लुम्बिनी प्रदेशको आर्थिक वृद्धि २.०६ प्रतिशत

0
Shares

आर्थिक वर्ष २०७९/८० मा लुम्बिनी प्रदेशको आर्थिक वृद्धि उच्चदरले घट्ने अनुमान गरिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७९/८० मा लुम्बिनी प्रदेशको आर्थिक वृद्धि २.०६ प्रतिशत रहने अनुमान रहेको छ । गत आर्थिक वर्षको आर्थिक बृद्धि ५.०३ प्रतिशत रहेको थियो ।

नेपालको राष्ट्रिय वार्षिक कुल गार्हस्थ्य उत्पादनमा लुम्बिनी प्रदेशको हिस्सा १४.२ प्रतिशत हुने अनुमान रहेको छ । गत आर्थिक वर्षमा यस प्रदेशको हिस्सा १४.१ प्रतिशत रहेको थियो ।

आर्थिक वर्ष २०७९/८० मा देशको समग्र कृषि, उद्योग र सेवा क्षेत्रमा यस प्रदेशको हिस्सा क्रमशः १७.५ प्रतिशत, १५.५ प्रतिशत र १२.६ प्रतिशत रहने अनुमान रहेको छ । यस प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा कृषि, उद्योग र सेवा क्षेत्रको योगदान क्रमशः २९.८ प्रतिशत, १४.७ प्रतिशत र ५५.५ प्रतिशत रहने अनुमान रहेको छ ।

समीक्षा वर्षमा लुम्बिनी प्रदेशमा खाद्य तथा अन्य बालीले ढाकेको कुल क्षेत्रफल गत वर्षको तुलनामा ०.८५ प्रतिशतले ह्रास भएको छ । खाद्य तथा अन्य बालीले ढाकेको कुल क्षेत्रफलमध्ये मकै, गहुँ, फापर, आलुर भटमास बालीले ढाकेको क्षेत्रफल वृद्धि भएको छ भने धान, कोदो, जौ, ऊखु, तेलहन र दलहनको क्षेत्रफल ह्रास आएको छ।

 लुम्बिनी प्रदेशमा समग्र खाद्य तथा अन्य बालीको उत्पादनमा ५.०७ प्रतिशतले वृद्धि भएको छ । खाद्य तथा अन्य बालीको कुल उत्पादनमध्ये धान, मकै, जौ, आलु, भटमास र तेलहन बालीको उत्पादन वृद्धि भएको छ भने गहुँ, कोदो, फापर, उखु, सनपाट र दलहन बालीको उत्पादन ह्रास आएको छ । तरकारी, फलपूmल र मसला बालीले ढाकेको क्षेत्रफल क्रमशः २.४७ प्रतिशत, ९.२३ प्रतिशत र ५.५३ प्रतिशतले वृद्धि भएको छ । त्यसैगरी समीक्षा वर्षमा तरकारी, फलपूmल र मसलाको उत्पादन क्रमशः ५.५६ प्रतिशत, २२.०६ प्रतिशत र ९.६१ प्रतिशतले वृद्धि भएको छ ।

समीक्षा वर्षमा पशुपन्छीजन्य उत्पादनमध्ये दुध उत्पादनमा ६.३० प्रतिशत र मासु उत्पादनमा ४.८० प्रतिशतले ह्रास आएको छ भने माछा उत्पादन १०.६३ प्रतिशतले वृद्धि भएको छ । समीक्षा वर्षमा वनजन्य उत्पादन अन्तर्गत काठ, दाउरा, औषधीजन्य वस्तु र अन्य उत्पादन क्रमशः ४९.४७ प्रतिशत, ७०.९९ प्रतिशत, १०.१९ प्रतिशत र ४.८६ प्रतिशतले वृद्धि भएको छ ।

समीक्षा वर्षमा कुल खेती गरिएको क्षेत्रफलको ४४.८८ प्रतिशत हिस्सा सिञ्चित भएको छ । सिँचित क्षेत्रफल गत वर्षको सोही अवधिको तुलनामा १.३७ प्रतिशतले वृद्धि भई २ लाख ५५ हजार ३६ हेक्टर पुगेको छ । कृषि क्षेत्रमा प्रवाहित कृषि कर्जा ७.५२ प्रतिशतले वृद्धि भई रु.५४ अर्ब १० करोड ६६ लाख पुगेको छ । जुन यस प्रदेशमा प्रवाहित कुल कर्जाको ९.७८ प्रतिशत हिस्सा हो ।

यस प्रदेशका नमूना छनौटमा समेटिएका उद्योगहरुको औसत क्षमता उपयोग ५०.८२ प्रतिशत रहेको छ । गत वर्षको सोही अवधिमा यस्ता उद्योगहरुको औसत क्षमता उपयोग ५६.३६ प्रतिशत रहेको थियो ।  कागज, रोजिन, मदिरा र चामलको उत्पादनमा क्रमशः ३२.१४ प्रतिशत, २७.१६ प्रतिशत, २५.६२ प्रतिशत, १०.०५ प्रतिशत र ४.१६ प्रतिशतल ेवृद्धि भएको छ । पूर्वाधार निर्माणमा आएको शिथिलताका कारण कंक्रीट र सिमेन्टको उत्पादनमा क्रमशः २२.५८ प्रतिशत र १.७० प्रतिशतले ह्रास भएकोछ ।

