बैंकहरुको उठ्न बाँकी ब्याज र खुद नाफा बराबर, बैंकिङ क्षेत्रको जोखिम बढ्दै


चालु आर्थिक वर्षको पहिलो त्रैमासमा वाणिज्य बैंकहरुको खुद नाफा र उठ्न बाँकी रहेको ब्याजको आकार बराबरीको अवस्थामा पुगेको छ । चालु आवको पहिलो त्रैमासमा बैंकहरुले करिब साढे १३ अर्ब खुद नाफा गर्दा सोही अनुपातमा ब्याज उठ्न बाँकी रहेको देखिएको हो।

बैंकहरुको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार गत असोजसम्म उठ्न बाँकी रहेको ब्याज १३ अर्ब २ करोड ९० लाख रुपैयाँ रहेको छ । यो रकम गत आवको सोही अवधिको तुलनामा ९७.२८ प्रतिशतले धेरै हो । गत आवको सोही अवधिमा बैंकहरुको उठ्न बाँकी ब्याज रकम ६ अर्ब ६० करोड ४२ लाख रुपैयाँ थियो।

नेपाल वित्तीय लेखामान प्रतिवेदन अनुसार पाकेको ब्याज नउठको भएपनि आम्दानीमा देखाउन पाइने व्यवस्था छ । सो अनुसार बैंकहरुले उठ्न बाँकी रहेको ब्याजलाई पनि आम्दानी देखाएको अवस्था छ । बैंकहरुको नाफालाई हेर्दा उठ्न बाँकी भएको ब्याज नै नाफा रहेको देखिन्छ । त्योभन्दा बाहेक बैंकहरुले उठाएको ब्याज खर्च गरेको देखिन्छ । त्यसका साथै बैंकहरुका अन्य आम्दानीका शिर्षकहरुमा पनि खासै सुधार भएको अवस्था छैन । बैंकहरुको मूख्य आम्दानीको स्रोत नै ब्याज आम्दानी हो । तर, बैंकहरुले शुल्क तथा कमीसन, ट्रेडिङ तथा अन्य शिर्षकमा पनि आम्दानी गर्छन् । यी शिर्षकबाट हुने अम्दानीको हिस्सा न्यून हुन्छ।

अर्थतन्त्रमा देखिएको सुस्तताको असर बैंकहरुमा पनि देखिएको बैंकिङ विज्ञ विएन घर्तीले बताए । “बैंकिङ क्षेत्रमा जोखिम बढ्दै गएको देखिन्छ,” उनले भने, “बैंकिङ क्षेत्रको समस्या अझै बढ्न सक्ने देखिएको भएपनि अर्थतन्त्रले गति लिएको अवस्थामा सुधार हुने देखिन्छ।”

चालु आर्थिक वर्षको पहिलो त्रैमासको तथ्याङक प्रकाशन गर्नका लागि केन्द्रीय बैंकले दशैंलाई देखाउँदै थप समय दिएको थियो । बैंकहरुले कात्तिक १६ गतेसम्मको आम्दानीलाई रिपोर्टमा देखाउँदा पनि खर्च बराबरको आम्दानी गर्न नसकेको देखिन्छ । सामान्यतया केन्द्रीय बैंकले त्रैमास वितेको ७ दिनमा प्रतिवेदन प्रकाशित गर्न भनेको भएपनि यस पटकका लागि कात्तिक १६ गतेसम्मको समय दिएको थियो ।

अर्थतन्त्रका बाह्य क्षेत्रमा परेको दवाबलाई आयात रोकेर भन्दा पनि भन्सार दरबाट नियन्त्रण गरेको भए बैंकिङ क्षेत्रमा अहिले देखिएको जोखिम कम हुने पुर्व बैंकर भुवन दाहालले बताए । “बैंकहरुले उठ्न बाँकी ब्याजलाई आम्दानीमा देखाउन नपाएको भए नाफा नै गर्न नसकेको अवस्था देखियो,” उनले भने, “अर्थ मन्त्रालय, राष्ट्र बैंक, बैंकर र व्यवसायीहरु बसेर समस्या भएको क्षेत्रको पहिचान र सम्बोधन गरेको खण्डमा बैंकिङ क्षेत्रको समस्या लामो समयसम्म रहँदैन ।” असोज मसान्तसम्मको तथ्याङक हेर्दा बैंकहरुको डिफल्ट रेट बढ्दै गएको हुनाले खराब कर्जा बढ्ने, नाफा घट्ने, उठ्न बाँकी ब्याज बढ्ने लगायतका समस्याहरु देखिएको उनले बताए ।

चालु आवको असोजसम्ममा बैंकहरुको खुद ब्याज आम्दानी ४९ अर्ब ५६ करोड रुपैयाँ छ । यो खुद ब्याज आम्दानीमा उठ्न बाँकी रहेको ब्याजको हिस्सा २६ प्रतिशत छ । अर्थतन्त्रमा देखिएको समस्याले ऋणीको आम्दानी प्रभावित भएपछि कर्जाको सावाँ ब्याज उठ्न नसकेको हो ।

गत आवको असोजसम्मको तुलनामा चालु आवको सोही अवधिमा १७ वाणिज्य बैंकको उठ्न बाँकी ब्याज बढेको छ । सो अवधिमा हिमालयन बैंकको उठ्न बाँकी ब्याज सबैभन्दा धेरै रहेको छ ।

असोजसम्ममा हिमालयन बैंकको एक अर्ब ६८ करोड रुपैयाँ ब्याज उठ्न बाँकी छ । त्यसैगरी नेपाल इन्भेष्टमेन्ट मेगा र नबिल बैंकको पनि क्रमशः एक अर्ब ५२ करोड र एक अर्ब २७ करोड रुपैयाँ ब्याज उठ्न बाँकी छ । तर, नेपाल बैंक, प्राइम कमर्सियल बैंक र स्टाण्डर्ड चार्टर्ड बैंकको उठ्न बाँकी ब्याज भने गत आवको पहिलो त्रैमासको तुलनामा घटेको छ ।

चालु आवको पहिलो त्रैमासमा राष्ट्रिय वाणिज्य बैंकको उठ्न बाँकी ब्याज त्रैमासिक प्रतिवेदनमा उल्लेख छैन भने कृषि विकास बैंकको गत आवको सोही अवधिको यस्तो रकम उल्लेख छैन ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।