सडक र सवारी साधन नुहँदा भारी बोक्ने घोडालाई पर्यटक बोक्न भ्याइ नभ्याइ


सडक र सवारी साधनको पहुँच नुहँदा छिटो गन्तव्यमा पुग्न घोडाको प्रयोग हुन्थ्यो । पहिले घोडा चढ्नेहरू अहिले गाडी वा मोटरसाइकल प्रयोग गर्छन् । घरछेउमा घोडा बाँध्ने तबेला अहिले गाडी र मोटरसाइकल राख्ने पार्किङस्थल बन्ने गरेका छन् । टोल टोलमा मोटर गुड्ने सडक पुगेसँगै घोडा–खच्चर विस्थापित हुँदै गएका छन् ।

पर्यटकीयस्थलमा भने घोडाको काम फेरिएको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीका घोडा व्यवसायी याम पुन बताउँछन्‌ । ‘पहिले गाउँका सम्पन्न व्यक्ति चढेर हिँड्ने घोडा अहिले पर्यटकको यातायातको साधन बनेको छ,’ उनी भन्छन्‌ ‘असोज– कात्तिक र चैत–वैशाखको याममा घोडालाई पर्यटक बोक्न भ्याइनभ्याइ हुन्छ ।’ म्याग्दीको घोडेपानी, कास्कीको उल्लेरी, नाङ्गीठाटी, घान्द्रुक, टाढापानी, चुइने, मुस्ताङको मुक्तिनाथ र दामोदरकुण्ड पुग्न हिँड्न नसक्ने पर्यटकका लागि घोडा सहयोगी बनेका छन् ।

घोडेपानी–घान्द्रुक क्षेत्रमा पर्यटक बोक्न एक सयभन्दा बढी घोडा रहेका छन् । घोडेपानीका घोडा व्यवसायी वीरेन गर्बुजा पुन घोडेपानीबाट पुनहिल जान तीन हजार ५०० रुपैयाँ र अन्य ठाउँमा जाँदा प्रतिदिन १०० रुपैयाँका दरले शुल्क लिने गरिएको बताउँछन्‌ । ‘बालबालिका र वृद्धबृद्धा पर्यटकले घोडा प्रयोग गर्छन् । रमाइलोका लागि युवा र वयस्क उमेरका पर्यटकले पनि घोडाचढी सुविधा लिन्छन्,’ उनी भन्छन्‌, ‘शुल्कको केही प्रतिशत रकम पदमार्ग मर्मत र घोडा दौड प्रतियोगिताका लागि कोषमा राखेका छौँ ।’ घोडेपानी घोडा व्यवसायी समिति अन्तर्गत हाल १२ वटा घोडा छन् । घोडा बेरोजगार युवाका लागि आम्दानीको स्रोत बनेको छ ।

बिरामी परेका र जङ्गलमा फसेका पर्यटकको उद्धारको काममा पनि घोडा प्रयोग हुने गरेको घोडेपानीका होटल व्यवसायी डमबहादुर पुन बताउनुहुछ । काठमाडौँकी जिया थापा गत हप्ता कास्कीको उल्लेरी हुँदै घोडा चढेर घोडेपानी घुम्न आएका थिए । उकालोमा घोडा चढेर यात्रा गर्न पाउँदा रमाइलो महसुस भएको उनी प्रतिक्रिया दिन्छन्‌ । मुस्ताङको झारकोटदेखि मुक्तिनाथ मन्दिरसम्म जानका लागि पनि घोडाचढी सुविधा छ ।

एक पटक यात्रा गरेको ४०० रुपैयाँ शुल्क लिने गरेको घोडा व्यवसायी हर्क गुरुङको भनाइ छ । बयाननब्बे वटा घोडा मुक्तिनाथमा तीर्थयात्री बोक्न प्रयोग भएका छन् । एक दिनमा चारदेखि छ पटकसम्म एउटा घोडाले पालो पाउने गरेको उनी बताउँछन्‌ । एउटा घोडाको मूल्य एक लाख पचास हजार देखि दुई लाख रुपैयाँ सम्म पर्छ । मुस्ताङ र ढोरपाटन क्षेत्रका घोडा मानिस चढ्न मिल्ने अग्ला र बलिया मानिन्छन् ।

घोडा संरक्षण र पर्यटन प्रर्वद्धन गर्न घोडा दौडप्रतियोगिता आयोजना हुने गरेको छ । मुक्तिनाथमा यार्तुङ पर्व, घान्द्रुकमा नयाँ वर्षको अवसरमा आयोजना गरिने घोडादौड प्रतियोगिता विशेष आकर्षणको रूपमा छन् । घोडा दौडप्रतियोगिताले पर्यटक भित्र्याउन सहयोग पुगेको स्थानीय पर्यटन व्यवसायीहरूको भनाइ छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।