निक्षेप संकलनको दर ब्याजदर करिडोरको तल्लो सीमासम्म पुर्याउन केन्द्रीय बैंकलाई सकस

0
Shares

नेपाल राष्ट्र बैंकलाई अल्पकालिन ब्याजदरलाई ब्याजदर करिडोरको सीमा भित्र कायम गर्न मुस्कील भएको छ । केन्द्रीय बैंकले निक्षेप संकलनको ब्याजदरलाई करिडोरको तल्लो सीमासम्म कायम गर्न खोजेको भएपनि नसकेको हो ।

केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा मार्फत ब्याजदर करिडोरको तल्लो सीमा ३ प्रतिशत कायम गरेको छ । यसभन्दा अघि करिडोरको तल्लो सीमा ४.५ प्रतिशत थियो । निक्षेप संकलन ब्याजदर नै करिडोरको तल्लो सीमा हो । केन्द्रीय बैंकले अन्तर बैंकदर ब्याजदर करिडोर भन्दा तल आएको खण्डमा निक्षेप संकलन गर्छ ।

पछिल्लो समयमा वित्तीय प्रणालीमा अधिक तरलता भएसंगै अन्तर बैंकदर निक्षेप संकलन दर अर्थात ब्याजदर करिडोरको तल्लो सीमा भन्दा तल आयो । त्यसपछि केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण जारी गरेर अन्तर बैंक दर बढाउने प्रयास गर्यो । अधिक तरलताका कारण ब्याजदर करिडोरको सीमा भन्दा अल्पकालिन ब्याजदर बाहिर गयो । त्यसलाइ करिडोर भित्र ल्याउनका लागि केन्द्रीय बैंकले मंसिर महिना सुरु भएयता एक खर्ब ३७ अर्ब २५ करोड रुपैयाँ बराबरको निक्षेप संकलन गरेको छ । निक्षेप संकलन मार्फत बैंकिङ प्रणालीबाट तानेको करिब ९० अर्ब रुपैयाँ केन्द्रीय बैंकसंग नै छ अर्थात परिपक्क हुन बाँकी नै छ । त्यतिहुँदा पनि निक्षेप संकलनको दरले ब्याजदर करिडोरको तल्लो सीमा छुन सकेको छैन ।

केन्द्रीय बैंकले आक्रामक रुपमा वित्तीय प्रणालीको तरलता निक्षेप संकलन मार्फत खिचेर अन्तर बैंक दरलाई ब्याजदर करिडोरको तल्लो सीमासम्म पु्रयाउने प्रयास सफल हुन सकेको छैन । सोही अनुसार केन्द्रीय बैंकले मंगलबार १० अर्ब रुपैयाँ बरावरको निक्षेप संकलन गरेको छ ।

तर, मंगलबारको निक्षेप संकलनको ब्याजदर यसभन्दा अघिको तुलनामा घटी करिडोरको तल्लो सीमा भन्दा करिब एक प्रतिशत विन्दु तल छ । मंगलबारको निक्षेप संकलनको दर झनै घटेपछि बुधबार पनि १४ दिन अवधिको २५ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने केन्द्रीय बैंकले जनाएको छ ।

मंगलबार केन्द्रीय बैंकले ७ दिनका लागि १० अर्बको निक्षेप संकलन गरेको छ । उक्त निक्षेप संकलनका लागि १२ संस्थाले ७० आवेदन बुझाएका थिए । केन्द्रीय बैंकले १० अर्बको निक्षेप संकलन आह्वान गर्दा २८ अर्ब रुपैयाँ बरावरको माग आवेदन परेको थियो । बैंक तथा वित्तीय सस्थासंग अधिक तरलता भएपनि निक्षेप संकलनमा पनि उच्च प्रतिस्पर्धा हुन गई निक्षेप संकलनको ब्याजदर पनि घटेको स्पष्ट हुन्छ ।

मंगलबारको निक्षेप संकलनमा आवेदकले अधिकतम २.८९९९ प्रतिशत ब्याज माग गरेका छन । त्यसैगरी आवेदकले माग गरेको न्यूनतम ब्याजदर २.२२३१ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ। मंगलबारको निक्षेप संकलनको औसत ब्याजदर २.४७८४ प्रतिशत कायम भएको छ । यसभन्दा अघि मंसिर २८ गतेको निक्षेप संकलनको औसत ब्याजदर २.९९५७ प्रतिशत थियो । मंसिर २९ गतेको निक्षेप संकलन १४ दिन अवधिको थियो भने मंगलबार ७ दिनपछि परिपक्क हुनेछ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।