एनएमबि हाइब्रिड फण्ड एल–१ को साँवा तथा प्रतिफल भुक्तानी

0
Shares

एनएमबि हाइब्रिड फण्ड एल–१ ले साँवा तथा प्रतिफल भुक्तानी गरेको छ । एनएमबि क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित उक्त सामुहिक लगानी कोष योजनाले अवधि परिपक्व भएसँगै सम्बन्धित इकाईधनीहरूलाई साँवा तथा प्रतिफल भुक्तानी गरेको हो ।

गत कात्तिक ८ गतेदेखि परिपक्व भएको योजना खारेजीमा लगिएको थियो । उक्त योजनामा हाल कायम इकाईधनीहरूले प्राप्त गर्ने साँवा तथा प्रतिफल रकममा कर कट्टा गरी माघ ४ गतेदेखि इकाईधनीहरूको बैंक खातामा रकम जम्मा गरिएको हो ।

भौतिक रुपमा इकाई धारण गरेका इकाईधनीहरुले उल्लेखित साँवा तथा प्रतिफल रकमका साथै आव २०७५–७६ देखि वितरण गरिएको प्रतिफल प्राप्त गर्नका लागि निवेदन तथा आफ्नो आधिकारिक परिचयपत्र सहित एनएमबि क्यापिटलको कार्यालय बालुवाटारमा पेश गर्नुपर्नेछ । निवेदन पेश गर्दा आफ्नो वास्तविक तिनपुस्ते विवरण तथा आफ्नो खाता रहेको बैंकको नाम र खाता म्बरं स्पष्टसँग उल्लेख गर्नुपर्ने बताइएको छ । साथै, विगतमा इकाई धितोबन्धक राखी कर्जा सुविधा उपभोग गरेका इकाईधनीहरुले सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट इकाई फुकुवापत्र प्राप्त गरी यस कम्पनीमा पेश गरे पश्चात योजनाको फिर्ता हुने रकम भुक्तानी गरिने एनएमबि क्यापिटलले जनाएको छ ।

सात वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजना सञ्चालनका लागि नेपाल धितोपत्र बोर्डले २०७३ साल भदौ १४ गते अनुमति प्रदान गरेको थियो । योजना सञ्चालनका लागि १० करोड इकाई जारी गरिएको थियो । योजना परिपक्व हुँदासम्म कम्पनीले औसतमा ११.१४ प्रतिशत लाभांश वितरण गरेको हो । दश रुपैयाँमा इकाई जारी गरेकोमा साँवा तथा पाँच आर्थिक वर्षमा वितरण गरेको लाभांश सहित १७ रुपैयाँ ८० पैसा लाभांश वितरण गरेको हो । सात वर्ष अवधिमा कम्पनीले पछिल्ला पाँच आर्थिक वर्षमा इकाईधनीलाई लाभांश दिएको थियाे । योजनाले आर्थिक वर्ष २०७५–७६ मा १० प्रतिशत, २०७६–७७ मा ८ प्रतिशत, २०७७–७८ मा २० प्रतिशत, २०७८–७९ मा २१.०५३ प्रतिशत र २०७९–८० मा १५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

माघ २५ गतेसम्म योजनाको कुल सम्पत्ति १ अर्ब ४ करोड ३ लाख २४ हजार रूपैयाँ र कुल दायित्व ५ करोड ३६ हजार रुपैयाँ रहँदा १ अर्ब ३ करोड ९७ लाख ८८ हजार रुपैयाँ खुद सम्पत्ति रहेको जानकारी योजना व्यवस्थापकले दिएको छ । यस आधारमा दश करोड इकाईलाई भाग गर्दा प्रतिइकाई खुद सम्पत्ति मूल्य १०.३९६९ रहेको छ । योजना परिपक्व हुँदाका बखत कात्तिक ८ गतेसम्म प्रति इकाई खुद सम्पत्ति १० रूपैयाँ १७ पैसा रहेको छ । बैंक मौज्दातमा ४५ करोड २९ लाख ७६ हजार रूपैयाँभन्दा बढी र सेयर तथा ऋणपत्र ५७ करोड १८ लाख ७ हजार रूपैयाँभन्दा बढी र अन्य सम्पत्ति १ करोड २६ लाख ४० हजार रुपैयाँ रहेको थियो । सोसमयमा कुल दायित्व २ करोड ५ लाख ६७ हजार रहँदा प्रतिइकाई खुद सम्पत्ति मूल्य १०.१७ पैसा थियो ।

योजना व्यवस्थापकले सामूहिक लगानीकोष नियमावलीमा भएको व्यवस्था बमोजिम योजनाको अवधि समाप्त भएमा योजना खारेजीमा लग्नुपर्ने व्यवस्था बमोजिम खारेजी प्रक्रिया अघि बढाइएको र योजना खारेजी पश्चात् योजना अन्तर्गतको सम्पत्तिलाई नगदमा परिणत गरी इकाईधनीहरूलाई उनिहरूको स्वामित्वको आधारमा भुक्तानी गरिएको हो । योजना खारेजी सूचना प्रकाशन गरेपछि योजनाको कारोबार गर्न गराउन नहुने व्यवस्था बमोजिम असोज २५ गतेसम्म कायम भएका इकाईधनीहरू मात्र योजनाको खारेजी पश्चातको प्रतिफल प्राप्त गर्न योग्य हुनेछन ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।