बैंकिङ क्षेत्रमा जोखिम बढेपछि बैंकर सजग,व्यवस्थापन गर्न सक्षम रहेको दाबी

0
Shares

बैंकिङ क्षेत्रमा बढ्दै गएको जोखिमलाई लिएर आत्तिन पर्ने अवस्था नभएको बैंकरहरुले बताएका छन् । बैंकहरुको नाफामा आएको गिरावट, बढेको खराब कर्जा तथा जोखिम व्यवस्थालाई व्यवस्थापन गर्न सकिने अवस्थामा रहेको उनीहरुले बताएका हुन ।

विश्व अर्थतन्त्रमा देखिएको समस्याका कारण नेपाली अर्थतन्त्र पनि प्रभावित भयो । जसले गर्दा मुद्रास्फिती उच्च दरमा बढायो । उच्च मूल्यवृद्धिका कारण समग्र बजारको मागलाई घटायो । मूल्यवृद्धि नियन्त्रणका लागि विश्वका धेरै केन्द्रीय बैंकहरुले ब्याजदर बढाए त्यसले गर्दा झनै अर्थतन्त्रमा असर पुग्यो । अर्थतन्त्रमा परेको असर नेपाली बैंकिङ क्षेत्रमा पनि देखिएको बैंकहरुको भनाई छ ।

अर्थतन्त्र मन्दीमा गएसंगै बैंकहरुको कर्जा डिफल्ट हुने दर पनि बढ्दै गयो । त्यसले गर्दा बैंकहरु औसत खराब कर्जा ३.३९ प्रतिशत पुगेको छ । त्यसैगरी कर्जा जोखिम व्यवस्था करिब दोब्बरले बढेर करिब १६ अर्ब रुपैयाँ पुगेको नेपाल बैकर्स संघका अध्यक्ष सुनिल केसीले बताए।

अर्थतन्त्रमा देखिएको सुस्तता उच्च ब्याजदर तथा मूल्य वृद्धिको असर बैंकिङ क्षेत्रमा पनि परेको बताउँदै केसीले भने,“अर्थतन्त्रको बाह्य क्षेत्रमा सुधार आएको भएपनि आन्तरिक अर्थतन्त्रले गति लिन नसकेकाले समस्या बढेको देखिन्छ ।” अर्थतन्त्रमा देखिएको समस्याका कारण बैंकिङ क्षेत्रका सूचकहरुमा देखिएको नकारात्मक प्रभावबाट आत्तिहाल्नु पर्ने अवस्था नभएको उनले बताए । “बैंकहरुको चालु आर्थिक वर्षको पहिलो त्रैमासको तथ्याङक हेर्दा सजग हुनुपर्ने अवस्था छ,” केसीले भने,“अहिले बढेको भनिएको खराब कर्जा नेट नभई ग्रोस भएकाले अझै पनि व्यवस्थापन गर्न सकिने अवस्थामा नै छ ।”

राष्ट्र बैंकले कर्जा विस्तारमा गरेको कडाइले बाह्य अर्थतन्त्रमा सुधार आएको भएपनि आन्तरिक अर्थतन्त्रले अझै पनि गति लिन नसकेको हिमालयन बैंकका प्रमूख कार्यकारी अधिकृत अशोक शम्सेर राणाले बताए । सरकारको आम्दानीको स्रोत आयातमा आधारीत भएकाले आयातमा गरिएका कडाइका कारण आन्तरिक अर्थतन्त्र समेत प्रभावित भएको उनको भनाई छ । बाह्य क्षेत्रमा आएको सुधारका कारण सरकारले आन्तरिक अर्थतन्त्रलाई गति दिने ठोस नीति अबलम्बन गर्ने अपेक्षा रहेको उनले बताए । अर्थतन्त्रलाई गति दिने विषयमा अर्थमन्त्रालय, नेपाल राष्ट्र बैंक, बैंकर्स संघ विच छलफल चलिरहेको जानकारी समेत उनले दिए । “पछिल्लो समयमा बढेको खराब कर्जा व्यवस्थापनका लागि नीतिगतबाट नै व्यवस्थापन गर्ने भनेर पनि छलफल सुरु भएको छ,”उनले भने,“बैंकिङ क्षेत्रले पनि व्यवस्थापन गर्न सक्छ ।” उनले आगामी दिनमा ब्याजदर थप नढ्ने परिवर्तन भएको खण्डमा घट्ने बताए ।

जाजरकोट भुकम्प पिडितका लागि बैंकरको ५ करोड सहयोग

शुक्रबार राती जाजरकोट केन्द्रबिन्दु भई गएको भूकम्पबाट प्रभावितहरुको लागि सहयोग गर्न बैंकहरुले करिब ५ करोड रुपैयाँ प्रदान गर्ने भएका छन् । बैंकहरुले हालसम्म ५ करोड रुपौयाँ बराबरको प्रतिवद्धता गरिसकेको नेपाल बैकर्स संघका अध्यक्ष सुनिल केसीले जनाकारी दिए । “यो रकम सबै बैंकहरुको होइन,” उनले भने,“अझै आउन बाँकी भएकाले भोलिसम्म यो रकम झनै बढ्न सक्छ ।”

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।