यार्सागुम्बाको निर्यात बढ्यो, मूल्य निर्धारण बिचौलियाको हातमा

0
Shares

नेपालबाट हुने यार्सागुम्बाको निर्यात बढेको छ। गत आर्थिक वर्षको पाँच महिनाको तुलनामा चालु आवको सोही अवधिमा यार्सागुम्बाको निर्यात ५ करोड रुपैयाँ बढेको पाइएको हो ।

साउनदेखि मंसिरसम्मको अवधिमा ५५ करोड ३७ लाख १९ हजार रुपैयाँ बराबरको यार्सागुम्बा निर्यात भएको छ । गत आवको सोही अवधिमा ५० करोड १४ लाख ५५ हजार रुपैयाँ बराबरको यार्सागुम्बा निर्यात भएको थियो । चालु आव (२०८०/८१) मा १ हजार ८३ किलो यार्सागुम्बा निर्यात भएको हो । गत वर्षको सोही अवधिमा ९ सय ५३ किलो यार्सागुम्बा निर्यात भएको थियो ।

यस्तै आर्थिक वर्ष २०७८/७९ मा २० करोड ६६ लाख ८९ हजार रुपैयाँ बराबरको ३ सय ३७ किलो यार्सा निर्यात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ।
यसैगरी, आर्थिक वर्ष २०७७/७८ मा ९ करोड ३१ लाख ३५ हजार रुपैयाँ बराबरको १ सय ५९ किलो यार्सा जर्यात हुँदा आर्थिक वर्ष आर्थिक वर्ष २०७७/७८ मा १४ करोड ७५ लाख ७ हजार रुपैयाँ बराबरको २ सय ६३ किलो यार्सा निर्यात भएको छ ।

आर्थिक वर्ष २०७७/७८ मा कोरोना संक्रमणको जोखिमका कारण यार्सा संकलनमा प्रतिबन्ध लगाइएकाले यार्सा निर्यातमा भारी गिरावट आएको हो । नेपालबाट हङकङ, भियतनाम, सिंगापुर, अस्ट्रेलिया, अस्ट्रिया, चेक रिपब्लिक, ग्रिस, जापान, मलेसिया, मङ्गोलिया, रुस, बेलायत र अमेरिकालगायत १५ भन्दा बढी देशमा यार्सागुम्बा निर्यात हुने गरेको छ ।

जसमध्ये सबैभन्दा धेरै हङकङमा २४ करोड ३८ लाख २८ रुपैयाँ बराबरको ३ सय ८० केजी यार्सागुम्बा निर्यात भएको छ । यस्तै, चीनमा २५ करोड ९ लाख ८२ हजार ५ सय ४३ केजी यार्सागुम्बा निर्यात भएको छ। भियतनाममा ३ करोड ४० लाख १० हजार रुपैयाँको १२५ किलो यार्सागुम्बा निर्यात भएको छ भने कम्बोडियामा ३ करोड ८ लाख ३ हजार रुपैयाँ बराबरको ४४ किलो यार्सागुम्बा निर्यात भएको छ ।

नेपालमा पाइने ७०० भन्दा बढी औषधिजन्य जडीबुटीमध्ये सबैभन्दा मूल्यवान औषधि यार्सागुम्बा हो ।

हाल नेपालका डोल्पा, दार्चुला, जुम्ला, हुम्ला, मुगु, कालीकोट, बझाङ, बाजुरा, जाजरकोट, रुकुम, रोल्पा, बागलुङ, म्याग्दी, मुस्ताङ, मनाङ, लमजुङ, गोर्खा, धादिङ, रसुवा, सिन्धुपलाञ्चोक, दोलखा, रामेछाप, सोलुखुम्बु, संखुवासभा र ताप्लेजुङ गरी २५ जिल्लाका उच्च क्षेत्रमा यार्सागुम्बा उत्पादन हुने गरेको छ ।

