आरएसडिसी लघुवित्तको नाफामा संकुचन

0
Shares

आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफामा संकुचन आएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा पुसमसान्तसम्मलघुवित्तको खुद नाफा १२।७३ प्रतिशतले घटेको हो ।  लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ६ करोड ९३ लाख ४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा लघुवित्तले ७ करोड ९४ लाख १४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

लघुवित्तको खुद ब्याज आम्दानी, फि कमिसन आय जस्ता आम्दानीका स्रोत घटेका छन् भने कोषको लागत घटेपनि सँगसँगै स्प्रेडदरमा समेत कमी आउँदा लघुवित्तको नाफा प्रभावित बनेको हो । पुससम्म लघुवित्तको स्प्रेडदर २.१४ बाट घटेर १.७८ प्रतिशतमा कायम छ । अघिल्लो पुसको तुलनामा कोषको लागत १.२६ प्रतिशत बिन्दुले घटेर ११.०८ प्रतिशतमा कायम छ । यस्तै लघुवित्तको आधार दर १३.६६ बाट घटेर ११.९० प्रतिशतमा कायम भएको छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार लघुवित्तले नाफा घटसँगै प्रतिसेयर आम्दानी भने घटेको छ । समीक्षा अवधिमा लघुवित्तको चुक्ता पुँजी ८ प्रतिशतले बढेर ८६ करोड ९५ लाख ६८ हजार रुपैयाँ पुगेको छ । तर खुद नाफा भने १ करोड १ लाख १० हजार रुपैयाँले घटेको हो । पुससम्म कम्पनीको वार्षिक इपीएस ३ रुपैयाँ ७९ पैसाले घटेर १५ रुपैया ९४ पैसा कायम भएको छ । पुसससम्म लघुवित्तको प्रति सेयर नेटवर्थ १३१ रुपैयाँ १ पैसा र मूल्य आम्दानी अनुपात ३६.०७ गुणा छ । लघुवित्तको जगेडा कोष १०.६९ प्रतिशत बढेर १२ करोड १० लाख ८७ हजार कायम हुँदा सेयरधनी कोष २.१४ प्रतिशत घटेर १४ करोड ८६ लाख ८ हजार रुपैयाँ सञ्चित भएकाे छ ।

समीक्षा अवधिमा १७.३२ प्रतिशतले खुद ब्याज आम्दानी घटेपछि इम्पेरमेन्ट चार्ज घट्दापनि सञ्चालन नाफा घट्न पुगेको छ । पुससम्म कम्पनीको सञ्चालन नाफा ९ करोड ९० लाख ६ हजार रुपैयाँ छ । यो गत आवको सोही अवधिको तुलनामा १२.७३ प्रतिशत कम हो । पुससम्म कम्पनीले इम्पेरमेन्ट चार्ज वापत ४१ लाख ७४ हजार रुपैयाँ छुट्टाएको छ । गत आवको दोस्रो त्रैमासमा यो शीर्षकमा २ करोड २८ लाख ७९ हजार थियो ।

पुस मसान्तसम्ममा लघुवित्तको वितरण योग्य मुनाफा ४ करोड ७४ लाख ७७ हजार रुपैयाँ रहेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा लघुवित्तको खुद ब्याज आम्दानी १७.३२ प्रतिशत घटेर १२ करोड २० लाख ११ हजार रुपैयाँ छ । लघुवित्तको फि–कमिशन आय पनि २ करोड ४५ लाखबाट घटेर १ करोड ७ लाखमा खुम्चिएको छ ।

थोक कर्जा प्रदायक संस्थाको समीक्षा अवधिमा सापटी १२.८९ प्रतिशत बढेर ६ अर्ब १ करोड ५० लाख रुपैयाँ पुग्दा कर्जा लगानी पनि ५.७७ प्रतिशत बढेर ६ अर्ब ६४ करोड ५७ लाख ५२ हजार रुपैयाँ कायम रहेको तथ्याङ्क छ । प्रवाहित कर्जा असुली नहुँदा निष्क्रिय कर्जा अनुपात गत पुसको तुलनामा बढेर १.८२ प्रतिशत पुगेको छ । गत आवको सोही अवधिमा ०.८१ प्रतिशत मात्र थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।