सम्पत्तिको अधिकारमा महिलाको पहुँच बढेपनि घटेन घरेलु हिंसा

0
Shares

आर्थिक रुपले सम्पन्न छिन् उनी, बुटवलमा उनको घर, अझ उनकै नाममा छ त्यो तीन तले घर । मान्छेहरुले उनलाई भाग्यमानी ठान्छन्, किनकी उनको सहरमा घर छ, धनसम्पत्ति छ । तरपनि उनलाई ‘अकाल मै मर्नु पर्ने हो की’ भन्ने डरले बारम्बार सताइरहन्छ । (यस कथाकी पात्रले आफ्नो नाम खुलाउन नचाहेका कारण पात्रलाई सर्वनाम ‘उनी’ले सम्बोधन गरिएको हो ।)

जिन्दगीमा चिन्ता लिनु हुँदैन, चिन्ताले चिताको बाटो देखाउँछ भनी अरुलाई सिकाउने उनी अहिले आफै चिन्ताको सागरमा डुबेकी छिन् । आफ्ना नजिकका मान्छेहरुलाई उनी मलाई ‘राक्षस’ देखि बचाऊ, उसले मलाई मार्छ भनीरहन्छिन्, तरपनि उनको सम्पन्नतालाई सर्वस्व मानेका उनका नजिकका साथीभाइहरु उनले आफ्नो ज्यानको सुरक्षा माग्दा समेत मौन बस्छन् । आखिर उनलाई कसले अकाल मार्न खोजीरहेको छ ? कसको खतरा छ उनलाई ? कोसँग डराइरहेकी छिन् उनी ?

सिउँदो रङ्गाएर, जीवन बिताउने आशामा, पन्चे बाजा बजाएर, १५० जन्तीलाई जन्ते बाख्रो खुवाएर जसको साथमा उनी आफ्नो सर्वस्व छोडेर आएकी थिइन्, आज उसैसँग उनलाई डर छ । उनको श्रीमानले नै उनलाई दैनिक रुपमा मार्ने धम्की दिन्छ । ‘म नेपाल नआउँदासम्म जिउँदै छेस्, नेपाल आएपछि तलाई मार्छु’ भनी मेसेन्जरमा दिनैजसो आउने धम्कीका कारण अकाल मृत्युको कल्पनाले सताउने गरेको उनी बताउँछिन् ।

कैयौं माइल टाढा रहेको उसले दैनिक रुपमा अनेक कटुवचन लगाउँछ । ‘त्यसलाई काटेर भएपनि अंश लिन्छु’ भन्दै आफ्ना आफन्तहरुलाई फोन गर्छ । आजभन्दा १४ वर्ष अगाडि उनको गाउँमा एकजना पुरुषले आफ्नी श्रीमतीलाई घाटी रेटेर हत्या गरेको थियो । उक्त घटनाको उदाहरण दिँदै श्रीमानले दिनैजसो उनलाई मार्ने धम्की दिएको उनको गुनासो छ ।

विदेशमा रहेर पनि श्रीमानले उनलाई मानसिक रुपमा पीडा दिइरहन्छ । अन्धो छ उनी वरिपरीको समाज । समाज केवल उनको घरको तला कति थपियो, उनले कस्तो सारी लगाइन्, कस्तो डिजाइनको गरगहना लगाइन् भन्नेमा ध्यान दिन्छ । तर वर्षौँदेखि उनले भोग्दै आएको मानसिक पीडाका बारेमा उनले बोल्न खोज्दा, सहयोग माग्दा समेत समाज अनदेखा गर्छ ।

उनका श्रीमानले उनलाई सहनै नसक्ने, अपाच्य शब्दहरु प्रयोग गरी गाली गर्छ । हरेक गालीमा उसले एउटै वाक्य दोहोराउँछ जुन हो, ‘मेरो सम्पत्ति मलाई दे नत्र तलाई बाँकी राख्दिन ।’ आखिर किन उसले दोहोर्याइ रहेको छ यी वाक्यहरु ? के यो उसको नीच सोचको उपज हो ? या जुन पुरुषप्रधान समाजमा उ हुर्कियो, त्यही समाजले उसमा भरेको ज्ञान हो ? यसमा राज्यको पनि केही दोष छ कि ?

नेपाल सरकारले आर्थिक वर्ष २०६४/६५ देखि महिलाको नाममा जग्गा वा घर पास गर्दा शहरी क्षेत्रमा २५ प्रतिशत र ग्रामीण क्षेत्रमा ३० प्रतिशत छुट दिँदै आएको छ । सम्पत्तिमा महिलाको अधिकार सुनिश्चित गर्नका लागि अघि सारिएको सो नीतिका कारण पछिल्लो समयमा महिलाका नाममा जग्गा पास गर्नेको सङ्ख्या उल्लेखनीय रुपमा बढ्दै गएको छ ।

जसको एउटा ज्वलन्त उदाहरण उनी आफै हुन्, उनको नाममा रहेको घर । घर नबनाउँदासम्म उनका श्रीमान् मानव नै थिए, दानव बनीसकेका थिएनन् । उनलाई माया गर्थे । एक छोरा र एक छोरी सहित गाउँमै भएपनि उनीहरु खुशीसाथ बसेका थिए । छोराछोरी जन्मिएपछि, उनीहरुको लालनपालनका लागि गाउँको खेती किसानी पर्याप्त नभएपछि उनका श्रीमान् ओमान गए । ओमानमा उनले मिहिनेत गरे, राम्रो आम्दानी गरे र केही वर्षमा नै बुटबलमा जग्गा किने । जग्गा किन्ने समयमा सरकारले भर्खर भर्खर महिलाको नाममा जग्गा पास गर्दा २५ प्रतिशत छुट पाउने नीति लागु गरेको थियो । जसको लाभ उनले पनि लिए ।

