पाँच वित्तीय संस्थाका सञ्चालक र प्रमूख कार्यकारी अधिकृतलाई कारबाही, गरिमालाई सचेत

0
Shares

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४ विकास बैंक र एक फाइनान्सका सञ्चालक तथा प्रमूख कार्यकारी अधिकृतलाई कारबाही गरेको छ ।

केन्द्रीय बैंकले कर्जा दिदा ऋणीको क्षमता मूल्याङकन नगरेको तथा ऋणीको क्षमता भन्दा धेरै कर्जा दिएपछि सञ्चालक तथा प्रमूख कार्यकारी अधिकृतलाई कारबाही गरेको हो ।

केन्द्रीय बैंकका अनुसार एक्सेल डेभलपमेन्ट बैंकले सञ्चालक समितिलाई सचेत गराएको छ । एक्सल डभलपमेन्ट बैंकले कर्जा तिर्नका लागि कर्जा दिएको तथा ऋणीको क्षमता मूल्याङकन नगरी कर्जा दिएको केन्द्रीय बैंकले औल्याएको छ ।

त्यसैगरी रियल स्टेट र सेयर कर्जा स्वीकृत गर्नु पूर्व ऋणी कम्पनीले उल्लेख गरेको कर्जाहरुको प्रयोजन, उद्देश्य, कर्जा उपयोग हुने क्षेत्र वा आधार, कर्जाको सावाँ व्याज चुक्ता हुने आधार लगायतका विवरणहरुको विश्लेषण नगरे केन्द्रीय बैंकले जनाएको छ । बैंकले कर्जा प्रवाह पछि कर्जाको सदुपयोगिता समेत एकिन गर्ने/गराउने कार्य नभएको पाएपछि राष्ट्र बैंक ऐन, २०५८ अनुसार सञ्चालक समितिलाई सचेत गराएको केन्द्रीय बैंकले जनाएको छ।

चालु आवको पहिलो त्रैमासमा गरिमा विकास बैंक पनि केन्द्रीय बैंकको कारबाहीमा परेको छ । गरिमा विकास बैंकले कालिका लघुवित्त वित्तीय संस्थाका पूर्व अध्यक्षले संस्थाको अध्यक्षबाट राजिनामा गरेको एक वर्ष पुरा नहुँदै निजको नाममा रहेको कर्जा नियमित गर्न सेयर धितो कर्जा दिने कार्यमा गरिमा विकास बैंक संलग्न भएको पाइएपछि केन्द्रीय बैंकले भविष्यमा यस्तो कार्य नगर्ने गरी बैंकलाई सचेत गराएको हो ।

नेपाल राष्ट्र बैंकबाट जारी निर्देशनको गम्भीर रुपमा उल्लङ्घन गरी संस्था, लगानीकर्ता, निक्षेपकर्ता तथा सर्वसाधारणको हित विपरित कार्य गरेको तथा संस्था सुधारका लागि केन्द्रीय बैंकले पटक पटक दिएका निर्देशनहरु पालना नगरेपछि कर्णाली डेभलपमेन्ट बैंकका प्रमूख कार्यकारी अधिकृतलाई कारबाही गरेको छ ।

केन्द्रीय बैंकले कर्णालि डेभलपमेन्ट बैंकका तत्कालिन प्रमूख कार्यकारी अधिकृत दिनेश कुमार रावतलाई राष्ट्र बैंक ऐन २०५८ अनुसार ५ लाख जरिवाना गरेको हो। त्यसैगरी केन्द्रीय बैंकले बैंकका तत्कालिन अध्यक्ष राजेन्द्र विर रायलाई पनि सोही कसुरमा ५ लाख रुपैयाँ नगद जरिवाना गरेको छ ।

त्यसैगरी केन्द्रीय बैंकले सिन्धु विकास बैंकका अध्यक्ष, सञ्चालक तथा प्रमूख कार्यकारी अधिकृतलाई सचेत गराएको छ । बैंकको आन्तरिक लेखापरीक्षण तथा सञ्चालन जोखिम व्यवस्थापन कार्य अत्यन्त कमजोर रहेको, सञ्चालक समिति र सो अन्तर्गत रहेको विभिन्न समिति/उप– समितिहरुको कार्यसम्पादन सन्तोषजनक नरहेको केन्द्रीय बैंकको ठहर छ । त्यसैगरी जनशक्ति व्यवस्थापन, सूचना प्रविधि, ग्राहक पहिचान पद्धती, कारोवार अनुगमन गर्ने पद्धती लगायतका कार्यहरु समेत सन्तोषजनक नरहेको तथा समग्रमा संस्थाको आन्तरिक नियन्त्रण प्रणाली निकै कमजोर भएका भन्दै केन्द्रीय बैंकले सचेत गराएको हो ।

चालु आवको पहिलो त्रैमासमा रिलायन्स फाइनान्सको सञ्चालक समिति तथा प्रमूख कार्यकारी अधिकृतलाई केन्द्रीय बैंकले सचेत गराएको छ । संस्थाले ऋणीको क्षमता विश्लेषण नगरी कर्जा दिएको तथा कर्जा तिर्नका लागि कर्जा दिएको पाएपछि सचेत गराएको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।