महानगरले व्यवस्थापन गर्नेमा आशावादी छैनन् फुटपाथ व्यवसायी, ‘तथ्यांक संकलनको काम हुँदैछ’ – महानगर

0
Shares

केही समय पहिला फुटपाथ व्यवसाय गरेर आय आर्जन गरिरहेकी गोमा सुवेदी अहिले विदेश जाने तयारीमा छिन् । उनले फुटपाथ पसल छाडेको एक वर्ष बित्यो । फुटपाथमा व्यापार गरेरैै आफ्ना बालबच्चा पढाइरहेकी उनलाई महानगरपालिका मेयर बालेन्द्र शाहले केही व्यवस्था गर्छन् कि जस्तो लाग्थ्यो ।

अब त उनको त्यो आश पनि मरेर गयो । उनले अब नेपालमा केही होला भनेर सोच्न छाडिसकिन् । बालेनले व्यवस्थापन नगरेपछि उनले बानेश्वरको एक ठाउँमा मासिक भाडा तिरेर पनि व्यवसाय गरिन् । तर त्यो व्यवसायले उनलाई र उनको परिवारलाई जीविकोपार्जन गर्न सकस भयो । धेरै व्यापार नहुने तर सटरको जस्तै भाडा तिर्नु पर्ने भएको हुनाले उनी त्यँहा टिकिरहन सकिनन् । उनले रोजिन् विदेशको बाटो ।

काठमाण्डौं महानगरका मेयर शाहले महानगरको सौन्दर्यलाई बिगारेको भन्दै फुटपाथमा रहेका पसलहरु हटाएका थिए । उनले फुटपाथ व्यवसायीहरुलाई व्यवस्थित गर्ने बताउँदै आइरहेका छन् । तर १ वर्ष बितिसक्दा पनि उनीहरुलाई व्यवस्थित गर्न सकेको छैन । उनीहरुको आम्दानीको स्रोत नै गुमेको छ । धेरैजसो त विदेश पलायन भइसके ।

यस्तै अर्की फुटपाथ व्यवसायी गीता पौडेलले तरकारी बेचेर २०-२२ वर्ष फुटपाथमा बिताइन् । काठमाण्डौंमा बालेनको नेतृत्व आएदेखि उनले फुटपाथ छाडेर बानेश्वरमै भाडा तिरेर व्यवस्थित ठाउँ लिइन् । सर्लाहीबाट २५ वर्षमा काठमाण्डौं छिरेकी गीतालाई अहिले महानगरको डर छैन, घाम पानीको मतलब छैन । उनले अहिले ढुक्कले व्यापार गर्न थालेकी छन् तर उनलाई महानगरले लगेको ४० हजारको सामानको भने याद आइरहन्छ । ६ महिना अघि फुटपाथमा व्यापार गरेको भन्दै उनको सामान महानगरका कर्मचारीले लगे । उनी सामान लिन पनि गएकी थिइन् । तर उनको सामान फिर्ता भएन ।

महानगरले आफूहरुलाई व्यवस्थित गर्न नसकेको अर्का फुटपाथ व्यवसायी रमेश जोशी बताउँछन् । आर्थिक मन्दीका बेला बालेनले झन आगोमाथि घिउ हालेको उनी बताउँछन् । गीताको जस्तै उनको सामान पनि महानगरले लगिदिएको थियो । तर उनको पनि सामान फिर्ता भएको छैन् । महानगरले कहिले २ हजार कहिले ३ हजार गर्दै उनको १० हजारको सामान लगेको उनको भनाई छ । उनलाई अब महानगरले आफूहरुलाई व्यवस्थापन गर्छ कि भन्ने आश छैन । तर सामान फिर्ता भए हुन्थ्यो जस्तो लाग्छ ।

के भन्छन् अभियन्ता ई ?

फुटपाथ व्यवस्थापन लगायतका माग राखेका अभियन्ता ई ले काठमाडौं महानगरपालिकासँग चार बुँदे सहमति भएपछि धर्ना स्थगित गरेका थिए महानगरपालिकाले फुटपाथमा व्यापार गर्दै गुजारा चलाउँदै आएकाहरुमाथि धरपकड गर्दै हटाएको विरोधमा विभिन्न माग राख्दै उनी ११९ घण्टासम्म उभिएका थिए।

सहमतिमा फुटपाथ तथा सार्वजनिक स्थलमा व्यापार गर्ने क्रममा जफत गरिएका सामान काठमाडौं महानगरपालिकाले स्टोरमा भएसम्म यकिन गरी सम्बन्धित धनीलाई सामान फिर्ता गर्ने बताएको थियो । तर उक्त सामान फिर्ता गर्न नसक्नु महानगरको सबैभन्दा ठूलो कमजोरी भएको अभियन्ता ईको भनाइ छ । उनले भने,‘कसको सामान कुन हो भनी यकिन नगरी सामान जफत गर्नु महानगरको गल्ती हो । यसरी उठाउँदा सामान फिर्ता गर्न नसकेको उनले बताए ।

अहिले भने महानगरले सामान जफत नगरी सम्झाएर मात्रै छाड्ने गरेको उनको भनाई छ । यस्तै उनले अनौपचारिक क्षेत्रमार्फत् हुने व्यापार व्यवसायलाई व्यवस्थित गर्न व्यापार गर्ने स्थल, समय, व्यापार गर्न आवश्यक मानिने व्यक्ति यकिन गर्न दुई हप्ता अगाडि मात्रै समिति गठन गरेको उनको भनाई छ ।
फुटपाथको लागि स्थान उपलब्ध गराउने विधि, प्रक्रिया तथा कानुनी व्यवस्था समेतको प्रबन्ध गर्नुपर्ने विषयमा समिति गठन भएको उनको भनाइ छ ।
यस्तै उनले अहिले रत्नपार्क लगायतका मुख्य सडक व्यापारीले व्यापार गर्नको लागि बिहान बेलुकाको समय दिएको बताए । उनको अभियानले गर्दा महानगरभित्रका व्यापारीलाई केही हदसम्म सहज भएको उनको जिकीर छ ।

के भन्छ महानगर ?

