कोरोना कहर पछि विदेशिने विद्यार्थी झनै बढे, गत वर्ष एक लाख बाहिरिए

0
Shares

भक्तपुर -३ बोलाछेँ निवासी उमेश श्रेष्ठलाई देशको अवस्थाले नेपाल बस्न छैन । उनी भविष्य बनाउन काठमाडौं आएको १० वर्ष भयो । उनले स्नातक तह पास गरिसके । तर जागिर १५ हजारको खान्छन् । त्यतिमा आफ्नो खर्च समेत निस्किदैन । ‘चुनाव आउँछ भाषण सुन्छु मनमा केही आश पलाउँछ अनी फेरी उस्तै,’ उनले भने, “१५ हजारले म बाच्नु कि परिवारको आवश्यकता पूरा गर्नु ।”

भष्ट्राचार, बेथिति, कुरीति र राजनीतिक अस्थिरता, कहिलेसम्म ? उनले प्रश्न गरे । युवा विदेशिनबाट रोक्नका लागि सरकारले दूरगामी योजना ल्याउनु आवश्यक रहेको उनको तर्क छ ।

यस्तै १२ कक्षा पास भएर अष्टेलिया जाने सोचमा बसेकी सिर्जना थापालाई पनि जति सक्दो छिटो उड्नु छ । उनलाई नेपालको पढाइ मन पर्दैन । उनी भन्छिन्,‘ मैले नेपालमा बसेर केही गर्न सक्दिन स्नात्तक पढ्न नै लगभग ६ वर्ष लाग्छ । समयमा परिक्षा हुँदैन भएको परिक्षाको नतिजा समयमा आउँदैन यसरी त मेरो समय मात्र बर्बाद हुन्छ । ’

कलेजमा गुणस्तरीय पढाई नहुनाले उनलाई नेपालमा केही होला जस्तो लाग्दैन । ‘मैले स्नात्तक पढ्न ६ वर्ष बिताए भने पनि मलाई जागिरको सुनिश्चितता कस्ले दिन्छ ?’ उनले प्रश्न गरिन् ।

विद्यार्थी बाहिरीने मुख्य कारण नेपालको शिक्षा नीति रहेको शिक्षा विद्हरुको तर्क छ । अर्को कारण विदेशमा गएर पढ्दै काम गर्दा पनि राम्रो आम्दानी गर्न सकिने भएकोले पनि अध्ययन भिसामा विद्यार्थीको चाप बढ्दै गएको उनहिरु बताउँछन् ।

१० वर्षमा ५ लाख बढी विद्यार्थी पलायन

१० वर्षको अवधिमा ५ लाख विद्यार्थी विदेश पलायन भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार विद्यार्थीले लिएका अनुमतिपत्र (नो अब्जेक्सन लेटर) का आधारमा १० वर्षको अवधिमा ५ लाख ४३ हजार ८ सय ४२ जनाले एनओसी लिएका छन् ।

आर्थिक वर्ष २०७०/७१ मा २८ हजार १ सय २६ जनाले एनओसी लिएका छन् । सो संख्या २०७९/८० मा आइपुग्दा १ लाख १० हजार २ सय १७ पुगेको छ ।
विगत १० वर्षको तथ्यांक हेर्ने हो भने विदेश जाने विद्यार्थीको संख्या कोरोनाको कहर पछि झनै बढेको छ । कोरोना पछिको आर्थिक मन्दीका कारण नेपालमा आफ्नो भविष्य सुनिश्चित गर्न नसकेका विद्यार्थी विदेश पलायन हुन थालेका हुन् । आर्थिक वर्ष २०७७/७८ मा २८ हजारले एनओसी लिएकामा २०७८/७९ मा ३.५४ गुणाले बढेको छ ।

आर्थिक वर्ष २०७८/७९ मा १ लाख २ हजार ५०४ जनाले एनओेसी लिएका छन् ।

कुन देशमा कति विद्यार्थी गए ?

नेपालबाट सबैभन्दा धेरै अष्टेलियामा जाने गरेका छन् । अष्टेलियामा जान सहज हुने हुँदा पनि उक्त देशमा नेपाली विद्यार्थीको ओहिरो लागेको हो ।

जसमा ३३ हजार ९९१ अस्ट्रेलिया, २१ हजार ५७४ क्यानडा, १० हजार ५२७ बेलायत, तीन हजार ९७० अमेरिका, दुई हजार ३८९ युएई, एक हजार ८५ डेनमार्क, ५३७ बंगलादेश, १४२ बहराइन, जर्मनी ५७४, फ्रान्स एक हजार २८२, फिनल्यान्ड ८३२, १३० साइप्रस, २३१ कतार, रिपब्लिक अफ कोरिया तीन हजार ४६, ९६६ रसिया, १६४ स्विडेन, ५४२ थाइल्यान्ड गएका छन् । आर्थिक वर्ष ०७९/८० मा ७० देशका लागि विद्यार्थीहरूले एनओसी लिएका छन् ।

कुल जनसंख्याको ७ प्रतिशत विदेशमा

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालका कुल २१ लाख ९० हजार ५ सय ९२ जनसंख्या विदेशमा नै बसोबास गर्ने गर्दछन् । यी मध्ये अधिकाशं वैदेशिक रोजगारी र अध्ययनका लागि विदेश गएका हुन् । विदेश अनुपस्थित जनसंख्या मध्ये पुरुषहरुको जनसंख्या १७ लाख ९९ हजार ६ सय ७५ रहेको छ । महिलाको जनसंख्या ३ लाख ९० हजार ९ सय १७ रहेको छ । अक्सर विदेशमा बसोबास गर्नेहरुको उमेर विष्लेषण गर्दा सबभन्दा बढी २० देखि २४ वर्ष उमेर समुहका पुरुषहरु विदेश गएको देखिन्छ । त्यस्तै महिलाहरुमा पनि सोही उमेर समुहको बढी जनसंख्या विदेश गएको देखिन्छ । नेपालको कुल जनसंख्या दुई करोड ९१ लाख ९२ हजार ४८० रहेको छ ।

चालु आवमा वैदेशिक रोजगारीमा जानेको संख्या

वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो चार महीनामा श्रम स्वीकृति लिएर २ लाख ६ हजार ३१६ नेपाली वैदेशिक रोजगारीमा गएका छन् । चालु आवको साउनमा ५५ हजार ५७५, भदौमा ५० हजार ८८४ असोजमा ५६ हजार २३५ जना र कात्तिकमा ४३ हजार ६२२ जना वैदेशिक रोजगारीमा गएका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।