बिचौलियाको चलखेल

यार्सागुम्बामा विश्वको दोस्रो धनी देश नेपाल भएतापनि यार्सा संकलन गर्नेहरुको समस्यामा सरकारको ध्यान जान नसकेको बझाङका राजु बोहोरा बताउँछन् । उनी यार्सा टिप्न ३ दिनसम्म हिडेर जाने गर्दछन् । उनीमात्र होइन उक्त क्षेत्रका १० वर्षका बालबालिकादेखि ६० वर्ष उमेर समूहका बृद्धबृद्धा समेत यार्सा संकलन गर्न हिमाल तिर जाने गरेको उनको भनाई छ ।

यार्साको मुख्य सिजन वैशाख, जेठ, असार हो । उनीहरुले उक्त ३ महिना यार्सा टिपेर वर्षभरीको खर्चको जोहो गर्ने गरेका छन् । तर यार्सा संकलकले भन्दा बढी बिचौलियाले यार्साको मूल्य निर्धारण गरिदिँदा उनीहरुलाई समस्यामा पार्ने गरेको छ । यार्सागुम्बा खरिद गर्न व्यापारी गाउँगाउँमा पुगेका हुन्छन् । व्यापारी आफैं घरघरमा पुगेर स्थानीयबाट यार्सागुम्बा खरिद गर्ने गर्छन् । यार्सा संकलक बोहोरा भन्छन्, बिचौलियाले निर्यात मूल्य घटेको भन्दै संकलकलाई त्रास देखाउँछन् । अनी हामी संकलकहरु बाध्य भएर यार्सा कम मूल्यमा बेच्न बाध्य हुन्छौ । यता बिचौलियाले भने बढी मूल्य लिइरहेका हुन्छन् ।’ सरकारले यार्साको उचीत मूल्य निर्धारण गरिदिए आफुहरुलाई राहत पुग्ने उनी बताउँछन् । उनीहरुले एक तोला यार्सा २० हजारमा बेच्ने गरेका छन् । तर बिचौलियाले एक तोला कै ४० हजारसम्म बेच्ने गरेका छन् । संकलकले भन्दा बिचौलियाले यसरी पैसा खाइदिदाँ उनीहरु मारमा परेका छन् ।

यातायातको समस्या

सरकारले यातायातको प्रबन्ध मात्र गरिदिए पनि यार्सा संकलनमा सहयोग पुग्ने उनी बताउँछन् । उनी भन्छन्,‘२ महिनासम्मको लागि ३ दिन हिडेर खाना खाजाको व्यवस्था गरेर जानु पर्छ। सरकारले यातायातको व्यपस्था मात्रै गरिदिए पनि खाना लगेरै भए पनि बसिन्थ्यो।’ चौरी र बाख्रालाई सामान बोकाएर लगेको स्मरण गर्दै उनले भने,‘ हामी ज्यान जोखिममा राखेर २ महिना बिताउँछौ ।’केहीले त यार्सा संकलनकोे क्रममा नै ज्यान गुमाउने गरेको उनी बताउँछन् ।

चोरको बिगबिगी

यार्सा पाइने ठाउँमा सुरक्षाको व्यवस्था नगरिँदा चोरको बिगबिगी बढेको संकलकहरु बताउँछन् । यार्सा संकलन गरेर गाउँ पुग्न नपाउँदै चोरी हुने गरेको उनको भनाई छ । जिल्ला विकास समिति बझाङ्गले आ.व. २०७०/७१ देखि यार्सागुम्बा संकलन गर्न पाटनमा प्रवेशको लागि जाने व्यक्ति सोही गा.वि.स. को वासिन्दा भएमा ३०० रुपैयाँ, छिमेकी गा.वि.स. को भएमा ५०० रुपैयाँ र अन्य गाविसबाट आएको भएमा १ हजार दस्तुर उठाउने गरेको छ । यसरी शुल्क तिरेर जाने स्थानिय पनि चोरीको सिकार हुँदा झनै समस्यामा पर्ने गरेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।