इन्भेष्टमेण्ट मेगा बैंकलाई ऋणपत्रबाट ४ अर्ब दीर्घकालीन स्रोत जुटाउन अनुमति

0
Shares

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले दीर्घकालीन स्रोत परिचालनका लागि ऋणपत्र बिक्रीबाट ४ अर्बभन्दा बढी रकम उठाउन अनुमति पाएको छ ।

नेपाल इन्भेष्टमेण्ट बैंकले पुस २ गते सोमबार पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट ४ अर्ब ४ करोड मूल्यको ऋणपत्र निष्कासन गर्न अनुमति पाएको हो । बैंकले प्रतिइकाई एक हजार रुपैयाँ अंकित दरमा ४० लाख ४० हजार कित्ता ऋणपत्र निष्कासन गर्न स्वीकृति पाएको छ ।

बैंकले वार्षिक १० प्रतिशत ब्याजदर प्रदान गर्नेगरी आगामी १० वर्ष अवधिको ‘एनआईएमबी डिबेन्चर २०९०’ नामक ऋणपत्र निष्कासन गर्न लागेको हो ।

सेबोनले स्वीकृति पाएको उक्त ऋणपत्रमध्ये ४० प्रतिशतले हुन आउने १६ लाख १६ हजार कित्ता बैंकले सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने २४ लाख २४ हजार कित्ता व्यक्तिगत तबरबाट विक्री गर्नेछ ।

बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

ऋणपत्र के हो ?

कुल ऋण पुँजीलाई सर्वसाधारण सबैले खरिद गर्न सक्ने गरी स–साना एकाइहरुमा विभाजित गरीसकेपछिको एक अंश वा इकाइ नै ऋणपत्र हो । कम्पनिले सार्वजनिक रुपमा सुचना प्रकाशन गरी कम्पनिको अचल जायजेथा धितो वा बन्धक राखी वा नराखी ऋण पँुजी उठाउन सक्छ । यो एक प्रकारले भन्ने हो भने बैंकले व्यक्ति वा संस्थासँग ऋण लिए जस्तै हो ।

बैंकले निश्चित अवधिका लागि ऋणपत्र जारी गर्ने गर्छन् । त्यसमा कति रकमको ऋणपत्र किन्ने भनेर सर्वसाधारणले आवेदन दिनुपर्ने हुन्छ । ऋणपत्रको पनि बैंकहरुले निक्षेपको जस्तै ब्याज भुक्तानी गर्छन् । तर यो लामो अवधिका लागिमात्रै हुन्छ । यसमा ऋणको अवधि, ब्याजदर, ब्याज गणना र भुक्तानीको तरिका र समय उल्लेख गरिएको हुन्छ, जसको कार्यान्वयन कानुनतः बाध्यकारी हुन्छ ।

नेपाल राष्ट्र बैंकले २०७७ पछि दीर्घकालीन लगानीका लागि बैंकहरुलाई चुक्ता पुँजीको २५ प्रतिशतसम्म ऋणपत्र जारी गर्नुपर्ने व्यवस्थापछि बैंकहरुले ऋणपत्र बिक्रीबाट स्रोत संकलनलाई तीव्रता दिएका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।