भारतले निर्यात रोकेपछि प्याज किलोमै ५० रुपैयाँ महंगियो, ३ वर्षमा नेपालीले खाए ३ अर्बको विदेशी प्याज    

0
Shares

भारतले प्याजको निर्यातमा पुनः प्रतिबन्ध लगायो । भारतको वाणिज्य एवं उद्योग मन्त्रालय अन्तर्गतको विदेश व्यापार महानिर्देशनलायले सन् २०२४ को मार्च ३१ (चैत १८ गते) सम्मका लागि प्याज निर्यातमा रोक लगाएको छ । यस्तो निर्णयले अब २०८१ वैशाखसम्म भारतीय सरकारको नीतिको असर नेपाली भान्सामा पर्ने देखिएको छ ।
 
अन्य मुलुकका सरकारको आग्रह बमोजिम सरकारले अनुमति दिएमा भने प्याज निर्यात हुन सक्ने पनि महानिर्देशनलायको सूचनामा उल्लेख छ । यसको अर्थ नेपालले भारतबाट प्याज आयात गर्ने हो भने भारत सरकारसँग नेपाल सरकारले आधिकारीक रुपमा अनुमती लिनु पर्ने छ । 
 
तीन महिनाअघि डिसेम्बर अन्तिमसम्मका लागि प्याजमा ४० प्रतिशत निर्यात कर लगाएको भारतले अहिले निर्यातमा नै पूर्ण रोक लगाएको हो । यसअघि भारतले अक्टोबर ८ मा वैदेशिक व्यापार नीतिमा संशोधन गर्दै प्याजको न्यूनतम निर्यात मूल्य प्रतिमेट्रिक टन ८०० डलर तोकेको थियो । 
 
बढ्दै प्याजको भाउ
 
भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएपछिको एक कारोबार दिनमै कालिमाटी फलफूल तथा तरकारी बजारमा प्रतिकेजी प्याजको भाउ ५० रुपैयाँसम्म बढेको छ। कालिमाटीमा मंसिर १८ गते ९७.५ रुपैयाँमा कारोबार भएको प्याजको मूल्य मंसिर २५ गतेसम्म आइपुग्दा १४१ रुपैयाँ प्रतिकेजी पुगेको छ  । भारतले प्रतिबन्ध लगाएपछि प्याजको पहिलो कारोबार नै प्याजको भाउ ५० रुपैयाँ बढेको  हो ।
 
भारतले बिहीबार एक सूचना जारी गर्दै शनिबारदेखि प्याजको निर्यात रोक्ने जनाएको थियो। यसअघि व्यवसायीहरुले भ्याटको कारण देखाउँदै प्याज आयातमा पूर्ण प्रतिबन्ध लगाएका थिए । भ्याटप्रति व्यवसायीहरुको विरोध र भारतको प्रतिबन्धले कालिमाटीमा ६ दिन प्याजको कारोबार नै नभएको कालिमाटी फलफूल तथा तरकारी बजार समितीका सूचना अधिकारी विनय श्रेष्ठले बताए  ।  
 
३ वर्षमा झण्डै ३ अर्बको प्याज आयात
 
नेपालले प्याज आयातको लागि वर्षेनी करोडौं रकम खर्चिने गरेको छ । नेपालले मुख्यतः भारत र चीनबाट प्याज आयात गर्ने गरेको छ । नेपालले यी दुई देशबाट तीन वर्षको अवधिमा २ अर्ब ८४ करोडको प्याज आयात गरेको छ। 
 
भन्सार विभागका अनुसार गत आर्थिक वर्ष (२०७९/८०) मा नेपालले उक्त दुई देशहरुबाट ११ करोड ७४ लाख ४ हजार रुपैयाँ बराबरको १३ लाख २८ हजार ६११ केजी प्याज आयात गरेको छ । जसवापत सरकारलाई १ करोड ४२ लाख ६६ हजार रुपैयाँ राजस्व बुझाएको छ।
 
भारतबाट ७ करोड १० लाख ५५ हजार रुपैयाँ बराबरको १२ लाख ६ हजार ११ केजी सुकेको प्याज आयात गरेको छ । जसबापत सरकारलाई ८३ लाख ३२ हजार रुपैयाँ राजस्व बुझाइएको छ ।  
 
सोही अवधिमा चीनबाट ४ करोड ६३ लाख ४९ हजार रुपैयाँ बराबरको १ लाख २२ हजार ६०० केजी प्याज आयात भएको छ । जसबापत सरकारलाई ५९ लाख ३४ हजार राजस्व बुझाइएको छ। 
 
यस्तै नेपालले आर्थिक वर्ष २०७८/७९ मा २७ करोड ५९ लाख ३७ हजार रुपैयाँ बराबरको ५२ लाख ८८ हजार ८२४ किलो  प्याज आयात गरेको थियो । जसवापत सरकालाई २ करोड ५२ लाख ९८ हजार राजस्व बुझाइएको छ। 
 
सो वर्ष नेपालले भारतबाट २३ करोड २ लाख रुपैयाँ बराबरको ५१ लाख ६७ हजार किलो प्याज आयात गरेको छ  । जसवापत राजस्व स्वरुप २ करोड ७ लाख ३३ हजार रुपैयाँ सरकारलाई बुझाइएको छ । यस्तै चीनबाट ४ करोड ५६ लाख रुपैयाँ बराबरको सुकेको प्याज आयात भएको छ । जसवापत ४५ लाख ६५ हजार राजस्व बुझाइएको छ। 
 
यस्तै नेपालले आर्थिक वर्ष २०७७/७८ मा २ अर्ब ४५ करोड ४२ लाख रुपैयाँ बराबरको ६ करोड ५६ लाख ९९ हजार केजी प्याज आयात भएको छ । एक वर्ष उक्त परिमाणको प्याज ल्याए वापत सरकारलाई २२ करोड ४७ लाख ४२ हजार रुपैयाँ राजस्व बुझाईएको छ । 
 
जसमध्ये भारतबाट मात्रै २ अर्ब ४४ करोड ५१ लाख ९० हजार रुपैयाँ बराबरको ६ करोड ५२ लाख ८२ हजार किलो प्याज आयात भएको छ भने चीनबाट ३ करोड ६३ लाख रुपैयाँ बरारबको २ लाख ५५ हजार किलो प्याज आयात भएको छ । भारत र चीनबाट प्याज ल्याउँदा क्रमशः २२ करोड २ लाख, ३६ लाख ४१ हजार रुपैयाँ राजस्व बुझाईको छ  । 
 
चार महिनामा २ करोडको प्याज आयात
 
चालु आर्थिक वर्ष २०८०/८१ मा २ अर्ब २२ करोड ८२ लाख रुपैयाँ बराबरको प्याज आयात भएको छ  । नेपालले १ लाख २० हजार ७ सय ८४ किलो प्याज आयातको लागि उक्त रकम खर्चेको हो । 
 
चालु आवमा नेपालले भारतसँगबाट १ करोड ५१ लाख  ३८ हजार रुपैयाँ बराबरको १ लाख ४ हजार ७८४ किलो प्याज आयात भएको छ ।  यस्तै सोही अवधिमा चीनबाट ७१ लाख ४४ हजार रुपैयाँ बराबरको १ लाख ४ हजार ८४ केजी प्याज आयात भएको छ  । चालु आवको चार महिनामा प्याज आयात बापत ५५ लाख ८८ हजार राजस्व बुझाइएको छ । 
 
?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।