आलु-प्याजको आपूर्ति ठप्प भएसँगै कालोबजारी बढ्यो

0
Shares

व्यवसायीहरुले मूल्य अभिवृद्धि कर (भ्याट) को कारण देखाउँदै आलु तथा प्याज आयात ठप्प पारेका छन् ।

सरकारले स्वदेशी उत्पादनलाई प्राथमिकता दिन गत जेठ १५ गतेदेखि बाहिरबाट ल्याइने आलु तथा प्याजमा भ्याट लगाउने घोषणा गरेको थियो । तर अहिले पनि त्यही भ्याटको बाहानामा व्यवसायीहरुले आपूर्ति नै रोकेका छन् ।

मंसिर १८ गते पछि कालिमाटीमा आलुको मूल्यसूची राखिएको छैन । मंसिर १८ गते कालीमाटीमा प्रतिकेजी रातो आलुको मूल्य ४७.५ रुपैयाँ तोकिएको थियो भने प्रतिकेजी प्याजको मूल्य ९७.५ रुपैयाँ तोकिएको थियो ।

अहिले कालिमाटीको बजारमा आलु र प्याजको आपूर्ति नभएकाले दैनिक मूल्य सूचीमा उक्त वस्तु समावेश नगरिएको कालिमाटी फलफूल तथा तरकारी बजार समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताए । ‘व्यापारीले आलु र प्याज नल्याएपछि दैनिक मूल्यसूचीमा आलु र प्याजको मूल्य नराखिएको हो,’ उनले भने । अहिले कालीमाटीमा आलु र प्याजको कारोबार नभएको उनको भनाइ छ ।

कालिमाटीका व्यवसायीहरुले आपूर्ति रोकेसँगै अन्य व्यापारीहरुले भने कालोबजारी सुरु गरेका छन् । एक हप्ता अघिसम्म ४७ रुपैयाँमा पाइने आलु अहिले प्रतिकेजी मै ५५ रुपैयाँसम्म लिने गरेका छन् ।

जेठ १५ गतेको निर्णयको विषयलाई लिएर अहिले आलुको आयात रोक्नु गलत भएको उपभोक्ता हित संरक्षण मञ्च नेपालका अध्यक्ष प्रेम लाल महर्जन बताउँछन् । कालोबजारी गर्न व्यापारीहरुले आयात रोकेको उनको भनाइ छ ।

सरकारले जेठ १५ गतेदेखि आलु र प्याजमा १३ प्रतिशत भ्याट लगाउने घोषणा गरेको थियो । सरकारले १३ प्रतिशत भ्याट लगाउनु भन्दा पहिले कृषि सेवा शुल्कमा ९ प्रतिशत र अग्रीम आयकर ५ प्रतिशत लिने गरेको थियो ।

सरकारले आन्तरिक उत्पादनलाई भ्याट नलाग्ने भनेता पनि भ्याट शुल्क लिइरहेकोले आपूर्ति रोक्नु परेको आलु प्याज आयात निर्यात तथा थोक बिक्रेता संघका महासचिव प्रकाश गजुरेलले बताए । आलु र प्याजको व्यवसाय नै गर्न नसकिएकोले आपूर्ति बन्द गर्नु परेको उनको भनाइ छ ।

अर्थमन्त्री प्रकाशसरण महतले नेपाली उत्पादनलाई भ्याट लाग्दैन भनेर आश्वासन दिएको बताउँदै उनले भने,“सरकारले आश्वासन मात्र दिने काम गर्यो । सरकारको आश्वासनले जेठ १५ गतेदेखि मंसिर १५ गतेसम्म हामीले आलु, प्याजको कारोबार गर्यौ तर आश्वासन दिने भ्याट लिने काम गरियो।”

सरकारसँग तरकारीमा लगाइने भ्याटको विषयमा पटक पटक समन्वय गर्दा नेपाली कृषि उपजमा भ्याट नगलाइने आयातितलाई मात्रै लगाइने भनिएको उनले बताए ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र आन्तरिक राजस्व कार्यालयले गरेको अनुगमनमा आलु–प्याज बिक्री गर्दाको भ्याट बिल देखाउन भन्दै त्रसित गरेको गजुरेलले बताए ।

उनले भने, “नेपाली उत्पादनलाई भ्याट नलाग्ने गरी नीति नै ल्याउने भनिएको थियो तर अनुगमनको नाउमा व्यसायीहरुलाई त्रसित गराउने काम भयो । त्यसैले आयात रोकिएको हो । ”

आन्तरिक राजस्व विभागले स्वदेशमा उत्पादन भएर बजारमा जाने आलु र प्याजमा भ्याट लगाएकाले आपूर्ति बन्द गरेका हुन् । उनका अनुसार सरकारले कृषि उपज (आलु र प्याज) मा पनि २७ प्रतिशत कर लिने गरेको छ । व्यवसाय गर्ने आधार तय नभएसम्म आलु, प्याज आयात नगरिने उनको भनाइ छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।