राष्ट्र बैंकले एक खर्ब निक्षेप लिएपछि ब्याजदर करिडोर भित्र, अन्तर बैंकदर ३ प्रतिशत माथि

0
Shares

नेपाल राष्ट्र बैंकको डेढ महिनाको निरन्तर प्रयासपछि अल्पकालिन ब्याजदर ब्याजदर करिडोर भित्र आएको छ । केन्द्रीय बैंकले वित्तीय प्रणालीमा भएको अधिक तरलतालाई निक्षेप संकलन मार्फत खिचेपछि व्याजदर करिडोर भित्र आएको हो ।

मंसिरको सुरुवात देखि २ खर्ब ८२ करोड रुपैयाँ बरावरको तरलता वित्तीय प्रणालीबाट खिचेको छ । त्यस मध्ये पनि बिहीबारसम्ममा एक खर्ब १० अर्ब रुपैयाँ केन्द्रीय बैंकमा बक्यौता रहेको छ । त्यसले गर्दा पनि अल्पकालिन ब्याजदर करिडोर भित्र कायम गर्न केन्द्रीय बैंक सफल भएको हो ।

केन्द्रीय बैंकमा एक खर्ब भन्दा धेरै बक्यौता रहँदासम्म ब्याजदर करिडोर कायम रहने संकेत देखिएको राष्ट्र बैंकका कार्यकारी निर्देशक पिताम्बर भण्डारीले बताए । “वित्तीय प्रणालीको अहिलेको अवस्था हेर्दा कर्जाको माग नबढ्दासम्म केन्द्रीय बैंकमा एक खर्ब भन्दा बढी बक्यौता रहनु पर्ने देखिन्छ,”भण्डारीले भने,“अहिले पनि एक खर्ब १० अर्ब केन्द्रीय बैंकले खिचेपछि अल्पकालिन ब्यादरलाई करिडोर भित्र ल्याइएको हो ।” निक्षेप संकलन उपकरण मार्फत वित्तीय प्रणालीको तरलता व्यवस्थापन तथा ब्याजदर स्थिर राख्न सफल भएको उनको भनाई छ ।

केन्द्रीय बैंकले तरलता व्यवस्थापन तथा ब्याजदरलाई स्थिर बनाउनका लागि बिहीबार पनि २० अर्ब निक्षेप संकलन आह्वान गरेको थियो । त्यसका लागि बैंक तथा वित्तीय संस्थाले १९ अर्ब १० करोड रुपैयाँ बरावरको निक्षेप दिन तयार भएका थिए । त्यसमा केन्द्रीय बैंकले धेरै ब्याजदर माग गरेका कारण १७ अर्ब ३० करोड रुपैयाँ बराबरको मात्र निक्षेप लिएको छ ।

वित्तीय प्रणालीको अधिक तरलता कम भएसंगै निक्षेप संकलनको ब्याजदरसंगै अन्तर बैंक दर पनि बढेको छ । बिहीबार केन्द्रीय बैंकले संकलन गरेको निक्षेपको औसत ब्याजदर ३.०९३२ प्रतिशत कायम भएको छ । त्यसैगरी बिहीबार कै अन्तर बैंकदर पनि ३.०३ प्रतिशत कायम भएको भण्डारीले जानकारी दिए ।

निक्षेप बढ्ने तथा कर्जाको माग नबढ्दा वित्तीय प्रणालीमा तरलता थुप्रियो । त्यसले अन्तर बैंक दर र निक्षेप संकलनको ब्याजदर समेत एक प्रतिशतको हाराहारीमा झरेको थियो । त्यसपछि केन्द्रीय बैंकले तरलता व्यवस्थापन तथा ब्याजदरलाई करिडोर भित्र कायम गर्नका लागि निक्षेप संकलन उपकरण प्रयोग गरेको हो।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।