समीक्षा वर्षमा आल्मुनियम, बिजुलीको तार/केबुलको उत्पादनमा क्रमशः २९.४२ प्रतिशत र ३४.४८ प्रतिशतले ह्रास भएको छ । गहुँको पिठो र चाउचाउको उत्पादनमा क्रमशः २१.३६ प्रतिशत र ११.३५ प्रतिशतले ह्रास भएको छ । औद्योगिक क्षेत्रमा प्रवाह गरेको कर्जा गत वर्षको सोही अवधिको तुलनामा ५.९५ प्रतिशतले वृद्धि भई १ खर्ब २६ अर्ब २८ करोड ५५ लाख पुगेको छ भने यस प्रदेशमा प्रवाहित कुल कर्जामा यसको हिस्सा २२.८२ प्रतिशत रहेको छ ।

कोभिड–१९ पश्चात्सामान्य बन्दै गएको पर्यटन क्षेत्रमा लुम्बिनी प्रदेशमा आन्तरिक तथा बाह्य पर्यटकहरुको आवागमनमा सुधार भई समीक्षा वर्षमा ३१.७१ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष यस्तो वृद्धि १०.८४ प्रतिशत रहेको थियो । छनौटमा परेका होटलहरुको अकुपेन्सी दर पनि गत वर्षको सोही अवधिको तुलनामा १२.३९ प्रतिशतले वृद्धि भई ४०.२७ प्रतिशत पुगेको छ ।  घरजग्गा रजिष्ट्रेशन सङ्ख्या गत वर्षको तुलनामा १३.२५ प्रतिशतले ह्रास भएको छ तर घरजग्गा रजिष्ट्रेशनबाट प्राप्त हुने राजश्व भनेगत वर्षको तुलनामा ३७.६७ प्रतिशतले वृद्धि भएको छ ।

२०८० असार मसान्तसम्म यस प्रदेशमा क वर्गका ७४८, ख वर्गका २५७, ग वर्गका ४६ र घ वर्गका ११६२ गरी बैंक तथा वित्तीय संस्थाहरुका जम्मा २२१३ वटा शाखा सञ्चालनमा रहेका छन् । यस प्रदेशमा वाणिज्य बैंकहरुले २२२ वटा शाखा रहित बैंकिङ्ग सेवा उपलब्ध गराएका छन्।

बैंक तथा वित्तीय संस्थाहरुको यस प्रदेशको निक्षेप परिचालन २०७९ असार मसान्तको तुलनामा २०८० असार मसान्तमा १८.६६ प्रतिशतले वृद्धि भई ५ खर्ब ६ अर्ब ९६ करोड पुगेको छ भने कुल कर्जा प्रवाह २.७१ प्रतिशतले वृद्धि भई ५ खर्ब ५३ अर्ब ३४ करोड पुगेको छ ।

यस प्रदेशमा कुल सवारी साधन सङ्ख्या गत वर्षको तुलनामा ६.५० प्रतिशतले वृद्धि भएको छ । यस प्रदेशमा टेलिफोन सेवा १८.०७ प्रतिशत र इन्टरनेट सेवामा १८.८४ प्रतिशतले वृद्धि भएको छ । नमूना छनौटमा परेका बचत तथा ऋण सहकारी संस्थाहरुको कुल पुँजी ५.०६ प्रतिशत, बचत परिचालन १.४१ प्रतिशत तथा सदस्य सङ्ख्यामा १५.८५ प्रतिशतले वृद्धि भएको छ भने कुल ऋण प्रवाह १.४७ प्रतिशतले ह्रास भएको छ ।

समीक्षा वर्षमा परिवत्र्य विदेशी मुद्रा खरिद गत वर्षको तुलनामा ४५.८४ प्रतिशतले वृद्धि भएको छ भने भारतीय मुद्राको खरिदमा २७६.८६ प्रतिशत तथा बिक्री ८६.३३ प्रतिशतले वृद्धि भएको छ ।

कुल लम्बाई ४८.५३५ कि.मि. रहेको नारायणगढ बुटवल सडक आयोजना (पश्चिम खण्ड) २०८० असार मसान्तसम्मको भौतिक प्रगति ३५.७३ प्रतिशत तथा वित्तीय प्रगति २४.६२ प्रतिशत सम्पन्न भएको छ । २०७८/११/२५ मा ठेक्का सम्झौता भई निर्माण कार्य अगाडि बढेको बुटवल–पाल्पा सडक खण्डमा निर्माण हुन लागेको सिद्धबाबा सुरुङ मार्गको निर्माण कार्य २०८० असार मसान्तसम्मको भौतिक प्रगति ३.५० प्रतिशत तथा वित्तीय प्रगति २.९४ प्रतिशत रहेको छ ।

२०७७ चैत १ गते ठेक्का सम्झौता भई निर्माण कार्य सुरु गरेको कोहलपुर बसपार्क मिति २०७९ फागुन २५ मा निर्माण कार्य सम्पन्न भई सञ्चालनमा आएको छ ।
लुम्बिनी प्रदेशको मुख्य सहर बुटवलमा अत्याधुनिक पशु बधशाला बनाउने सम्बन्धमा मिति २०७७ असार १ गते २३ करोड ९६ लाख ८३ हजार ९ सय ४८ मा ठेक्का सम्झौता भई मिति २०७९ पौष २९ गते निर्माण कार्य सम्पन्न भई सञ्चालनमा आउने क्रममा रहेको छ ।

 

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।