टिकटकलाई प्रतिबन्धको सट्टा नियमन र करको दायरामा ल्याउने प्रयत्न गर्दा राम्रो

0
Shares

नेपाली जनताले एकदमै रुचाएको सामाजिक संजाल टिकटक एकाएक बन्द गर्ने सरकारको निर्णयमा विभिन्न टिका टिप्पणीहरु भएका छन् । अनेकन टिप्पणीका बावजुद सरकारले अन्ततः नोभेम्बर १३ तारिखमा नेपालमा टिकटक पुर्णतया बन्द गर्ने निर्णय गर्यो । उक्त विषयलाई लिएर सरकारको दुरगामी कदमप्रति सामाजिक संजालहरुमा खुबै भत्सर्ना भयो ।

टिकटक प्रतिबन्धलाई लिएर मानिसहरु दुई समूहमा विभाजित भएका छन् । एकथरीले सरकारको निर्णयको आलोचना गरेका छन् भने अर्काथरीले समर्थन गरेका छन् । तर सरकारले टिकटक बन्द गर्नु सही हो त भन्ने प्रश्नको जवाफ सजिलो भने छैन । यसलाई विभिन्न आयामबाट हुेर्नुपर्छ ।

नेपाल सरकारको प्रवक्ता तथा सञ्चार तथा सूचना मन्त्री रेखा शर्माले टिकटक बन्द गर्नुको मुख्य कारण टिकटकमा आउने कन्टेन्टले सामाजिक सद्भाव बिथोलेको बताएकी छिन् । सरकारले टिकटकमा बन्देज लगाउनुको कारण टिकटकले अश्लील क्रियाकलाप बढाएको, अपाच्चय शब्द प्रयोग गरेर भलगर कन्टेन्ट बनाईनुलाई लिएको छ ।

यी कारण देखाएर टिकटक बन्द गर्नु भन्दापनि उक्त प्रकारका भिडियो पोस्ट गर्ने व्यक्तिहरूको टिकटक अकाउन्ट बन्द गरिनुपर्ने थियो । नेपालमा कुनैपनि सामाजिक संजालको सेवा बन्द गर्ने कानुनी आधार छैन । कानुनले निषेध गरेको कार्य गर्ने व्यक्तिलाई कारबाही गर्ने कानुन पनि छन् तर सेवा प्रदायकलाई नियमन गर्ने कुनै कानुन छैन ।

नेपालमा गाली बेइज्जती सम्बन्धी कानुनी व्यवस्थाहरु बारेमा खोजेर हेर्दा गाली बेइज्जती ऐन २०१६ स्पष्ट देखापर्छ । उक्त ऐन मार्फत कसैले मानहानी भएको महसुस गरेको खण्डमा मुद्दा दिन पाउँछ । उक्त कानुनको प्रयोग गरेर नकारात्मक कन्टेन्ट प्रवाह गरेर भिडियो बनाउनेलाई नियन्त्रण गर्न पनि सकिन्छ ।

पछिल्लो समयमा टिकटक आम मानिसहरुका माझमा एकदमै लोकप्रिय बन्दै गएको थियो । टिकटकका केही नकारात्मक पक्ष भएतापनि धेरै सकारात्मक पक्षहरु छन् । टिकटक मार्फत अवसर नपाई लुकेर बसेका प्रतिभाहरू बाहिर आएका थिए भने धेरै मानिसहरुले टिकटकबाटै व्यापार गरेर आर्थिक आम्दानी पनि गर्दै आएका थिए ।

कतिपय मानिसहरुले टिकटकबाटै जीविकोपार्जन समेत गरेका थिए । टिकटक लाइभमार्फत आर्जन गरेको रकम दीन, दुखी, तथा पीडितहरुलाई सहयोग गर्दै आएका उदाहरण प्रशस्त भेटिन्छन् । यस्तै टिकटक मार्फत मानिसहरुले विभिन्न देशहरूमा घटेका घटनाहरु सजिलै हेरिरहेका थिए ।

साथै मानिसहरुले विभिन्न सीप जस्तै खानाका अनेकौ परिकार बनाउने, कपडाका नयाँ डिजाइन सिलाई गर्ने, नृत्य सिक्ने लगायतका सीप निःशुल्क सिक्दै आएका थिए। यसरी टिकटक सबै उमेर समुहका मानिसहरु बिच भरपर्दो र लाभदायक संजाल बनिरहेको थियो ।

यि सबै कुराहरु सोच्दै गर्दा मनमा प्रश्न आउछ, के टिकटक बन्द गरेर सरकारले सहि गर्यो त ?

विभिन्न व्यक्तिहरूले टिकटकले विकृति ल्याएको छ भन्ने टिप्पणी सुन्नमा आउँछ । एकछिन ती टिप्पणीलाई खण्डन गर्ने हो भने टिकटकले विकृति मात्रै पनि ल्याएको भने छैन । टिकटक धेरै नयाँ उद्यमीहरूलाई आफ्नो बजार प्रवद्धन गर्ने थलो बनेको पनि छ । मौका नपाएका प्रतिभाहरुलाई आफ्नो प्रतिभा देखाउन राम्रो प्याल्टफर्म बनेको छ । यति मात्र नभएर टिकटकले नेपाली गीतसंगीतलाई, संस्कृतिलाई अन्तराष्ट्रीयकरण गर्न मदत गरेको छ ।

सामाजिक संजालको कन्टेन्टमा समस्या छ भने त्यसलाई नियमन गर्ने हो, बन्द गर्ने होईन । जस्तै औँलामा घाउ भयो भन्दैमा औँला नै काटेर हामी फाल्दैनौँ, उपचार गरी घाउ निको पार्छौ । त्यसैगरी सरकारले पनि टिकटकको कन्टेन्ट भलगर भयो भन्दैमा टिकटकमाथि नै प्रतिबन्ध लगाउनु हुँदैन ।

नेपालमा टिकटकका २२ लाख बढी प्रयोगकर्ता छन् । ती सबैले नकारात्मक कन्टेन्ट पोस्ट गर्दैनन् । नकारात्मक कन्टेन्ट दिनेहरुलाई प्राविधिक रुपमा नियन्त्रण गर्न सक्नुपर्छ । समस्या टिकटकमा मात्रै पनि छैन, अन्य सामाजिक सञ्जालमा पनि मानिसहरुले अपाच्य शब्दहरुको प्रयोग गरी गाली गलौज गर्ने गरेका छन् । तसर्थ यसरी टिकटकलाई प्रतिबन्ध लगाउनुको सट्टा सामाजिक संजालहरूलाई अनुगमन, नियमन र करको दायरामा ल्याउने प्रयत्न गर्दा राम्रो हुने देखिन्छ ।

(लेखक हाल मदन भण्डारी मेमोरियल कलेजमा स्नातक चौथो वर्षमा अध्ययनरत छन् ।)

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।