चौधरी फाउण्डेनले भूकम्पबाट घरविहिनका लागि ‘ट्रान्जिसनल होम’ निर्माण गरिदिने, सहकार्य गर्न विनोद चौधरीको आग्रह


चौधरी फाउण्डेसनले जाजरकोट र पश्चिम रूकुमका भूकम्प पीडितका लागि राहत वितरण कार्य जारी राखेको छ । चौधरी फाउण्डेसनको उच्चस्तरीय टिम जाजरकोट र रुकुम पुगि भूकम्प प्रभावितका लागि तत्काल अत्यावस्यक राहत सामाग्री वितरण गरिरहेको फाउण्डेसनले जनाएको छ ।

फाउण्डेसनले जाजरकोट र रूकुमका विभिन्न वस्तीका भूकम्प प्रभावितका लागि स्थानीय प्रशासनसँगको समन्वयमा राहत वितरण गरेको हो । चौधरी फाउण्डेसनले खाद्यान्न, त्रिपाल, ब्ल्याङ्केट र औषधीहरू भूकम्प प्रभावित क्षेत्रमा पु¥याएको छ । फाउण्डेसनको टिम प्रभावित क्षेत्रमै रहेर तत्काल आवस्यक पर्ने राहत व्यवस्थापन गरिरहेको र राहत वितरण कार्य जारी रहने फाउण्डेशनले जनाएको छ ।

“तत्कालको राहत व्यवस्थापनसँगसँगै भूकम्पले घरविहिन परिवारका लागि ‘ट्रान्जिसनल होम’ को खाँचो छ । भत्किएका घरहरू पुनर्निमाण गर्न समय लाग्ने र त्रिपालमुनिको बास कष्टकर हुने भएकाले जतिसक्यो चाँडो ‘ट्रान्जिसनल होम’ हरू बनाएर घरविहिन हुनु भएका भूकम्प प्रभावितहरूलाई ओतमुनि पु¥याउनु आवश्यक छ,” फाउण्डेशनले भनेको छ ।

यो अवस्थालाई मध्यनजर गर्दै चौधरी फाउण्डेसनले भूकम्प प्रभावितहरूका लागि ‘ट्रान्जिसनल होम’ निर्माण गर्ने निर्णय लिएको जनाएको छ । स्थानीय प्रशासन तथा स्थानीय पालिकाहरूसँगको समन्वयमा ‘ट्रान्जिसनल होम’हरू निर्माण गरिनेछ । यस्ता ‘ट्रान्जिसनल होम’ निर्माणका लागि आवस्यक पर्ने वित्तिय सहयोग चौधरी फाउण्डेसनले गर्नेछ भने स्थानीय निकायले सेल्टर निर्माणका लागि आवस्यक पर्ने जमिन र स्थानीय तहमै उपलब्ध सामान एवं श्रमको व्यवस्थापन गर्नेछन् । यस्तो सहकार्यले छोटो समयमा ‘ट्रान्जिसनल होम’ हरू निर्माण गर्न सकिने र प्रभावितहरूले ओत पाउने विश्वास चौधरी फाउण्डेसनको छ ।

चौधरी फाउण्डेसनका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य विनोद चौधरीले भनेका छन्, “भूकम्पका कारण जाजरकोट, पश्चिम रूकुम र कर्णाली प्रदेशका अन्य जिल्लाका नागरिकको जीवन यतिखेर कष्टकर बनेको छ । उहाँहरूको पीडामा मल्हम लगाउने काममा हामीले कत्ति पनि विलम्ब गर्नु हुदैन । यही मर्मलाई आत्मसाथ गर्दै चौधरी फाउण्डेसनले तत्काल राहतका कार्यक्रमलाई जारी राख्दै भूकम्पले घरविहिन बन्नु भएका महानुभावका लागि चिसोबाट जोगाउन छानोमुनि फर्काउने कामलाई पनि तिब्रता दिने निर्णय लिएको छ । यस जिम्मेवारी वहनका लागि हाम्रो फाउण्डेसनको टिम प्रभावित क्षेत्रमा पुगेर काम शुरू गरिसकेको छ ।”

मानवीय सेवाको यस्तो कार्यमा हातेमालो र सहकार्य गर्न पनि अध्यक्ष चौधरीले सबैलाई आव्हान गरेका छन् ।

फाउण्डेसनले पहिलो चरणमा ‘ट्रान्जिसनल होम’ निर्माणको काम पश्चिम रूकुमको चौर जहारी नगरपालिकाबाट गर्ने सहमति भईसकेको फाउण्डेशनले जनाएको छ । कात्तिक २१ गते विहान चौधरी फाउण्डेसनका प्रतिनिधि र नगरपालिकाका मेयर पुष्प वादीवीच उक्त नगरभित्र भूकम्पले घर भत्किएका ५० परिवारका लागि यथासम्भव छिटो ‘ट्रान्जिसनल होम’ निर्माण गर्ने सहमति भएको हो । उक्त सहमतिपछि मेयर वादीले भने, “भूकम्पबाट घर भत्किएका परिवारलाई जतिसक्यो छिटो ओतमा पु¥याउनु हाम्रो जिम्मेवारी हो । यो जिम्मेवारी लिन चौधरी फाउण्डेसन आफै हाम्रो आँगनमा आइपुगेको छ । हामीवीच ‘ट्रान्जिसनल होम’ बनाउने सहमति भएको छ । र, छिटोभन्दाछिटो काम सुरू गर्न हामी प्रतिवद्ध छौँ ।”

अन्य स्थानीय निकायसँगको समन्वयमा ‘ट्रान्जिसनल होम’ निर्माणको काम अगाडि बढाइने पनि फाउण्डेशनले जनाएको छ ।

चौधरी फाउण्डेसनले गोर्खा केन्द्रविन्दू भएर २०७२ साल बैशाख १२ गते गएको महाभूकम्पबाट प्रभावितहरूका लागि करिव तीन हजार ‘ट्रान्जिसनल होम’ निर्माण गरि हस्तान्तरण गरेको थियो । साथै, सिन्धुपाल्चोकको गिरानचौरका भूकम्प पीडित ६२ परिवारका लागि पक्की घर निर्माण गरि हस्तान्तरण गरेको थियो ।

भूकम्प प्रभावितका लागि २०७२ सालमा चौधरी फाउण्डेसनबाट सम्पादन भएको सफल कार्यक्रमको अनुभवले अहिलेको भूकम्प पीडितको सेवामा जुट्न सहज हुने विश्वास फाउण्डेशनले लिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।