‘सेयरहोल्डरहरुको हित तथा आजियाटाको थप सबलताका लागि नेपाल छाड्ने निर्णय गरेका हौ’ : विवेक सूद

0
Shares

सन् २०२३ को तेस्रो त्रैमासको प्रगति विवरणको समीक्षा गर्दै मलेसियन कम्पनी आजियाटा र्बहाडले नेपालबाट बाहिरिने निर्णय गरेको छ।

आजियाटा ग्रुपका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक समेत रहेका विबेक सूदले नेपालमा एनसेलको अवस्था चुनौतीपूर्ण बन्दै गएको र यस अवस्थामा आजियाटाको सञ्चालक समितिले सेयर बिक्री गरी बाहिरीने निर्णय गरेको बताएका हुन् ।

उनले वर्तमन अवस्थामा नेपालबाट बाहिरिनुले आजियाटालाई आगामी समयमा आफ्नो रणनीतिक प्राथमिकता अगाडि सार्न सहयोग गर्ने र हालका लागि नेपालबाट बाहिरिनु नै सबै सेयरहोल्डरहरुको हितमा रहेको जनाएका छन् । यसरी दूरसञ्चार क्षेत्रलाई निजीकरण गर्न नेपाल भित्रिएको सबैभन्दा ठूलो कम्पनी बाहिरिने भएको हो ।

सन् २००४ मा ‘मेरो मोबाइल’ नामबाट दूरसञ्चार सेवा प्रदान गर्दै आएको कम्पनीलाई सन् २००८ मा स्वीडेनको टेलीसोनेरा ग्रुपले अधिग्रहण गरी सन् २०१० मा रिब्रान्डिङ गरेको थियो। टेलीसोनेरा ग्रुपले ६ वर्ष सञ्चालन गरेपछि सन् २०१६ मा मलेसियाको आजियाटा ग्रुपले एनसेल खरिद गरी एनसेल आजियाटा नामाकरण गरेको थियो ।

आजियाटाले अधिग्रहण गरेको केही वर्षसम्म एनसेलका प्रयोगकर्ता ह्वात्तै बढेका थिए । इन्टरनेट गाउँगाउँमा बिस्तार नभएको समयमा भ्वाइस प्याक लिएर कुराकानी गर्ने मानिसहरुको सङ्ख्या धेरै हुँदा एनसेलको आम्दानीमा सकरात्मक सर्किट लागिरहेको थियो ।

तर, इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले सस्तोमा गाउँगाउँमा इन्टरनेट सुविधा प्रदान गर्दै जाँदा र स्मार्टफोनको प्रयोग बढ्दै जाँदा एनसेलको भ्वाइस प्याकबाट हुने आम्दानी ठूलो मात्रामा घटेको थियो । पछिल्लो समयमा डाटा प्याकबाट आम्दानी गर्दै आएको कम्पनीका प्रयोगकर्ता घट्दै जाँदा त्यसको असर आम्दानीमा पर्दै गएको छ ।

आर्थिक वर्ष २०२२ मा ३९ अर्ब ७२ करोड आम्दानी गरेको एनसेलको आम्दानी आर्थिक वर्ष २०२३ मा ३७ अर्ब ४४ करोडमा समेटिएको छ । आर्थिक वर्ष २०१८ मा ५९ अर्ब ८१ करोड बराबरको आम्दानी गरेको कम्पनीको आम्दानी पछिल्लो पाँच वर्ष यता २२ अर्बले घटेको देखिन्छ ।

यसरी आम्दानीमा आएको निरन्तर गिरावट र प्रयोगकर्ताको सङ्ख्या घट्दै जाँदा आजियाटा ग्रुपले एनसेलमा रहेको ८० प्रतिशत सेयर स्वामित्व बिक्री गरेर नेपाल छाड्ने घोषणा गरेको हो । सञ्चार जगतमा रिभोलुसन ल्याएर सस्तो मूल्यमा दूरसञ्चार सेवा प्रदान गर्दै आएको कम्पनीले नेपाल छोड्ने निर्णय गर्नु प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने सपना देखिरहेको नेपालका लागि र्दुभाग्यपूर्ण हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।