करिब पाँच अर्ब कित्ता धितोपत्र डिम्याट, १६ लाख खुले हितग्राही खाता

0
Shares

केन्द्रीय निक्षेप प्रणाली (सिडिएससी) मा पुस २१ गते आइतबार सम्ममा ४ अर्ब ९४ करोड ७४ लाख ६० हजार ७०४ कित्ता धितोपत्र अभौतिकिकरण भएका छन्। नेप्सेको पूर्ण स्वामित्वमा रहेको  सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड मुलुकको एक मात्र शेयरको तथ्याङ्क राख्ने तथा धितोपत्र राफसाफ गर्ने संस्था हो।

पूँजी बजारको नियामक निकाय नेपाल बोर्डले धितोपत्रको दोस्रो बजारमा पूर्ण रुपमा अभौतिक शेयर मात्र कारोबार हुने व्यवस्था भएपश्चात सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडमा अभौतिकिरण गरिने शेयरको संख्या पनि बढ्दै गएको छ। यद्यपी अझैपनि धेरै सरकारी बचतपत्र तथा ऋणपत्रहरुको सूचीकरण हुन सकेको छैन।

बोर्डले २०७३ श्रावण १ गतेदेखि काठमाडौं उपत्यका र २०७३ माघ १ गतेदेखि काठमाडौं उपत्यकाबाहिर नेपालभरि सार्वजनिक निष्काशनमा दरखास्त दिने आवेदकहरूले दरखास्त फाराममा आफ्नो डिम्याट खाता अनिवार्य रूपमा उल्लेख गर्नुपर्ने तथा सोही खातामा बाँडफाँड भएको शेयर जम्मा हुनुपर्ने व्यवस्था गरेको थियो।

यस्तै बोर्डले २०७२ माघ १ गतेदेखि धितोपत्रको दोस्र्रो बजारमा हुने शेयर कारोबारलाई आंशिक रुपमा डिम्याट कारोबार सुरु गरेको थियो। त्यसको ६ महिना पश्चात २०७३ साउन १ गते पश्चात अनिवार्य डिम्याट शेयर मात्र कारोबार हुन थालेको थियो।

यसैगरि धितोपत्रको दोस्रो बजारमा लगानी गर्नेहरुको संख्या बढ्दै जाँदा देशको सिडिएससीमा खुलेका हितग्राही (डिम्याट) को संख्या १६ लाख नाघेको छ। सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडमा पुस २१ गते आइतबार सम्ममा १६ लाख ४ हजार ९९५ वटा डिम्याट खाता खोलिएका छन्।

सरकारले जनताको जलविद्युत परियोजनामा विभिन्न हाइड्रोपावर कम्पनीहरुलाई सूचीकृत गर्दै स्थानीय जनता सहित सबै नेपालीलाई शेयरधनी बनाउने लक्ष्य लिँदा पनि डिम्याट खाता खोल्नेहरुको संख्या बढेको हो। एक जनाले २ वटासम्म डिम्याट खाता खोल्न मिल्ने व्यवस्था रहेकोले वास्तविक तथ्याङ्क भने यो भन्दा निकै कम रहेको छ।

नेपाल धितोपत्र बोर्डले एक नेपाली एक डिम्याट खाता खोल्ने नीति अंगिकार गरेपनि नेपालको जनसंख्याको हिसाबले यो संख्या ज्यादै न्यून हो। नेपालको जनसंख्या करिब ३ करोड रहेको छ। यस हिसाबले हेर्दा नेपालको कूल जनसंख्याको ५.३५ प्रतिशत नेपालीसँग मात्र हितग्राही खाता रहेको देखिन्छ। यद्यपी हालको तथ्याङ्क वृद्धिलाई पनि राम्रै मान्नुपर्छ किनभने आ.व. २०७१⁄७२ मा डिम्याट खाता खोल्ने लगानीकर्ताको संख्या ५० हजार हाराहारीमा मात्र रहेको थियो।

हालसम्म सिडिएससीमा सूचीकृत कम्पनीको संख्या २११, निक्षेप सदस्यको संख्या ७५, राफसाफ सदस्यको संख्या ५०, मेरो शेयरमा आवद्ध हुने कम्पनीको संख्या ७३, र रजिष्ट्रार तथा हस्तान्तरण प्रतिनिधि (आरटिए)को संख्या ४५ रहेको छ।