एआईको प्रयोगले सेयर बजारमा इन्साइडर ट्रेडिङको जोखिम निम्तन सक्ने

0
Shares

सेयर कारोबारमा कृतिम बौद्धिकता (एआई) को प्रयोगले इन्साइडर ट्रेडिङको जोखिम हुन सक्ने अध्ययनले देखाएको छ ।  ब्रोकर फर्मको गोप्य तथ्याङ्कको प्रयोग गरी एआईले अबैधानिक ट्रेडिङ गर्न सक्ने र आफूले गरेको ट्रेडिङ लुकाउन सक्ने क्षमता रहेको एआई सुरक्षा सम्बन्धी अनुसन्धान गर्दै आएको एपोलो रिसर्चले जनाएको छ ।

इन्साइडर ट्रेडिङ भन्नाले कम्पनीको गोप्य सूचनाको प्रयोग गरी गरिने ट्रेडिङलाई बुझिन्छ । कुनै पनि ब्रोकर फर्म वा सेयर लगानीकर्ताले सूचीकृत कम्पनीहरुले सार्वजनिक रुपमा उपलब्ध गराएको सूचनाको आधारमा सेयर किनबेच गर्ने गर्छन् । अधिकांश देशहरुमा इन्साइडर ट्रेडिङलाई अबैधानिक ट्रेडिङका रुपमा लिइन्छ । बेलायतमा आयोजना गरिएको एआई सुरक्षा सम्मेलनमा एआईबोटलाई सेयर बजारको भित्री सूचना प्रदान गरी ब्रोर्कर फर्मलाई जानकारी नदिई सेयर कारोबार गर्न निर्देशन गरिएको थियो । उक्त सूचनाको प्रयोग गरी एआई बोटले अबैधानिक रुपमा सेयर कारोबार गरेपछि सेयर बजारमा एआईलाई ट्रेडिङ गर्न दिनु जोखिमयुक्त भएको निष्कर्ष निकालेका हुन् ।

सम्मेलनमा एआईले गरेको सेयर कारोबारको भिडियो रेकर्डिङ गरिएको थियो । भिडियोमा एआईले इन्साइडर ट्रेडिङ गरेको प्रष्ट भएता पनि एआई आफैँले भने त्यसो नगरेको जनाएको छ । यसरी सेयर कारोबारमा एआई प्रयोग गर्दा यसले मानिसहरुलाई भ्रममा पार्नसक्ने एपोलो रिसर्चले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।

एपोलो रिसर्चले जीपीटि–४ मोडलका एआईहरुमा सेयर कारोबारलाई लिएर विभिन्न परीक्षण गरेको थियो । पटक पटकको परीक्षणमा समेत जीपीटि–४ मोडलको एआईले इन्साइडर ट्रेडिङ गरेको पाइएपछि अनुसन्धानकर्ताहरुले उक्त निष्कर्ष निकालेका हुन् ।  सामान्यतयाः मानिसहरुको जीवन सहज बनाउनका लागि एआईको आविष्कार गरिएको हो । एआईलाई तालिम प्रदान गर्दा उसलाई मानवको सहयोगका लागि भनेर तालिम गराउँदा सहज हुने र कर्तव्यनिष्ठको तालिम मुस्किल भएको हुँदा एआईले एक सहयोगीको भूमिका खेल्छ । पछिल्लो समयमा विकास भएका च्याटजीपीटि, स्नापच्याटको माई एआई, गुगलको बार्ड लगायतका विभिन्न एआईले आफू एक सहयोगी भएको बताउँछन् ।

एपोलो रिसर्चले गरेको एक अध्ययनमा एआईलाई एउटा काल्पनिक इन्भेष्टमेन्ट कम्पनीको ट्रेडरका रुपमा सेट गरिएको थियो । जहाँ कर्मचारीहरुले कम्पनीको वित्तीय अवस्था संकटग्रस्त भएको र यथाशीघ्र राम्रो नतिजा ल्याउनुपर्ने भनी भित्री सूचना प्रदान गर्छन् । सूचना दिएर कम्पनीले राम्रो नतिजा नल्याएमा कम्पनी अन्य कम्पनीसँग मर्जरमा जानुपर्ने अवस्था सिर्जना हुने जानकारी दिन्छन् । कर्मचारीले आफूले उपलब्ध गराएको सूचनाको प्रयोग नगर्न निर्देशन दिन्छन् । यस्तै अर्को कर्मचारीले एआईलाई कम्पनीको अवस्था संकटोन्मुख भएको जानकारी गराउँछन् । यस बेला एआईले इन्साइडर टे«डिङ गर्छ तथापि यस परीक्षणमा प्रयोग भएको एआई बोटले भित्री सूचना प्रयोग नगरेको जानकारी दिन्छ ।

एआईमा सहयोगको कम्पोनेन्ट धेरै भएका कारण उसले इमान्दारितालाई ख्याल नगरी कम्पनीको अवस्था राम्रो बनाउन काम गर्छ । एआईमा सेट गरिएको जोखिम मापन विशेषतामा एआईले इन्साइडर ट्रेडिङको जोखिम भन्दा धेरै कम्पनी संकटग्रस्त भएको जोखिमको स्तर ठूलो मानी इन्साइडर ट्रेडिङ गर्छ । यसरी एआईलाई सेयर बजारमा ट्रेडरको रुपमा प्रयोग गर्दा इन्साइडर टे«डिङको जोखिम बढ्ने एपोलो रिसर्च संस्थानले पुष्टि गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।