शेयर बजार स्थायीत्वतर्फ उन्मुख, लगानीकर्ताको पहिलो रोजाई लघुवित्त

0
Shares

धितोपत्र बोर्डमा नयाँ अध्यक्षको आगमन र बैंक तथा वित्तीय संस्थाहरुमा प्रयाप्त तरलता कायम रहँदा शेयर कर्जामा देखिएको सहजताले शेयर बजार स्थायीत्वतर्फ अगाडि बढेको छ। दैनिक औसत ३० करोड वा सो भन्दा कम शेयर कारोबार हुने गरेकोमा पछिल्लो समय दैनिक जसो ६० करोड वा सो भन्दा बढीको औसत कारोबार हुन थालेको छ। तीन दिनको बढोत्तरी पश्चात बुधबार नेप्सेमा करेक्शन आएपनि बजार अब स्थायीत्वतर्फ उन्मुख भएको छ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा सूचीकृत कम्पनीहरुको गरेको मुनाफाको आंकलनका आधारमा बाठा लगानीकर्ताले लगानी बढाउन थालेका छन् भने बिहीबार लगानीकर्ताको आकर्षण केन्द्र लघुवित्त कम्पनी रह्यो जसले गर्दा शेयरमूल्य बढोत्तरी हुने सबै दश कम्पनी लघुवित्त रहेका छन् भने शिर्ष ठूलो कारोबार हुने दश कम्पनीको सूचीमा पनि पाँच कम्पनी समेटिएका छन्।

गत आवको मुनाफाबाट घोषित लाभांशसँगै पूँजी वृद्धिका लागि हकप्रदको एजेण्डा साधारण सभाबाट पारित गर्न विशेष प्स्ताव राखेपछि लघुवित्तको शेयरमूल्य उकालो लागेको हो। थोरै पूँजी भएका लघुवित्तहरुको शेयर कर्नरिङ्गले पनि शेयरमूल्य बढाउने गरेको एक लगानीकर्ताले बताए। उनले हालको लघुवित्त कम्पनीको वृद्धि प्राकृतिक भन्दा ज्यादा हकप्रदमा उचालिएर भएकाले टिकाउ हुनेमा भने आशंका व्यक्त गरे। हकप्रद आउन निकै समय लाग्ने भएकाले अहिले उचालिएर शेयर किन्नु औचित्यपूर्ण नहुने उनको तर्क थियो।

बिहीबार कारोबारमा आएका उपसमूहका सूचक मिश्रित देखिएका छन्। बाह्र उपसमूहका सूचक मध्ये लघुवित्तको इन्डेक्स ३ प्रतिशत र निर्जीवन बीमा २ प्रतिशत धेरै बढेको छ भने व्यापार, विकास बैंक र जीबन बीमा कम्पनीको इन्डेक्स सामान्य सकारात्मक बनेको छ। बाँकी ७ उपसमूहको परिसूचक घटेका छन्।

बिहीबारको म्याचिङ्ग कारोबारका कारण सिभिल बैंकको संस्थापक शेयरको २० करोड १८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ। सबै शेयर धितोपत्र दलाल नम्बर ४४ बाट खरीद भएको छ भने ब्रोकर नम्बर १३,११ र १० बाट बिक्री भएको छ।

यसैगरि ग्रामिण विकास लघुवित्तको २ करोड ४० लाख र डिप्रोक्स लघुवित्तको २ करोड २० लाख बराबरको काराबार भएको छ। फस्ट माइक्रोफाइनान्स, वोमी माइक्रोफाइनान्स र साना किसान लघुवित्त र प्रभु बैंकको कारोबार एक करोड ५० लाख बढेको छ।

रिलायन्स फाइनान्सको शेयर सबैभन्दा धेरै ५.७३ प्रतिशतले घटेको छ। राष्ट्रिय बीमा कम्पनी संस्थापक, सेन्ट्रल फाइनान्स, हिमालयन पावर, नेपाल इन्स्योरेन्स, अरुण भ्याली माउन्टेन हाईड्रोपावर र सांग्रिला डेभलपमेन्ट बैंकको शेयरमूल्य २ प्रतिशतले घटेको छ।

बिहीबार नेप्से सूचक ३.५१ अंकले बढेर १ हजार २१३ दशमलव ११ बिन्दुमा पुगेको छ । यसदिन १७७ कम्पनीका ३८ लाख ४९ हजार ७२२ कित्ता शेयर ८३ करोड ७० लाख ३५ हजार रुपैयाँमा खरी बिक्री भएका छन्।