नेप्सेमा दोहोरो अंकको करेक्शन, कारोबारमा भने उत्साह

0
Shares

लचिलो मौद्रिक नीतिको आडमा आइतबार सर्किट लागेर बन्द भएको बजारमा त्यसको भोलिपल्टै दोहोरो अंकको करेक्शन आएको छ । राष्ट्र बैंकको मौद्रिक नीतिको त्रैमासिक समीक्षाले आइतबार ९ मिनेट सेयर कारोबार हुँदा ६ प्रतिशत अर्थात १११ अंकले नेप्से बढेर दिनभरका लागि कारोबार बन्द  भएको थियो ।

सोमबार कारोबार खुल्नासाथ ओरालो लागेको बजार दशौं मिनेटमा केही सम्हालिन खोजेपनि बिक्रीचाप अधिक आउँदा पुनः ओरालो लागेको थियो । उच्च बिक्रीचापका बाबजुत सोमबारको बजारमा नेप्से ११ः०६ बजे, ११ः२०, ११ः५४, १३ः०५ र १३ः५५ बजे माथि उक्लने प्रयास भएको थियो । यद्यपी केही बढेपछि अधिक बिक्री चाप आउँदा बजार १५.४० अंकको गिरावट सहित बन्द भएको छ । अन्तिम पटक २ः३३ बजेपछि बजार ओरालो लागेकोमा अन्तिम समयमा पुनः बढ्न खोज्दा ऋणात्मक बजारकाबीच ५ अंक कम घटेर बन्द भएको हो । साढे २ बजे २१ अंकमाथि घटेकाे बजार १५ अंककाे ऋणाात्मक अवस्थामा बन्द भयाे ।

बजार घटेपनि लगानीकर्ताको मनोबल उच्च हुँदा सोमबार कारोबार रकम पौने ५ अर्ब पुगेको छ । यसदिन ३०३ स्क्रिप्टका १ करोड ४६ लाख ९८ हजार ५१७ कित्ता सेयर १ लाख ९ हजार ९१८ वटा संख्यामा खरिद बिक्री भएको छ । कारोबार ४ अर्ब ८४ करोड २७ लाख ७४ हजार ३८७ रुपैयाँमा समेटिएको छ ।

आइतबार नेप्सेमा सर्किट लाग्दासम्मको ९ मिनेटको कारोबार अवधिमा २४४ स्क्रिप्टका १३ करोड ६७ लाख ६१५ कित्ता सेयर ४८ करोड २४ लाख ८२ हजार रुपैयाँमा खरिद बिक्री भएको थियो । राष्ट्र बैंकले ५० लाख रुपैयाँभन्दा माथिको सेयर कर्जाको जोखिमभार १५० बाट १२५ प्रतिशतमा झारेपछि त्यसको सकारात्मक असर आइतबारको बजारमा परेको थियो । यसअघि ५० लाखभन्दा बढीको सेयर धितो कर्जाको जोखिम भार १५० प्रतिशत थियो ।

यसदिन कारोबारमा आएका धेरै उपसमुहगत सूचक ऋणात्मक भएकोमा म्युचुअल फन्डको इन्डेक्स सर्वाधिक २.१४ प्रतिशतले बढको छ भने निर्जीवन बीमा १.३७ प्रतिशत, लघुवित्त ०.४४ र उत्पादन तथा प्रशोधनमुलक ०.२७ प्रतिशतले बढेको छ । विकास बैंक सर्वाधिक २.०९ प्रतिशतले घटेको छ भने बैंकिङ्ग, वित्त, होटल तथा पर्यटनमुलक, लगानी, अन्य र ब्यापारको इन्सेक्ड पनि १ प्रतिशतभन्दा धेरै घटेर बन्द भएको छ। जलविद्युत र जीवन बीमाको इन्डेक्स एक प्रतिशतभन्दा कमले घटेका छन् ।

सोमबारको बजारमा धेरै कारोबार हुने कम्पनीहरुमा बीमा क्षेत्रका कम्पनी अग्र स्थानमा देखिएका छन् , शीर्ष दशमध्ये ६ वटा बीमाका कम्पनी छन् । यसदिन सोनापुर मिनरल्सको सर्वाधिक २५ करोड १५ लाख ६० हजार रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार कित्ता र संख्याका आधारमा समेत कम्पनी शीर्ष स्थानमा रह्यो । कम्पनीको ७ लाख ८४ हजार ६५० कित्ता सेयर १३ हजार ९४४ वटा संख्यामा खरिद बिक्री भएका छन् ।

यसैगरी आज रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको १६ करोड ५७ लाख ६६ हजार, सिटिजन लाइफको १४ करोड ५६ लाख ७६ हजार, माउन्टेन इनर्जीको १४ करोड ४० लाख ६९ हजार र शिवम् सिमेन्टको १३ करोड ७३ लाख १७ हजार रुपैयाँको धितोपत्र खरिद बिक्री भएको छ। सानिमा जीआईसी, सन नेपाल लाइफ र सोल्टी होटलको १० करोड माथिको सेयर कारोबार हुँदा आईएमई लाइफ र आइएमई प्रुडेन्सियल इन्स्योरेन्स पनि शीर्ष कारोबार हुने दश कम्पनीमा समेटिएका छन् ।

बोर्टलर्स नेपाल (बालाजु) लिमिटेड, सामुदायिक लघुवित्त, दोल्ती पावर कम्पनी, हाथवे इन्भेष्टमेन्ट कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै इन्फिनिटी लघुवित्त ९.६० प्रतिशत, मानुषी लघुवित्त ९.३३ प्रतिशत, सानिमा मिडिल तमोर ८.०२ प्रतिशत, सनराइज ब्लूचिप फन्ड ८ प्रतिशत, गुराँस लघुवित्त ७.५४ प्रतिशत र विजय लघुवित्तको सेयर मूल्य ७ प्रतिशतले बढेको छ ।

उता आजको बजारमा समता लघुवित्तको सेयर मूल्य ७.१५ प्रतिशतले घटेर ६१० रुपैयाँमा झरेको छ । न्यून लाभांश घोषणा गर्दा लगानीकर्ताले कम्पनीको सेयर बिक्री गरेका हुन् । यस्तै मन्दाकिनी ५.८७ प्रतिशत, स्वाभिमान लघुवित्त ५.४७ प्रतिशत, एशियन हाइड्रोपावर ५.३८ प्रतिशत र अपर स्याङ्गे हाइड्रोपावरको ५.२६ प्रतिशतले मूल्य घटेको छ ।

सोमबारको गिरावटपछि समग्र बजार पुँजीकरण २३ अर्ब ७६ करोड २ लाख रुपैयाँले घटेर ३० खर्ब ४ अर्ब ५० करोड ५३ लाख रुपैयाँमा समेटिएको छ । हिजो आइतबार ३० खर्ब २८ अर्ब २६ करोड ५५ लाख रुपैयाँ बजार पुँजीकरण थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।