बिस्तारै कमाइ राम्रो हुँदै गएपछि घर परिवार नै बुटबल बसाइ सरे पछि घर समेत बनाए । घर पनि श्रीमतीकै नाममा रह्यो । पराइ भूमीमा मिहिनेत गरेर घर बनाएका उनलाई समाजका केही मान्छेहरुले नै श्रीमती विरुद्ध भड्काउन सुरु गरे । मोन्टेश्वरीमा विद्यार्थीहरुलाई पढाउने, उनीहरुको ख्याल गर्ने काम गरीरहेकी श्रीमती विरुद्ध उनको कान भरीरहे ।

श्रीमतीलाई भन्दा आफ्नो परिवार र गाउँका मान्छेहरुलाई विश्वास गर्ने उनले आफ्नै श्रीमतीलाई शंकाको नजरले हेर्न सुरु गरे । जसकारण एक रथका दुई पाङ्ग्रा बनी, दुखसुखको सामना गरिरहेका ती दुवैको जिन्दगीले आजको मोड लिन पुग्यो । आज उनीका श्रीमान् राक्षस बनेका छन् । उनी आफ्नै श्रीमान्को राक्षसी प्रवृत्तिसँग डराएर, श्रीमान्ले पटकपटक दिने ज्यानै मार्ने धम्कीसँग डराएर आफ्नो ज्यानको सुरक्षा मागिरहेकी छिन् । तरपनि उनको वरीपरीको समाज उनको आवाज सुन्दैन । श्रीमान् विरुद्ध प्रहरीमा मुद्दा हाल्ने सोचेपनि घरपरिवार र सासू ससूराको अनुरोधले गर्दा उनी विवश भई मानसिक तनाव सहन बाध्य भएको उनी बताउँछिन् ।

हामीले महिलाको उपस्थिति बढाउन, सशक्तिकरणका अनेक नीति बनाउँछौ । महिलाको नाममा सम्पत्ति पास गर्दा २५/३० प्रतिशत छुट भनीरहँदा सरकारले सम्पत्तिको अधिकारमा महिलाको पहुँच बढेको देख्छ । तर शहरी क्षेत्रमा नै भइरहेका यस्तै किसिमका घटनाहरुको बारेमा अध्ययन त परको कुरा सोच्दा समेत सोच्दैन । यो एक प्रतिनिधि घटना मात्रै हो । तर यस किसिमका घटनाहरु शहरी क्षेत्रमा हाम्रो नजरमा नपर्ने गरी भइरहेका छन् ।

सबै हिंसाको चोट देखिँदैन । गाउँगाउँमा पुगेर हामी घरेलु हिंसाका बारेमा अध्ययन गर्छौँ तर शहर भित्रै लुकेका यस किसिमका मानसिक हिंसाका विषयमा हामी बोल्दैनौ । हिंसाको कुनै आकार हुँदैन । यसको मापन गर्न सकिँदैन । घरको इज्जत, प्रतिष्ठा जोगाउनका लागि आखिर कहिले सम्म महिलाले हिंसा सहनु पर्ने ? महिलाले सहनुपर्छ भनी सिकाउने यो समाजले पुरुषले नारीको सम्मान गर्नुपर्छ भनी कहिले सिकाउने ?

हेल्थ रिसर्च एन्ड सोसियल डेभलपमेन्ट फोरममा प्रकाशित प्रतिवेदनका अनुसार नेपालमा महिलाहरुले घरेलु हिंसा, यौन हिंसा, बलात्कार, चेलीबेटी बेचबिखन, दाइजो प्रथाका कारण श्रीमान्को परिवारले दिने शारिरीक तथा मानसिक पीडा लगायतका विविध समस्याहरु जीवनमा कुनै न कुनै चरणमा भोग्ने गरेका छन् । पछिल्लो समयमा सामाजिक सञ्जालको विकाससँगै महिलाहरुमा सचेतता बढ्दै गएता पनि आफूले भोगेको पीडालाई लिएर महिलाहरुले आवाज उठाउन सकेका छैनन् ।

कुनै महिलाहरुले आफूले भोगिरहेको समस्याको बारेमा आवाज उठाउन खोजेता पनि पितृसत्तात्मक व्यवस्था हाबी भएको हाम्रो समाजले महिलालाई नै उल्टै प्रश्न गर्ने, हेयको दृष्टिले हेर्ने गरेका कारण हिंसा सहिरहेका कैयौँ आवाजहरु दब्बिन पुगेका छन् ।

नोभेम्बर २५ बाट सुरु भएको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान आज डिसेम्बर १० मा अन्त्य हुँदै छ । यसबीचमा विभिन्न संघसंस्थाहरुले महिला हिंसा अन्त्य गर्नका लागि विभिन्न कार्यक्रमहरु गरेका छन् । महिला सशक्तिकरणका कैयौं कार्यक्रमहरुमा हामीले एक्यबद्धता जनाएका छौँ तर हाम्रै वरीपरी कसैले आफ्नो ज्यानको सुरक्षाका लागि गुहार मागीरहँदा हामी चुपचाप बस्छौँ । हामीले थाहा पाएर पनि केही नभएको जस्तो गर्छौँ । जबसम्म हाम्रो चुप्पी टोडीदैन, सर्भाइभरलाई नै लिएर गरिने अनेक प्रश्नहरुको सिलसिला बन्द हुँदैन तबसम्म यो सशक्तिकरणको आवाज, यो अभियानको सार्थकता पूरा नहोला कि ?

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।