काठमाण्डौंका मुख्य व्यापारिक केन्द्रमै छैन व्यापार, धमाधम खाली हुँदै सटर

0
Shares

काठमाण्डौंको मुख्य व्यापारिक केन्द्र असन, न्यूरोड, बसन्तपुर, भोटाहिटी, महाबौद्ध, बानेश्वर लगायत क्षेत्रमा धमाधम सटर खाली हुन थालेका छन् । अहिले काठमाण्डौका मुख्य मुख्य व्यापारिक केन्द्रका मुख्य चोकहरुकै पसल बिक्रीमा रहेको पाइएका छन् ।

कोरोना माहामारीको समयमा भन्दा पहिले सटर नै पाउन मुस्किल पर्ने न्युरोड, असन क्षेत्रमा अहिले टु लेट, ‘कोठा, फ्ल्याट खाली छ, स्पेस एभिएबल जस्ता लेखिएका पोष्टरहरु टाँसिएको देखिन्छ ।

आर्थिक मन्दीको प्रभावले पसल बन्द हुने अवस्थामा पुगेको वसन्तपुर झैँछेमा टु लेट लिखिएको नजिकै पसल सञ्चालन गरिरहेकी विनिता गमाल बताउँछिन् । पहिलाको तुलनामा अहिले व्यापार ५० प्रतिशत घटेको उनको भनाइ छ । अहिले दैनिक ३–४ हजारको कारोबार गर्दै आएको उनी बताउँछिन् । पहिला भने व्यापार अलि धेरै हुने गरेको थियो । उनले पसल सञ्चालन गरेको २० वर्ष भइसक्यो । २० वर्षको अन्तरालमा अहिलेको जस्तो अवस्था पहिले झेल्नु नपरेको उनी बताउँछिन् । ‘व्यापार छैन, पसल बन्द गर्नुको विकल्प के त ?’ उनले प्रश्न गरिन् ।

यस्तै बानेश्वर चोकमा कपडा पसल गरिरहेकी प्रमिला खड्काले कपडा पसल सञ्चालन गरेको ७ वर्ष भयो । कोरोना भाइरस पछिको आर्थिक मन्दीका कारण उनी पसल बन्द गर्ने अवस्थामा पुगेकी छन् । उनले २ वटा सटर लिएर व्यवसाय गरिरहेकी छन् । उनले भनिन्,‘३ वर्ष त आर्थिक मन्दी भएपनि अलि अलि भए पनि आम्दानी भएको छ भनेर पसल बेचिन । अब भने बेच्नै पर्ने भयो, पसल सञ्चालन गर्न सकिएन । ’

पहिलाको तुलनामा अहिले ५० प्रतिशत व्यापार घटेको उनको भनाइ छ । उनकोे सटरको मासिक भाडा १ लाख छ । उनले मासिक ३–४ लाखको कारोबार गर्ने गरेकी छन् ।

३ वर्ष पहिले ८–९ लाखको कारोबार गर्ने गरेको स्मरण गर्दै उनले भनिन्, ‘अहिले अनलाइनबाटै सामान किनबेच हुन्छ । पहिला अनलाइनलाई त्यति महत्व दिइँदैन थियो । सटर भाडा तिर्नु नपर्ने भएको हुनाले अनलाइनबाट सामान बेच्नेले थोरै नाफा राखेर बेच्छन् । त्यसले बजारलाई नै पुरै असर गरेको छ ।’
इन्डियाबाट ल्याइएको सामान नाकामा नै रोकिँदा झन असहज भएको उनले बताइन् ।

उनले भनिन्, ‘ २ महिनामा फेसन जान्छ भनेको बेला सामान आउँदैन, देशको यस्तो अवस्थाले निराश भएर पसल बेच्ने दिन आयो ।’ स्थानीय सरकार र प्रदेश सरकारले आर्थिक मन्दी व्यापार गर्न नसकेका व्यवसायी र नागरिकहरुलाई आर्थिक गतिविधि बढ्ने योजना ल्याए व्यवसायीहरुलाई सहज हुने उनी बताउँछिन् ।

यस्तै डिल्लीबजारमा पसल गरिरहेकी एक व्यापारी पनि देशको अवस्था अनि परिवर्तित व्यवस्थादेखि दिक्क भएर पसल बिक्री गर्दै छन् । काठमाण्डौं महानगरले पार्किङ गर्न नदिँदा व्यापार गर्न नसकेको उनको भनाइ छ । पार्किङबाट उनको पसल पुग्न ५ मिनेट लाग्छ । महानगरले पार्किङलाई व्यवस्थित गर्ने नितिले आफुहरुलाई दुख दिएको बताउँदै उनले भने, ‘५ मिनेट लाएर हिडेर कोही पनि आउँदैनन्, जता नजिक छ उतै जान्छन् त्यसैले पसल बेच्नु पर्यो ।’

महानगरको नीतिका साथै कोभिड–१९ को असर र रुस–युक्रेन युद्धका कारण मुलुकको आर्थिक गतिविधिमा प्रत्यक्ष असर परेको उनको भनाइ छ ।
अहिले व्यापारीलाई मात्रै नभई घरबेटीलाई पनि समस्या पर्ने गरेको छ । घर खाली हुँदा उनीहरुलाई मासिक ३–४ लाख घाटा हुने गरेको छ । आम्दानीको स्रोत नहुँदा उनीहरुलाई बैंकको ऋण तिर्न र जीविकोपार्जन गर्न धौँ धौँ छ ।

यस्तै, बानेश्वरमा नै अनलाइन र सटर दुबैबाट व्यवसाय चलाइरहेका गरिरहेका उमेश पन्तलाई पनि आर्थिक मन्दीले असर गरेको छ । उनी भन्छन्, ‘अनलाइनमार्फत कारोबार गर्दा थोरै फाइदा भएपनि सटरको भाडा र स्टाफलाई दिन पैसा नहुँदा कहिले त पसल छोडिदिनु जस्तै हुन्छ ।’
आर्थिक मन्दीका कारण नागरिकहरूसँग खर्च गर्ने क्षमता नभएका कारण साना व्यवसायीहरु समस्यामा परेको उनको भनाइ छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।