वित्तीय प्रणालीको सवा खर्ब खिचिएपछि ब्याजदर करिडोरको तल्लो सीमामा निक्षेप दर कायम

0
Shares

नेपाल राष्ट्र बैंकलाई निक्षेप संकलनको दर ब्याजदर करिडोरको तल्लो सीमा (निक्षेप संकलन दर ३ प्रतिशत) कायम गर्नका लागि एक महिना भन्दा धेरै समय लागेको छ । केन्द्रीय बैंकले अन्तर बैंक दर बढाउन गत मंसिर ६ देखि पुस ११ गते सम्म १४ पटक निक्षेप संकलन गरेपछि मात्र सम्भव भएको हो ।

चालु आर्थिक वर्षको मौद्रिक नीति अनुसार अन्तर बैंक दर ब्याजदर करिडोरको तल्लो सीमा निर्धारण गर्ने निक्षेप संकलनको दर भन्दा तल गएको खण्डमा निक्षेप संकलन गर्नुपर्ने व्यवस्था छ । सो अनुसार केन्द्रीय बैंकले कात्तिक महिनामा निक्षेप संकलन गरेन । सरकारलाई आन्तरिक ऋणको लागत कम गर्नका लागि पनि केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणलाई प्रयोग गरेन ।

तर, वित्तीय प्रणालीमा तरलता बढ्ने तथा कर्जाको माग नबढ्ने अवस्था गहिरिँदै गएपछि मंसिर महीनादेखि केन्द्रीय बैंकले तरलता व्यवस्थापनसँग ब्याजदर स्थायित्वका लागि निक्षेप संकलन उपकरणको प्रयोग गर्न सुरु गर्यो । तरलता तथा ब्याजदर व्यवस्थापनका लागि जारी गरेको निक्षेप संकलनको दर नै एक प्रतिशत भन्दा तल झर्यो । मौद्रिक नीति अनुसार निक्षेप संकलन दर ३ प्रतिशत हुनुपर्नेमा बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि एक प्रतिशत भन्दा तल आएपछि केन्द्रीय बैंकले एक दिनको अन्तरमा निरन्तर निक्षेप संकलन उपकरण प्रयोग गर्न थाल्यो ।

केन्द्रीय बैंकले एक साता अवधिको १० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलनबाट सुरु गरेकोमा त्यसलाई बढाउँदै १४ दिनको ३५ अर्ब रुपैयाँसम्म एक पटकमा खिच्न थाल्यो । त्यसपछि बल्ल निक्षेप संकलनको ब्याजदर ३ प्रतिशत पुगेको हो । त्यसमा पनि बुधबार जारी भएको १४ दिने अवधिको ३५ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलनले ब्याजदर बढाएको हो ।

केन्द्रीय बैंकले गत मंसिर ६ गते देखि पुस ११ सम्म १४ पटक निक्षेप संकलन गरिसकेको छ । यो अवधिमा केन्द्रीय बैंकले २ खर्ब ५० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलनको माग गरेको थियो । त्यसमा बैंक तथा वित्तीय संस्थाले २ खर्ब ३२ अर्ब रुपैयाँ मात्र निक्षेप संकलनमा लगानी गरेका थिए । त्यसमध्ये पनि एक खर्ब २५ अर्ब रुपैयाँ केन्द्रीय बैंकसंग छ । बाँकी रकम भने परिपक्क भएपछि बैंक वित्तीय संस्थामा फिर्ता भइसकेको छ ।

वित्तीय प्रणालमिा अधिक तरलता भएपछि अन्तर बैंक दर घट्छ । अन्तर बैंक दर धेरै नघटोस् भनेर वित्तीय प्रणालीको तरलता खिच्न अल्पकालिन अवधिका लागि केन्द्रीय बैंकले निक्षेप संकलन गर्छ । निक्षेप संकलनले ब्याजदर करिडोरभित्र राख्ने तथा तरलता व्यवस्थापनको काम गर्छ । ब्याजदर करिडोर अन्तर्गत माथिल्लो सीमाको रुपमा बैंकदर ७ प्रतिशत तोकिएको छ । त्यसैगरी नीतिगत दरको रुपमा रिपोट रेट ५.५ प्रतिशत तोकिएको छ । वित्तीय प्रणालीमा तलरलता संकुचन भई अन्तर बैंक ब्याजदर बैंक दर भन्दा माथी गएको खण्डमा रिपो मार्फत केन्द्रीय बैंकले बजारमा तरलता प्रवाह गर्ने ब्यवस्था मौद्रिक नीतिमा छ ।

केन्द्रीय बैंकले निरन्तर निक्षेप संकलन गरेपनि अधिक तरलताको अवस्था अझै पनि व्यवस्थापन हुन सकेको देखिँदैन । बुधबार केन्द्रीय बैंकले माग गरेको ३५ अर्बको निक्षेपका लागि १८ बैंक वित्तीय संस्थाले ७८ आवेदन मार्फत ३८ अर्ब ४० करोड रुपैयाँ बराबरको माग गरेका छन् । उक्त आवेदन मार्फत बैंक वित्तीय संस्थाले अधिकतम ३.१२०० र न्यूनतम २.४९०० प्रतिशत ब्याज माग गरेका छन् । यसको औसत ब्याजदर २.८५९४ प्रतिशत पुगेको केन्द्रीय बैंकले जनाएको छ । यसभन्दा अघि पुस ६ गते निक्षेप संकलनको औसत ब्याजदर २.७६३५ प्रतिशत थियो ।

बिहीबार पनि २० अर्बको निक्षेप संकलन

केन्द्रीय बैंकले बिहीबार पनि २० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ । वित्तीय प्रणालीको अधिक तरलताका कारण अन्तर बैंक दर आशा गरेअनुसार नबढेपछि बिहीबार पनि निक्षेप संकलन गर्ने भएको हो ।

बिहीबार १४ दिन अवधिमा निक्षेप संकलन परिपक्क हुँदैछ । केन्द्रीय बैंकले मंसिर २८ गते निष्कासन गरेको २० अर्ब रुपैयाँ बरावरको निक्षेप संकलन परिपक्क हुनेछ । उक्त २० अर्बमा बैंक वित्तीय संस्थाले धेरै ब्याज माग गरेपछि केन्द्रीय बैंकले २ अर्ब २५ करोड रुपैयाँ बरावर मात्रै निक्षेप लिएको थियो । उक्त रकम पनि परिपक्क हुने भएपछि वित्तीय प्रणालीमा तरलता बढ्ने र अन्तर बैंक दर नघट्ने सम्भावना उच्च देखेपछि केन्द्रीय बैंकले बिहीबार पनि २० अर्ब बराबरको ७ दिने निक्षेप संकलन गर्ने भएको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।