पछिल्लो केही दशक यता नेपाली युवाहरु रोजगारीका लागि खाडी मुलुक जाने क्रम बढ्दै गएपछि नेपालले प्राप्त गर्ने विप्रेषणको दर ह्वात्तै बढेको छ ।
विश्व बैंकले प्रकाशन गरेको ‘लेभेरेजीङ डायस्पोरा फाइनान्सेस फर प्राइभेट क्यापिटल मोबीलाइजेसन’ प्रतिवेदनका अनुसार रेमिट्यान्स भित्र्याउने दक्षिण एशियाली मुलुकहरुमा नेपाल चौथो स्थानमा छ । तर जीडिपीको आकारको अनुपातमा धेरै रेमिट्यान्स भित्रयाउने मुलुकमा नेपाल पहिलो स्थानमा छ ।
विश्व बैंकको अध्ययन अनुसार नेपालमा भित्रिएको रेमिट्यान्स कुल ग्राहस्थ उत्पादनको २७ प्रतिशत रहेको छ । कृषि प्रधान देश भनी पहिचान बनाएको नेपालको जीडिपीमा कृषि क्षेत्रको योगदान २४.१ प्रतिशत छ भने विप्रेषणको योगदान २७ प्रतिशत पुगेको छ । यति मात्रै नभई रेमिट्यान्समा निर्भर हुने राष्ट्रहरुको पाँचौ स्थानमा नेपाल रहेको छ ।
नेपालको कुल जनसङ्खया मध्ये ६० प्रतिशत कृषि क्षेत्रमै कार्यरत रहेका छन् । तथापि नेपालको कुल ग्राहस्थ उत्पादन मा कृषि क्षेत्रको उल्लेखनीय भूमिका देखिँदैन। परम्परागत कृषि प्रणाली हाबी भएका कारण नेपालले कृषि क्षेत्रमा ठूलो फड्को मार्न सकेको छैन । आधुनिक कृषिमा आवद्ध हुन नेपाललाई कृषि क्षेत्रको अध्ययन गरेका दक्ष जनशक्तिको आवश्यकता पर्दछ । तर दक्ष जनशक्ति अमेरिका, युरोप लगायतका विकसित मुलुक र अर्ध–दक्ष तथा अदक्ष मानिसहरु खाडी मुलुक जाने क्रम बढेसँगै नेपालको जीडिपी कृषिमा भन्दा धेरै रेमिट्यान्समा निर्भर देखिएको छ ।
दक्षिण एशियाली राष्ट्रहरुमा सर्वाधिक रेमिट्यानस भित्र्याउने राष्ट्र भारत हो । करिब १ अर्ब ४२ करोड जनसङ्ख्या भएको भारतले सन् २०२३ मा १२५ अर्ब अमेरिकी डलर भित्र्याएको छ भने नेपालले ११ अर्ब डलर विप्रेषण प्राप्त गरेको छ । तर भारतको कुल जीडिपीमा रेमिट्यान्सको योगदान ३.४ प्रतिशत छ भने नेपालमा २६.६ प्रतिशत रहेको छ । यसरी दिनानुदिन विकराल बन्दै गएको प्रतिभा पलायनको समस्याले नेपाललाई थप परनिर्भरता तिर धकेलेको सहज अनुमान गर्न सकिन्छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया