वाणिज्य बैंकहरुको असोजमा नाफा २८ प्रतिशतले घट्यो

0
Shares

वाणिज्य बैंकहरुको अघिल्लो असोज महीनाको तुलनामा यो वर्ष कुल मुनाफा २८.१८ प्रतिशतले घटेको छ । सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये१४ बैंकको नाफा अघिल्लो असोजको तुलनामा घटेको छ भने ६ वटा बैंकले मात्रै अघिल्लो असोजकोभन्दा धेरै नाफा कमाएको राष्ट्र बैंकको तथ्याङ्क छ ।

नेपाल राष्ट्र बैंकका अनुसार २०८० असोज महीनामा बैंकहरुले १३ अर्ब ४७ करोड २० लाख रुपैयाँ नाफा आर्जन गरेका छन् । विसं २०७९ असोज महीनामा तत्कालीन अवस्थामा सञ्चालनमा रहेका २६ वाणिज्य बैंकहरुले कुल १८ अर्ब ७५ करोड ६८ लाख रुपैयाँ नाफा कमाएका थिए । अघिल्लो असोजको तुलनामा बैंकहरुको नाफा ५ अर्ब २८ करोड ४८ लाख ३० हजार रुपैयाँ कम हो । आर्थिक गतिविधि सुस्त हुँदा ऋणीको साँवा तथा ब्याज भुक्तानी क्षमतामा कमी आएकाले बैंक तथा वित्तीय संस्थाको नाफा उल्लेख्य घटेको हो । 

अघिल्लो असोजको तुलनामा प्राइम कमर्सियल बैंक, माछापुच्छ्रे, हिमालयन, एनएमबि, स्ट्याण्डर्ड चार्टर्ड र प्रभु बैंकले नाफा बढाएका हुन् । अघिल्लो असोजको तुलनामा यस वर्षको असोजमा कृषि विकास बैंकको नाफा सबैभन्दा धेरै घटेको छ । यसैगरी सिद्धार्थ बैंक, लक्ष्मी सनराइज, कुमारी, नेपाल बैंक, एनआईसी एशिया, राष्ट्रिय वाणिज्य बैंक, नेपाल एसबिआई, सिटिजनबैंक इन्टरनेशनल, ग्लोबल आइएमई, सानिमा, एभरेष्ट, नेपाल इन्भेष्टमेन्ट मेगा र नबिल बैंकको नाफामा समेत गिरावट आएको हो ।

मुख्यतः पछिल्लो समय अर्थतन्त्रमा देखिएको शिथिलताले बैंकहरूको कर्जा असुल पूर्ण रूपमा नहुँदा बैंकहरुको खराब कर्जा अनुपात बढ्न पुगेको छ । आर्थिक शिथिलताका कारण अधिकांश क्षेत्रको आम्दानी घटेकाले ऋणीहरूको ऋण तिर्ने क्षमता घट्दा बैंकको मुनाफामा असर पुगेको बैंकरहरू बताउँछन् । आर्थिक शिथिलताले खराब कर्जा बढ्दा बैंकहरूले खराब कर्जाबापत छुट्टै रकम प्रोभिजनिङ गर्नुपर्ने हुन्छ । ऋणीले ६ महिनासम्म कर्जाको साँवा तथा ब्याज भुक्तानी नगरेमा त्यस्तो ऋण खराब कर्जामा पर्ने व्यवस्था छ । खराब कर्जा बढ्दा बैंकहरूले त्यसबापत नाफा–नोक्सान खाताबाट छुट्याउनुपर्ने भएकाले बैंकहरूको नाफामा कमी आएको हो । पछिल्लो समय बैंकहरूको आम्दानी पनि राम्रो छैन । बैंकहरूको मुख्य आम्दानीको स्रोत नै कर्जाको ब्याजबापत हुने आम्दानी हो । तर, पछिल्लो समय कर्जा प्रवाहमा कमी आउँदा बैंकहरूको आम्दानी पनि स्वतः प्रभावित भएको छ । तर, उच्च ब्याजदर हुँदा निक्षेपको ब्याजबापत हुने खर्च भने उच्च नै छ ।

राष्ट्र बैंकले पनि आर्थिक संकटबाट प्रभावित क्षेत्रको कर्जालाई पुनर्तालिकीकरण र पुनर्संरचना गर्न दिने नीति ल्याउँदा गत आर्थिक वर्षको अन्तिम समयमा बैंकहरूको खराब कर्जा अनुपात घटेको थियो । तर, स्थिति सामान्य नहुँदा चालू आवमा खराब कर्जा अनुपात पुनः बढ्न थालेको हो । चालु आर्थिक वर्षको पहिलो त्रैमासको प्रकाशित वित्तीय विवरणका अनुसार वाणिज्य बैंकहरुमा २०८० असार मसान्तसम्म २.७० प्रतिशतमा झरेको खराब कर्जा असोजसम्म आउँदा पुनः बढेर ३.४० प्रतिशत पुगेको छ । सातवटा बैंकको खराब कर्जा अनुपात ४ प्रतिशतभन्दा पनि माथि छ । त्यसमा कृषि विकास बैंकको खराब कर्जा अनुपात सबैभन्दा बढी देखिएको छ । असोजसम्म आउँदा कृषिको खराब कर्जा अनुपात ५.३३ प्रतिशत पुगेको छ । यसैगरी, मर्जरमा गएका कुमारी बैंकको खराज कर्जा अनुपात ४.८९ प्रतिशत, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ४.८३ प्रतिशत, लक्ष्मी सनराइजको ४.६९ र हिमालयन बैंकको ४.६७ प्रतिशत र ग्लोबल आइएमई बैंकमा ४.३८ प्रतिशत छ ।

