा डलरको भाउ आकाशियो ।
यसरी विश्वका अधिकांश मुद्राहरुको क्रयशक्ति कमजोर हुँदै गयो । फेडले मुद्रास्फीति नियन्त्रणका लागि आक्रामक शैलीमा ब्याजदर बढाउँदा सेयरबजारमा सेलअफको श्रृङ्खला नै चल्यो, भर्खर किशोर अवस्थामा प्रवेश गरेको क्रिप्टोकरेन्सीले युवा अवस्था देख्न पाएन । यसरी त्रसित बनेका लगानीकर्ताहरुले सुरक्षित लगानीका रुपमा डलरमा लगानी गर्न सुरु गरे । यसरी डलरको माग बढ्दै जाँदा डलरको भाउ आजका दिनसम्म बढ्दै गएको छ । तर, विश्वका केन्द्रीय बैंकहरुले डलरलाई काउन्टर गर्ने औजारको रुपमा सुनलाई प्रयोग गर्दै आएको छन।
सन् २०२३ मा विश्व आर्थिक अवस्था अन्योलता तर्फ ढल्किने भनी विभिन्न समयमा अन्तराष्ट्रिय मुद्रा कोष (आइएमएफ), विश्व बैंक, एशियाली विकास बैंक (एडिबी) लगायतका संस्थाहरुले जानकारी दिँदै आएका छन् । यसरी डलरलाई काउन्टर गर्न र डलरको एकाधिकार तोड्न चीन, रुस, ब्राजिल, दक्षिण अफ्रिका लगायतका देशहरुले अन्तराष्ट्रिय व्यापारमा डलरको एकाधिकार तोड्नका लागि स्थानीय मुद्रामा व्यापार गर्नुका साथै नयाँ मुद्रा विकास गर्ने तयारी समेत गरि रहेका छन् ।
यसै अनुरुप यी देशहरुले पछिल्लो समयमा डलरको एकाधिकार तोड्नका लागि विदेशी विनिमय सञ्चितिमा सुनको सञ्चिति बढाउँदै गएका छन् । हाल मध्य–पूर्व र पूर्वी युरोपमा जारी रहेको युद्धको प्रभाव विश्वभर रहँदा सुन र डलरको मूल्य बढिरहेको छ । रुसले युक्रेनमा आक्रमण सुरु गरेलगत्तै अमेरिका र अमेरिकाका मितेरी राष्ट्रहरुले रुसी बैंकहरुमा भएको डलर फ्रीज गर्दै, रुसलाई डलरमा कारोबार गर्न प्रतिबन्ध लगाउँदै अन्तराष्ट्रिय भुक्तानी प्रणाली स्वीफ्टबाट समेत अलग गराएको छ । जसको प्रतिकार स्वरुप रुसले रुसी रुबल मै कारोबार सुरु गरेको छ ।
यस्तै पछिल्लो समयमा अमेरिका र चीनको सम्बन्ध चिसिँदै गएको छ । अमेरिकाले चिनियाँ चीप खरिदमा समेत प्रतिबन्ध लगाएको छ । यसरी रुस र अमेरिकाबीचको बढ्दो तनाव, अमेरिका र चीनबीचको बढ्दो प्रतिस्पर्धा र तिक्ताले पनि डि–डलराइजेसनको अवधारणालाई द्रुत गतिमा अघि सारेको छ । जसकारण चीनले सुनको सञ्चितिलाई बढाइरहेको छ ।
भूराजनीतिक तनाव बाहेकको कारण उल्लेख गर्दा सुनलाई सुरक्षित लगानीको रुपमा ब्याख्या गरिन्छ । जसकारण सुनमा लगानी गर्दा राम्रो प्रतिफल पाउने आशामा बैंकहरुले सुनको सञ्चिति बढाएको मान्न सकिन्छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया