असोजमा एक अर्ब १८ करोड मूल्यको जीवन बीमालेख सरेण्डर

0
Shares

असोज महीनामा १ अर्ब १८ करोड २९ लाख ९ हजार रुपैयाँ बराबरका बीमालेख सर्मपण भएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार असोजमा चौध कम्पनीमा ९ हजार ९३६ वटा बीमालेख सरेण्डर भएका हुन् ।

भदौमा ९ हजार ३८६ वटा बीमालेख सरेण्डरबाट १ अर्ब १८ करोड २० लाख ७ हजार रुपैयाँ मूल्यको बीमालेख सर्मपण भएको थियो । भदौको तुलनामा असोज महीनामा बीमालेख सङ्ख्या र रकम दुबै बढेको हो । साउनमा १ अर्ब २८ करोड ३३ लाख बराबरका ९ हजार ७९८ वटा बीमालेख त्याग भएको थियो ।

चालु आर्थिक वर्षको तेस्रो महीना अर्थात असोजमा बीमालेख सरेण्डर हुने कम्पनीको सूचीहरुमा ठूला तथा शीर्ष कम्पनीहरुमा नै धेरै रहेका छन् । ठूला चार कम्पनीहरुमा मात्रै कुल सरेन्डर संख्याको ६४.१९ प्रतिशत तथा कुल मूल्यको ७१.१६ प्रतिशत बराबरको बीमालेख समर्पण भएका हुन् । ठूला चार कम्पनीमा ८४ करोड १८ लाख १५ हजार मूल्यका ६ हजार ३७८ वटा बीमालेख त्याग भएका हुन् ।

प्रिमियम संकलनमा जीवन बीमा क्षेत्रमा कुल एक चौथाई बढी प्रतिशत हिस्सा ओगटेको नेपाल लाइफ इन्स्योरेन्समा बीमा सरेण्डर गर्ने बीमितहरुको सङ्ख्या उत्तिकै धेरै देखिएको छ । असोजमा मात्रै नेपाल लाइफका २ हजार ६४९ बीमितहरुले कुल ३८ करोड ९३ लाख ९९ हजार रुपैयाँ बराबरको बीमा सरेण्डर गरेका छन् ।

यस्तै लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालका १ हजार ८१५ बीमितले २६ करोड २ लाख ५९ हजार बराबरको पोलिसी सरेन्डर गरेका छन् । बीमा सरेन्डर हुने शीर्ष कम्पनीहरुको तेस्रो सूचीमा राष्ट्रिय बीमा संस्थान रहेको छ । असोजमा संस्थानको ९ करोड ७१ लाख ७८ हजार रुपैयाँ बराबरको १ हजार ६५ वटा बीमालेख सरेण्डर भएका हुन् । यस्तै नेशनल लाइफ इन्स्योरेन्समा ८४९ बीमितले ९ करोड ४९ लाख ७९ हजार बराबरको पोलिसी सरेन्डर भएको प्राधिकरणको तथ्याङ्कले देखाउँछ ।

यसैगरी सूर्यज्योति लाइफमा ८ करोड ८५ लाख ६ हजार रुपैयाँ बराबरका ६२१ वटा तथा हिमालयन लाइफ इन्स्योरेन्समा ७ करोड ७७ लाख ३ हजार रुपैयाँ बराबरको ८५५ वटा पोलिसी सरेन्डर भएका छन् ।

प्राधिकरणको तथ्याङ्क अनुसार बाँकी पाँच जीवन बीमा कम्पनीहरुमा ७९ लाखदेखि ६ करोड ५१ लाख रुपैयाँ मूल्यसम्मका बीमालेख समर्पण भएका छन् । असोज महीनामा एशियन लाइफ इन्स्योरेन्सका ६ करोड ५१ लाख १५ हजार मूल्यका ७५८ वटा, मेट लाइफका ३ करोड ६७ लाख ४१ हजार मूल्यका ४०८ वटा, सानिमा रिलायन्स लाइफका १ करोड ६१ लाख ७५ हजार मूल्यका १४३ वटा, आइएमई लाइफका १ करोड ५२ लाख ९ हजार मूल्यका १६४ वटा, सिटिजन लाइफका १ करोड १४ लाख १८ हजार मूल्यका २५६ वटा र प्रभु महालक्ष्मी लाइफका १ करोड २६ लाख ८५ हजार मूल्यका ११४ वटा बीमालेख त्याग भएका छन् ।

जीवन बीमा क्षेत्रमा पाँच वर्षअघि नयाँ कम्पनीको रुपमा उदाएका नवप्रवेशी कम्पनीहरु सन नेपाल लाइफ र रिलायबल नेपाल लाइफ इन्स्योरेन्समा बीमा समर्पण गर्ने बीमितहरुको सङ्ख्या पनि थोरै रहेको छ । सन नेपाल लाइफमा ७९ लाख ८० हजारका ७५ वटा र रिलायबल नेपाल लाइफमा ९५ लाख ६२ हजारका १६४ वटा बीमालेख समर्षण भएका छन् । नयाँ कम्पनीमा बीमा गर्ने बीमितिहरु नै थोरै हुने हुँदा पुरानाको तुलनामा बिजनेश र सरेण्डरको हिस्सा पनि थोरै हुने गरेको हो ।

बीमा प्राधिकरणको कमजोर कार्यसम्पादन, बीमा नीति, आर्थिक संकट र बीमा अभिकर्ताले बीमालेख बिक्री गर्दा बीमितलाई राम्रोसँग बुझाउन नसक्दा पोलिसी सरेण्डरको मात्रा बढेको हो । बीमा नवीकरणमा अभिकर्ताले प्राथमिकता नदेखाउँदा तत्कालको लागि कुनै समस्या नदेखिए पनि दीर्घकालीन रुपमा यसको असर जटिल देखिने जानकारहरु बताउँछन् ।

नेपाल बीमा प्राधिकरणले जति नै कडाइ गरेपनि बीमा पोलिसी सरेन्डर दर भने घट्न सकेको छैन । प्राधिकरणको नयाँ व्यवस्था अनुसार बीमितले बीमालेख खरिद गरेको मितिले कम्तीमा तीन वर्षसम्म सरेन्डर गर्न पाउँदैनन् । यसअघि बीमालेख खरिद गरेका बीमितले एक वर्षमै पोलिसी त्याग्न पाउने व्यवस्था थियो । सरेन्डर दर बढ्दै जान थालेपछि प्राधिकरणले कडा नीति अबलम्बन गरेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।