हेरौं कुन बैंकको कति घट्यो नाफाः–

S.N. Sector- Commercial Banks Ashoj 2080 Profit in Mn Ashoj 2079 Profit in Mn Change %
1 Prime Commercial Bank Ltd. 1,151.52 874.17 31.73
2 Machhapuchhre Bank Limited 542.24 451.18 20.18
3 Himalayan Bank Limited* 1,056.18 947.58 11.46
4 NMB Bank Limited 963.21 904.13 6.53
5 Standard Chartered Bank Limited 827.7 811.4 2.01
6 Prabhu Bank Limited* 1,034.21 1,023.53 1.04
7 Nabil Bank Limited 1469.3 1,571.54 -6.51
8 Nepal Investment Mega Bank Limited* 1,522.30 1,649.77 -7.73
9 Everest Bank Limited 780.76 862.24 -9.45
10 Sanima Bank Limited 482.91 548.22 -11.91
11 Global IME Bank Limited* 1,225.75 1,470.17 -16.63
12 Citizen Bank International Limited 402.46 501.22 -19.70
13 Nepal SBI Bank Limited 479.18 627.36 -23.62
14 Rastriya Banajya Bank 859.8 1,246.68 -31.03
15 NIC Asia Bank Ltd. 1,010.38 1,756.78 -42.49
16 Nepal Bank Limited 142.37 604.1 -76.43
17 Kumari Bank Limited* 263.94 1,518.30 -82.62
18 Laxmi Sunrise Bank Limited* 103.04 669.3 -84.60
19 Siddhartha Bank Limited 42.86 498.25 -91.40
20 Agriculture Development Bank  -888.07 220.95 -501.93
Total 13,472.04 18,756.87 -28.18

स्पष्टिकरणः–मर्जरमा गएका बैंकहरुको २०७९ असोजको कुल नाफामा सो अवर्षको बिलय भएको बैंकको नाफालाई समेत जोडेर तथ्याङ्कमा उल्लेख गरिएको छ । गत आवको दोस्रो त्रैमासपछि ग्लोबल आईएमईले बैंक अफ काठमाण्डू, कुमारी बैंकले एनसीसी, लक्ष्मीले सनराइज, नेपाल इन्भेष्टमेन्टले मेगा, हिमालयनले सिभिल बैंक तथा प्रभुले सेञ्चुरी बैंकसँग एक आपसमा मर्जर तथा एक्वीजिशन गरेर एकीकृत कारोबार सुरु गरेका थिए ।

असोजमा इन्भेष्टमेन्ट मेगा बैंकले कमायो सर्वाधिक

चालु आर्थिक वर्षको पहिलो त्रैमासको अन्तिम महीना असोजमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले सबैभन्दा धेरै नाफा कमाएको छ । बैंकले १ अर्ब ५२ करोड २३ लाख रुपैयाँ नाफा आर्जन गरेको हो । यस्तै नबिल बैंकले पनि १ अर्ब ४६ करोड ९३ लाख नाफा कमाएको छ । असोज महीनामा अन्य पाँच बैंकको नाफा पनि एक अर्बभन्दा माथि छ ।

असोजमा ग्लोबल आइएमई बैंकले १ अर्ब २२ करोड ५७ लाख रुपैयाँ, प्राइमले १ अर्ब १५ करोड १५ लाख रुपैयाँ, हिमालयनले १ अर्ब ५ करोड ६२ लाख रुपैयाँ, प्रभुले १ अर्ब ३ करोड ४२ लाख रुपैयाँ र एनआईसी एशिया बैंकले १ अर्ब १ करोड ३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

यस्तै एनएमबि बैंकले असोजमा ९६ करोड ३२ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले ८५ करोड ९८ लाख रुपैयाँ, स्ट्याण्डर्ड चार्टर्डले ८२ करोड ७७ लाख रुपैयाँ, एभरेष्टले ७८ करोड ७ लाख रुपैयाँ र माछापुच्छ्रे बैंकले ५४ करोड २२ लाख रुपैयाँ नाफा कमाएको छ । तथ्याङ्क अनुसार असोजमा आठ वाणिज्य बैंकको कुल नाफा ५० करोडभन्दा कम छ ।

समीक्षा अवधिमा सानिमा बैंकले ४८ करोड २९ लाख रुपैयाँ, नेपाल एस्बिआई बैंकले ४७ करोड ९२ लाख रुपैयाँ, सिटिजन बैंकले ४० करोड २४ लाख रुपैयाँ, कुमारी बैंकले २६ करोड ३९ लाख रुपैयाँ कुल नाफा आर्जन गरेको छ । असोज महीनामा नेपाल बैंकले १४ करोड २३ लाख रुपैयाँ, लक्ष्मी सनराइजले १० करोड ३० लाख रुपैयाँ र सिद्धार्थ बैंकले ४३ लाख कुल नाफा आर्जन गरेको छ । असोजमा कृषि विकास बैंकको नाफा भने ८० करोड ८८ लाख रुपैयाँ ऋणात्मक छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।