फुटपाथबाट उठाइएको सामान (ठेला, साइकल, मुडा) लगायतका सामान फिर्ता नहुने काठमाण्डौं महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले बताए ।
महानगरको निर्देशन विपरित व्यवसाय संकलन सञ्चालन गर्नेहरुको कारबाही स्वरुप सामान जफत गरिएको बताउँदै उनले कपडा, फलफूल, तरकारी लगायतका सामान फिर्ता भए पनि ठेला, साइकल, मुडा जस्ता सामान फिर्ता नहुने बताए । अझैपनि कसैको सामान फिर्ता गर्न बाँकी भए महानगरको वडा कार्यालयमा सम्पर्क गर्न उनले सुझाएका छन् ।

यस्तै उनले फुटपाथ व्यपस्थापनका लागि चालु आर्थिक वर्षमा दुई अर्ब १५ करोड रुपैयाँ छुट्याएको काठमाण्डौं महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले बताए । अहिले फुटपाथ व्यवसायीहरुको नामावली संकलनको काम भइरहेको उनको भनाइ छ । उनले भने, ‘हामीले अहिले फुटपाथ व्यवसायीहरुको तथ्ंयाक संकलन गर्ने काम गरिरहेका छौं । नामावली संकलन कार्य सकिने वित्तिकै अर्को प्रक्रियातिर लाग्छौं । ’

फुटपाथ व्यवसायीलाई राख्नको लागि महानगरले सडक व्यवस्थापनका लागि हाल वडा नम्बर २६ लैनचौरबाट वडा नम्बर १६ सोह्रखुट्टे हुँदै बालाजुसम्मको सडक किनारा दुवैतर्फ चार करोड ५५ लाख रुपैयाँमा काम भइरहेको उनको भनाइ छ । यस्तै वडा नम्बरं २६ लैनचौरबाट वडा नं २ को लाजिम्पाट, वडा नम्बर-३ को महाराजगञ्जहुँदै चक्रपथसम्मको खण्डका लागि १० करोड रुपैयाँमा सम्झौता भइसकेको छ ।

साथै वडा नम्बरं २८ को लागि तीन करोड ७८ लाख रुपैयाँ छुट्टाइएको छ । वडा नम्बरं ११ को त्रिपुरेश्वरदेखि वडा नं २२ सुन्धारा, वडा नम्बरं २७ र २८ को सिमाना महाबौद्ध, रत्नपार्क, जमलहुँदै वडा नम्बर २६ को लैनचौरसम्मको सडक खण्डका लागि निर्माण पक्षसँग १८ करोड रुपैयाँमा सम्झौता भइसकेको महानगरले जनाएको छ ।

महानगरको वडा नम्बर ४ को बालुवाटार सडक खण्डमा निर्माणका लागि छ करोड ३५ लाख रुपैयाँमा सम्झौता भएको छ । वडा नम्बर ३२ को तीनकुनेदेखि वडा नम्बर ९ सिनामङ्गल, त्रिभुवन विमानस्थल प्रवेशद्वार, सञ्चारग्राम, तिलगङ्गाहुँदै वडा नम्बर ८ को गौशालासम्मका लागि छ करोड ६९ लाख रुपैयाँ सम्झौता भएको छ । त्यसैगरी वडा नं १० नयाँबानेश्वरदेखि वडा नम्बर ९ पुरानो बानेश्वरसम्मका लागि तीन करोड २३ लाख रुपैयाँ बजेट विनियोजन गरिएको महानगरले जनाएको छ ।

यसैगरी, वडा नम्बर २८ को बागबजारदेखि वडा नम्बर २९ चारखाल, वडा नम्बर ३० को सिमाना डिल्लीबजार पिपलबोट, मैतीदेवी चोक, सेतो पुल, वडा नम्बर ९ को पुरानो बानेश्वर, वडा नम्बर ३१ को भीमसेनगोला हुँदै वडा नम्बर ९ को क्षेत्रको सिनामङ्गल सडक खण्डका लागि १० करोड बजेट छुट्याइएको छ ।

साथै, वडा नम्बर १३ को कालीमाटीदेखि सोल्टीमोड हुँदै वडा नम्बर १४ को कलङ्कीसम्म, वडा नम्बर ८ को गौशालादेखि वडा नं ७ को चावहिलसम्म, वडा नं ८ गौशालादेखि वडा नम्बर ९ रातो पुलसम्मको क्षेत्रको सडक खण्डलाई १० करोड खर्च हुने अनुमान गरिएको छ ।

अन्य केही सडकका पनि कतै सम्झौता अन्तिम चरणमा पुगेको छ भने कतै काम सुरु भइसकेको विभागले जानकारी दिएको छ । चालु आवमा महानगरले पूर्वाधार निर्माण तथा सुधारका लागि ७ अर्ब ३४ करोड ६४ लाख ७१ हजार रुपैयाँ विनियोजन गरेको छ ।

महानगरका प्रवक्ता मानन्धरले फुटपाथ व्यवसायीहरुलाई छिट्टै व्यवस्थित ठाउँमा सारिने बताएका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।